इलामः साना तथा मझौला उद्योगको क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्दै बजार पहुँच विस्तार, निजी क्षेत्रसँगको साझेदारी प्रवद्र्धन तथा समावेशी उद्यम विकासलाई सहयोग गर्ने उद्देश्यले कोशी प्रदेशमा एसएमई जीजी लुप कार्यक्रम सुरु गरिएको छ ।
कार्यक्रममार्फत महिला, युवा तथा सीमान्तकृत समूहलाई उद्यम विकासमा सहयोग गर्दै प्रभावकारी तथा उद्यमशील व्यावसायिक अभ्यास अपनाउन प्रोत्साहन गरिने जनाइएको छ । साथै, भविष्यमा उद्यमशील तथा हरित विकासका पहललाई मार्गदर्शन गर्ने सिकाइ र उत्कृष्ट अभ्यास निर्माण गरी कार्यक्रम विस्तार गर्न संस्थागत सिकाइ तथा सरकारी निकायसँगको साझेदारीलाई उपयोग गरिनेछ ।
जर्मन सरकार र युरोपियन युनियनको आर्थिक सहयोग तथा जीआईजेड र जीएफएको प्राविधिक सहजीकरणमा दायित्व संस्थाको कार्यान्वयनमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका ३५ जना साना तथा मझौला उद्यमी सहभागी छन् । कार्यक्रमको पहिलो चरणअन्तर्गत व्यवसाय विश्लेषण तथा जोखिम नक्साङ्कनसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ ।
तालिमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री साइल मनसुरीले गर्नुभयो । उद्घाटन सत्रमा मन्त्री मनसुरीले कार्यक्रमले साना तथा मझौला उद्यमीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।
दायित्वका बिजनेस कोच भविन विकका अनुसार एसएमई जीजी लुप कार्यक्रम नौ महिनासम्म तीन चरणमा सञ्चालन हुनेछ । विश्वका विभिन्न मुलुकमा प्रयोग भई सफल भएको यो मोडेल एसियामै पहिलोपटक नेपालमा सञ्चालन हुन लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमले उद्यमीलाई आफ्नो व्यवसायको अवस्था विश्लेषण गर्न, सम्भावित जोखिम पहिचान तथा व्यवस्थापन गर्न, प्रतिस्पर्धात्मक क्षमता बढाउन र बजारसँग जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

