संयमताले जोगियो सूर्योदय नगरपालिका

द्वारा प्रकाशित गरिएको हो |
२०८२ भाद्र २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलामः २३ गतेको रक्तरञ्जित घटनाले देशभरि त्रास र आक्रोश फैलायो । त्यसको भोलिपल्ट, २४ गते बिहानैदेखि गाउँ–सहर जताततै युवाहरू सडकमा ओर्लिए । सदरमुकाम मात्र होइन, जिल्लाका हरेक प्रमुख शहरमा जनसागर उर्लियो । इलामको फिक्कल बजार पनि त्यस दिन जनआन्दोलनको केन्द्र बनेको थियो ।

फिक्कलको चोकभरि युवा मात्रै होइन, बालबालिका, वृद्ध, महिलासम्म उभिएका थिए । अघिल्लो दिन भएको नरसंहारको विरुद्धमा “अब चुप लागेर बस्दैनौं” भन्ने दृढताका साथ उनीहरूले स्वर बुलन्द गरे । आन्दोलनलाई स्थानीय नेताहरूले पनि समर्थन जनाए—एमाले, कांग्रेस, माओवादी, रास्वपा, नेकपा एकीकृत समाजवादीका कतिपय नेता तथा कार्यकर्तासमेत सडकमा ओर्लिए । नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल लगायतका जनप्रतिनिधिहरू आक्रोशित भीडसँगै सडकमा उभिएका देखिन्थे ।

देशभरि आन्दोलन चर्कँदै थियो । नेताका घर, पार्टी कार्यालय, सरकारी भवन, निजी सम्पत्तिमाथि तोडफोड र आगजनी सुरु भइसकेको थियो । सदरमुकामस्थित दलका कार्यालयहरू जल्न थाले, सरकारी भवनहरू जलेर खरानी बन्दै गएका प्रत्यक्ष दृश्य सामाजिक सञ्जालमा लाइभ देखिन्थे । त्यहीबीच, इलाम नगरपालिकाको भवनमा लागेको आगो देख्दा सूर्योदय नगरपालिका भित्र रहेका मानिसहरूको मुटु द्रुतगतिमा धड्किन थाल्यो ।

पालिका अगाडिको सडकमा युवाहरू नाराबाजी गर्दै उभिएका थिए—“केपी ओली मुर्दाबाद!”, “युवा मार्न पाइँदैन!”, “हाम्रो साथी फर्काऊ!” जस्ता चिच्याहटले आकाश गुन्जाइरहेको थियो । त्यतिबेलासम्म प्रधानमन्त्रीले राजीनामा दिइसकेका खबर आएको थियो र सुरक्षा बल आत्मसमर्पण गर्न थालेका थिए । नगर प्रमुख र उपप्रमुख पनि आन्दोलनकारीसँगै सडकमा बसिरहेका थिए, उनीहरू टुलुटुलु पालिकातिर हेर्दै असहाय मुद्रामा देखिन्थे ।

युवाको आक्रोश देशभरि फैलिँदै थियो । नेताहरू कुटिन थाले, भागदौड मच्चियो, कतिपय पालिकामा भवनसमेत जले । समाचार आयो—कुनै वडाको कार्यालय खरानी भयो, कतै पालिकाको कोठाभित्र लुटपाट भयो । यसले सबैलाई झस्काइरहेको थियो ।

सूर्योदय नगरपालिकाभित्र पनि केही युवा प्रवेश गरे । “अब यहाँ पनि जलाईएला कि?” भन्ने चिन्ता सबैतिर फैलियो । तर, त्यो क्षण युवाहरूले संयमता देखाए । उनीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर मात्र भित्रबाट झिके, चोकमा ल्याएर जलाए । पालिकाबाट संकलित फोहोरमैला सडकमा थुपारेर आगो बाल्दा आक्रोशलाई अभिव्यक्त गरे । तर पालिकाको संरचना सुरक्षित रह्यो, सरकारी कागजात र सम्पत्तिहरू जोगिए ।

अन्ततः सूर्योदय नगरपालिका जोगिनुमा नगर प्रमुख र उपप्रमुखकै भूमिकाले महत्त्वपूर्ण स्थान राख्यो । उनीहरूले आन्दोलनमा सहभागिता जनाएर आक्रोशित युवासँगै उभिनु नै निर्णायक सावित भयो । नत्र, देशका अन्य थुप्रै पालिकाजस्तै सूर्योदय पनि खरानीमा परिणत भइसकेको हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय