फिक्कल । विश्वभरका इलामेलीहरुको भेला आगामी २०७७ असोज ३ गते शनिबार १९ सेप्टेम्बर २०२०का दिन साझ ५,३० बजे हुने भएको छ।
जिल्ला समन्वय समिति इलामको संयोजनमा सो विश्व इलामेली भेला को आयोजनाको ब्यापक तयारी भइरहेको छ । सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिनु भएको छ ।
भेलाको लागि मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भएको छ ।
भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ । यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के वी गुरुङ , सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सासदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश न १ का अध्यक्ष कृष्ण शाहले बताउनु भएको छ ।
भेलाको लागि गठन गरिएको समितिमा संयोजक गणेश बराल प्रमुख, इलाम समन्वय समिति, इलाम र सदस्यहरुमा राधेश्याम लेकाली अध्यक्ष, इलाम विकास समाज, काठमाडौं, कृष्ण शाह अध्यक्ष, इलामेली समाज प्रदेश न १ इटहरी रहनु भएको छ । यसैगरी मोहनकुमार सुवेदी उपाध्यक्ष, इलामेली समाज प्रदेश न, प्रदीप घिमिरे महासचिव, इलाम विकास समाज, काठमाडौं, ईश्वर श्रेष्ठ कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं, अर्जुन श्रेष्ठ सचिव, इलामेली समाज प्रदेश न १, सरस्वती कर्माचार्य सदस्य, इलाम विकास समाज, काठमाडौं, यशोदा कायस्थ अध्यक्ष, इलामेली समाज, सुनसरी, तिलत्तोमा खत्री अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर र सदस्य सचिवमा अर्जुन भट्टराई सचिव, इलाम विकास समाज, काठमाडौं रहनु भएको छ ।