इलामः पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब १८ करोड ४३ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको केन्द्र फिक्कलमा बिहीबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निस्कल राईले बजेटसँगै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाका अनुसार कुल बजेटमध्ये ७५ करोड २ लाख ४९ हजार रुपैयाँ चालुतर्फ र ४३ करोड ४० लाख ९७ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। नगरपालिकाले दिगो विकास लक्ष्यका १६ वटा सूचकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण गरेको जनाएको छ।
बजेटमा सबैभन्दा ठूलो हिस्सा गुणस्तरीय शिक्षाका लागि छुट्याइएको छ। शिक्षातर्फ कुल बजेटको ३०।७६ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी दिगो सहर तथा समुदायका लागि १८।९३ प्रतिशत, शान्ति, न्याय तथा सशक्त समाज निर्माणका लागि १४।४० प्रतिशत, उद्योग, नवीन खोज तथा पूर्वाधारका लागि ११।०३ प्रतिशत, समावेशी आर्थिक वृद्धि तथा मर्यादित कामका लागि १०।९९ प्रतिशत र स्वस्थ जीवनका लागि ६।८४ प्रतिशत बजेट छुट्याइएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी १ हजार ३ सय ७ वटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले उपलब्ध स्रोतसाधनलाई ध्यानमा राख्दै नागरिकका प्राथमिक आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए।
उनका अनुसार सबै आवश्यकता एकैपटक सम्बोधन गर्न स्रोत पर्याप्त नहुने भएकाले प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम छनोट गरिएको हो। बजेटलाई सबै वर्ग र समुदायको आवश्यकता समेट्ने गरी समावेशी बनाउने प्रयास गरिएको उनको भनाइ छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईले नगरपालिकाले शिक्षामा गरेको लगानीलाई उत्पादन र व्यवहारसँग जोड्नुपर्नेमा जोड दिए। बालबालिकाले शिक्षा हासिल गरेपछि प्रमाणपत्र बोकेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने खालको व्यावहारिक र उपलब्धिमूलक शिक्षा आवश्यक रहेको उनले बताए।
सूर्योदय नगरपालिकासँग विकासका लागि आवश्यक सम्भावना र स्रोत पर्याप्त रहेको उल्लेख गर्दै राईले उपलब्ध स्रोतको प्रभावकारी सदुपयोग गर्न सके नगरले थप उपलब्धि हासिल गर्न सक्ने बताए। अमूर्त सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन तथा बालमैत्री नगरका रूपमा कायम गरेको पहिचानलाई अझ मजबुत बनाउन नगरले प्रभावकारी ढंगले कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, देशकै लोपोन्मुख लेप्चा समुदायको महत्वपूर्ण बसोबास क्षेत्रका रूपमा रहेको सूर्योदय नगरपालिकाले भाषा, संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ। लेप्चा भाषा–संस्कृति संरक्षणमा योगदान पुर्याएका ज्येष्ठ नागरिक प्रेम लाप्चासहित विभिन्न १९ विधा तथा क्षेत्रमा योगदान गर्ने २७ जनालाई कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

