डम्बर कुमार निरौला, इलामः माईजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ मा ७८.४७ प्रतिशत बजेट खर्च गरेको छ।
जिल्ला समन्वय समिति इलामले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा माईजोगमाईका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यले पालिकाले सञ्चालन गरेका विकास योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।
उक्त प्रतिवेदनमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आय, बेरुजु, क्षेत्रगत कार्यक्रम तथा पालिकाबाट सञ्चालन गरिएका योजनाको विवरण समेटिएको थियो ।
आन्तरिक आयमा करिब ९७ प्रतिशत प्रगति
प्रतिवेदनअनुसार संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडतर्फ ९ करोड २७ लाख १५ हजार ९९१ रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा ८ करोड ९९ लाख ९७ हजार ४१ रुपैयाँ ७५ पैसा प्राप्त भएको छ। यसमा ९७।०७ प्रतिशत प्रगति भएको छ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडमा ६१ लाख ५८ हजार रुपैयाँ लक्ष्य रहेकोमा ५६ लाख २५ हजार ७७७ रुपैयाँ ५३ पैसा प्राप्त भई ९१।३६ प्रतिशत प्रगति भएको छ। घरजग्गा रजिष्ट्रेशन शुल्कतर्फ ८२।८३ प्रतिशत तथा स्थानीय तह आफैंले संकलन गरेको राजस्वतर्फ ९७।०८ प्रतिशत प्रगति भएको प्रतिवेदनमा उल्लेख छ।
योजनाको वर्गीकरणतर्फ ५० लाख रुपैयाँभन्दा माथिका ९ वटा, २५ लाखदेखि ५० लाखसम्मका ५ वटा, ५ लाखदेखि २५ लाखसम्मका १९ वटा तथा ५ लाख रुपैयाँसम्मका १९८ वटा योजना रहेको उल्लेख छ।
शिक्षा क्षेत्रमा ९५.५ प्रतिशत प्रगति
शिक्षा क्षेत्रमा नेपाल सरकारको सशर्त अनुदानअन्तर्गत ४७ वटा कार्यक्रम सञ्चालन गरिएको थियो। यसका लागि १६ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड ८० लाख ६१ हजार ३१४ रुपैयाँ खर्च भई ९५.५ प्रतिशत प्रगति भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै गाउँपालिकाबाट विनियोजित १८ वटा शिक्षा कार्यक्रमका लागि ४० लाख रुपैयाँ बजेटमध्ये ३७ लाख ४१ हजार ३८८ रुपैयाँ खर्च भएको छ।
स्वास्थ्य क्षेत्रमा ८०.५७ प्रतिशत प्रगति
स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको सशर्त अनुदानतर्फ २२ वटा कार्यक्रम सञ्चालनका लागि ३ करोड ९२ लाख १० हजार रुपैयाँ विनियोजन गरिएकोमा ३ करोड १५ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ। यसतर्फ ८०।५७ प्रतिशत प्रगति भएको छ।
पालिकाबाट विनियोजित १५ वटा स्वास्थ्य कार्यक्रमका लागि ४५ लाख रुपैयाँ बजेटमध्ये ४१ लाख ७८ हजार रुपैयाँ खर्च भई ९२।८ प्रतिशत प्रगति हासिल भएको प्रतिवेदनमा उल्लेख छ।
लक्षित वर्गका कार्यक्रममा उच्च प्रगति
गाउँपालिकाले महिला, बालबालिका, आदिवासी जनजाति, दलित, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलक्षित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। प्रतिवेदनअनुसार महिला लक्षित कार्यक्रमतर्फ ९९।६७ प्रतिशत, बालबालिकातर्फ ९२।३१ प्रतिशत, आदिवासी जनजातितर्फ १०० प्रतिशत, दलित समुदायका लागि ९९।९५ प्रतिशत, ज्येष्ठ नागरिकतर्फ ९९।७८ प्रतिशत र अपाङ्गता लक्षित कार्यक्रममा १०० प्रतिशत वित्तीय प्रगति भएको छ।
डिजिटल प्रविधिमार्फत सेवा प्रवाहमा जोड
गाउँपालिकाले वडा कार्यालयहरूलाई सिसिटिभीको निगरानीमा राख्नुका साथै विद्यालयहरूमा ई–हाजिरी प्रणाली जडान गरेको जनाएको छ। कार्यालयमा सूत्र, राजस्व मोडुल, सिफारिस, ई–हाजिरी, दर्ता–चलानी, योजना, एब्ःक्, कर संकलन, संघ–संस्था दर्ता तथा जिन्सी व्यवस्थापनलगायत १० भन्दा बढी सरकारी तथा गैरसरकारी सफ्टवेयर सञ्चालनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ। यसबाट कार्यालयको कार्यसम्पादन छिटोछरितो भई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न सहयोग पुगेको गाउँपालिकाको भनाइ छ।
ज्येष्ठ नागरिकदेखि अपाङ्गता भएका व्यक्तिसम्म लक्षित सेवा
पालिकाले वडा–वडामा पुगेर ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा अपाङ्गता भएका व्यक्तिहरूको स्थलगत अनुगमन गरी घरमै पुगेर नयाँ परिचयपत्र वितरण गरेको जनाएको छ।
यसैगरी जनता बीमा कार्यक्रमलाई निरन्तरता, कृषि प्रदर्शनी, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, उत्कृष्ट न्एब् ल्याउने विद्यार्थी तथा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मानलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
कृषि र युवा उद्यमशीलतामा जोड
कृषि क्षेत्रतर्फ नेपाल सरकारको सशर्त अनुदानका ३ वटा कार्यक्रम र पालिकाबाट विनियोजित १६ वटा कार्यक्रम सञ्चालन गरिएको छ। पालिकाबाट विनियोजित कृषि कार्यक्रमतर्फ ३८ लाख ५० हजार रुपैयाँ बजेटमध्ये ३५ लाख ५० हजार रुपैयाँ खर्च भई ९२।२१ प्रतिशत प्रगति भएको छ।
पालिकाले कृषि प्रदर्शनीमार्फत किसानलाई कृषि पेशातर्फ आकर्षित गर्ने तथा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरी कृषकलाई व्यावसायिक बनाउने पहल गरेको जनाएको छ। त्यस्तै ८८‘उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रम’८८मार्फत युवालाई व्यवसायिक गतिविधिमा जोड्ने प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ।
बेरुजु १३ करोड ३८ लाख रुपैयाँभन्दा बढी कायम
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र०८२ सम्म गाउँपालिकाको कुल बेरुजु १३ करोड ९२ लाख २९ हजार २९२ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२र०८३ मा ५४ लाख ११ हजार ४९७ रुपैयाँ बेरुजु फर्छ्यौट गरिएको छ। त्यसपछि आर्थिक वर्ष २०८२र०८३ सम्म कायम कुल बेरुजु १३ करोड ३८ लाख १७ हजार ७९५ रुपैयाँ रहेको उल्लेख छ।
यस आर्थिक वर्षमा थप १ करोड १३ लाख ११ हजार १६१ रुपैयाँ बेरुजु देखिएको र आर्थिक वर्ष २०८३र०८४ मा फर्छ्यौट गर्नुपर्ने कुल बेरुजु १४ करोड ५१ लाख २८ हजार ९५६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
पालिकाका मुख्य समस्या र चुनौती
प्रतिवेदनमा माईजोगमाई गाउँपालिकाले भौगोलिक कठिनाइ, दरबन्दीअनुसार कर्मचारीको अभाव, न्यून आन्तरिक आय तथा ठेक्का प्रक्रियामा न्यून बिडका कारण आयोजनाको गुणस्तर कायम गर्न कठिनाइलाई समस्याका रूपमा उल्लेख गरेको छ।
त्यस्तै निर्माण व्यवसायीले आयोजना समयमा सम्पन्न नगर्नु, आयोजनाको गुणस्तर मापन हुन नसक्नु, अपेक्षित आन्तरिक आय संकलन गर्न नसक्नु, रिक्त दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसक्नु तथा टुक्रे र साना आयोजनाको संख्या न्यूनीकरण गर्न नसक्नु प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।
गाउँपालिकाले संघीय सरकारसँग समपूरक अनुदानअन्तर्गत आयोजना सम्पन्न नभएसम्म बजेट सुनिश्चितता, बहुवर्षीय आयोजनाका लागि समयमा बजेट सुनिश्चितता तथा अनिवार्य अवकाश भएका स्थायी कर्मचारीको सेवा सुविधाका लागि आवश्यक रकमको व्यवस्था गर्न अपेक्षा गरेको छ।
यसैगरी जिल्ला समन्वय समितिबाट निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याउन सहजीकरण, विकास निर्माणका काममा समन्वय तथा अनुगमन, मूल्याङ्कन र आवश्यक राय–सुझावको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

