काठमाडौं । नेपाल समाजवादी कांग्रेसले नयाँ संविधान जारी गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले वर्तमान शासन सत्ताको अन्त्य गर्दै नयाँ संविधान जारी गर्ने कार्यमा साथ दिन सबैलाई आग्रह गरेको छ ।
वर्तमान शासन सत्ताको अन्त्यका लागि सशक्त नागरिक आन्दोलन हुनुपर्ने र त्यसैले नयाँ संविधान जारी गर्ने पनि बैठकले जनाएको छ । नयाँ संविधानको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष गोबिन्द निरौलालाई जिम्मेवारी दिइएको छ ।
एक महिनाभित्रमा संविधानको मस्यौदा तयार हुने र पार्टीमा छलफल गरिने पनि सचिव मानबहादुर गुरुङले जनाए ।
गुरुङले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको र त्यसको कार्यान्वयनका लागि अघि बढ्ने जानकारी दिए । बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमी रहेकाले फिर्ता गर्न पहल गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले त्यस्तो पहल गर्न नसके वर्तमान शासनसत्ताको अन्त्य हुने र पार्टीले नै भारतसँग वार्ताको पहल गर्ने स्पष्ट पारेको छ ।
रुकुम घटना निन्दनीय भएको भन्दै पार्टीले सरकारी पक्षबाट पीडितलाई कारवाही गर्न माग गरेको छ । पार्टीले अघि सार्दै आएको विश्व संवैधानिकता, संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशासन, समाजवादी अर्थनीति, राजसंस्थाबारे व्याख्या गर्नु आवश्यक रहेकाले व्याख्या गर्ने र सर्वसाधारणबीच लैजाने जिम्मा पनि अध्यक्ष निरौलालाई नै दिइएको छ । कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले विरामी र संक्रमितको स्वास्थ्य उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
बैठकले संघीयता र धर्म निरपेक्षताको खारेजीको माग पनि गरेको छ । जातीय, क्षेत्रीय र लिंगीय विभेदको अन्त्य हुनुपर्ने पार्टीको भनाई छ । मधेश मुद्धाको दीर्घकालीन समस्या समाधान गर्न २०३३ पछि वितरण गरिएका नागरिकता खारेजी गर्नुपर्ने आवाज उठाएको छ ।
पार्टीले वर्तमान सरकारले जनताका पक्षमा काम नगरेको निश्कर्ष निकालेको छ । सरकार जनताको पक्षमा नरहेको र असहज अवस्था देखाउँदै अनियमितता गर्दै भ्रष्टाचारमा लागेको समेत आरोप लगाएको छ । पार्टीले लकडाउनको विकल्प खोज्न पनि सरकारसँग आग्रह गरेको छ ।