
मनोज अधिकारी
इलाम,३०जेठः फुलेको कपाल, झिँगेटो अनुहार । अन्तु पोखरीको अघिल्तिर बसेर जुत्ता सिएको ३६ वर्ष भइसक्यो शंकर दोसले । भारतको विहारबाट आउनुभएका उहाँ अब अन्तुलाई नै आफ्नो घर मान्नुहुन्छ—जसले उहाँलाई काम मात्रै होइन, माया र पहिचान पनि दिएको छ ।
इलामको प्रमुख पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिकाको श्रीअन्तुमा आउने पर्यटकहरू चिया बगान र सूर्योदय मात्र होइन, पोखरी छेउमा बसेर जुत्ता सिलाइरहेका शंकर दोससँगको आत्मीय भेट सम्झेर पनि फर्किन्छन् । विहार राज्यको मोतिहारी घर भएका ६५ वर्षीय शंकर विगत ३६ वर्षदेखि यहीँ जुत्ता सिलाउने, पोलिस गर्ने र मर्मतको काम गर्दै आउनुभएको छ ।



‘लौरो टेकुन्जेल यहीँ यही पेशा गर्छु ।’ शंकर भन्नुहुन्छ, ‘यहाँका मानिसहरू नै मेरो परिवारजस्तै लाग्छन् ।’ उहाँले जुत्ता सिलाएर पाँच छोरी, एक छोरा र श्रीमतीको पालनपोषण गरिरहनुभएको छ । चार सन्तानको विवाह भइसकेको छ भने एकजना अझै पढ्दै छन् । श्रीमती र छोराछोरीसँग भेट गर्न उहाँ प्रत्येक पाँच–पाँच महिनामा विहार जानुहुन्छ ।
शंकरको भनाइमा, महिनामा २०–२५ हजार रुपैयाँ कमाइ हुन्छ । यो ठुलो रकम नभए पनि अन्तुमा पाइने आत्मीयता, यहाँका मानिसको सद्भाव र व्यवहार उहाँका लागि अमूल्य छ । श्रीअन्तुको बढ्दो पर्यटकीय सम्भावना र स्थानीय सत्कारप्रति पनि उहाँलाई गर्व छ । ‘पर्यटकहरू आउँछन्, मेरो काम हेरेर खुसी हुन्छन्, केही त टिप्स पनि दिन्छन् ।’ उहाँले भन्नुभयो ।
शंकरजस्ता पात्रहरूले अन्तुको पर्यटकीय छविमा थप आत्मीयता थपेको अनुभूति गर्न सकिन्छ । सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जन आफुले जानेदेखि नै शंकर दाई यहिँ रहेको बताउनुहुन्छ । ‘मलाई थाहा हुँदा देखि यसैगरि जुत्ता सिउनुहुन्थ्यो । अब बुढो भैसक्नुभयो । इमान्दारिता पूर्वक काम गर्नुहुन्छ । आफ्नै परिवारको जस्तै माया लाग्छ ।’ बम्जनले भन्नुभयो ।