इलामः शुक्रबार(आज) सामाजिक सञ्जाल फेसबुकमा सहिद दिवसका अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली लेख्दै विशाल कार्कीले आफ्नो अन्तिम शब्दहरू छाडे । त्यसको दुई घण्टा नबित्दै, इलाम स्तब्ध बनाउने खबर आयोः मरब इलामका विद्यार्थी नेता विशाल कार्की अब रहेनन् । हृदयघातका कारण उनको असामयिक निधन भयो ।
महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा हालै निर्वाचित भएका विशाल विद्यार्थी माझ केवल नेता मात्र थिएनन्, उनी भरोसा थिए । चर्को नाराभन्दा शालिन बोली, आक्रोशभन्दा समाधान खोज्ने स्वभाव र अहंकारभन्दा विनम्रता उनको पहिचान थियो ।



२०५४ फागुन २३ गते मनबहादुर कार्की र लोककुमारी कार्कीको कोखबाट जन्मिएका विशालले कलिलै उमेरमा जिम्मेवारी बोक्न थाले । नेपालटार माध्यमिक विद्यालयबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै सुरु भएको उनको राजनीतिक यात्रा मरब क्याम्पससम्म आइपुग्दा नेतृत्वमा परिणत भएको थियो । क्याम्पस प्रारम्भिक कमिटी, सचिव हुँदै अध्यक्षसम्म पुग्दा उनले विद्यार्थी आन्दोलनलाई नजिकबाट बुझे ।
यसअघि २०७९ को स्ववियु निर्वाचनमा कोषाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका विशाल यसपटक अध्यक्ष पदमा भारी मतसहित निर्वाचित भए । ५४५ मतसहित उनले विपक्षीलाई पछि पार्दा त्यो जित केवल प्यानलको मात्र होइन, व्यक्तित्वको जित थियो । उनका सहपाठी खेमराज ढकाल भन्छन्, “उनी आफ्नै प्यानलका मात्र होइनन्, विपक्षी विद्यार्थीहरूको समेत विश्वास जित्न सफल नेता थिए ।”
विशाल सधैं भन्थे—स्ववियु भनेको कुर्सी होइन, जिम्मेवारी हो । विद्यार्थीको समस्या सुन्ने, समाधान खोज्ने र राजनीतिक चेतना विस्तार गर्ने उनको सपना अधुरै रह्यो । “विद्यार्थीहरूले समाज बुझ्नुपर्छ, राजनीति बुझ्नुपर्छ,” उनी भन्थे, “त्यही बुझाइ फैलाउने काम स्ववियुको हो ।” समाज बदल्ने शक्ति विद्यार्थीमै छ भन्ने विश्वास विशालको मूल विचार थियो ।
तर नियतिले त्यो यात्रा लामो बनाउन दिएन । सहिदहरूको सम्झनामा लेखिएको श्रद्धाञ्जली स्वयं विशालको जीवनको अन्तिम सार्वजनिक शब्द बन्यो ।
आज मरब क्याम्पस शोकमा छ । विद्यार्थी आन्दोलनले एउटा शालिन, कर्मठ र सम्भावनाले भरिएको युवा नेता गुमाएको छ । विशाल कार्की अब स्मृतिमा मात्र बाँकी छन्ः विनम्रता, जिम्मेवारी र अधुरो सपनाको प्रतीक बनेर ।

