आत्महत्या गर्नेको संख्यामा ह्वात्तै वृद्धि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

परिवार पाल्न नसकेपछि सुन्दरहरैंचा नगरपालिका–१० का अशोक दर्जीले भदौ २६ गते कहिल्यै नफर्किने बाटो रोजे । मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका अशोकले कोरोना महामारीका कारण दैनिक काम चल्न नसक्दा परिवारको जीविकोपार्जन गर्न सकेनन् । सुकुम्बासी बस्तीमा बस्दै आएका उनले परिवार पाल्न नसक्ने देखेपछि संसार त्यागेको आफन्त बताउँछन् । यही साता इटहरी–५ की साहित्यकार गीता भट्टराईले पनि कहिल्यै नफर्किने बाटो रोजिन् । मानसिक समस्याको औषधि सेवन गर्दै आएकी भट्टराईको आत्महत्याले इटहरी नभई साहित्यकारमाझ तरङ्ग पैदा भयो । गत असारमा इटहरी–५ का जीवन खनालले पनि धरानको एक होटलमा झुण्डिएर आत्महत्या गरे । जग्गा कारोबारी खनालले व्यापार घाटा भएका कारण आत्महत्या गरेको हुनसक्ने परिवारको भनाइ छ । प्रहरी अनुसन्धानमा आफन्त तथा साथीभाइहरूको पैसा तिर्न नसकेर आत्महत्याको बाटो रोजेको पुष्टि भयो ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अघिल्लो वर्षको तुलना गतवर्ष आत्महत्याको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५र०७६ भन्दा गत आर्थिक वर्ष २०७६र०७७ मा ६।२३ प्रतिशतले आत्महत्याको दर बढेको छ । सबैभन्दा बढी लकडाउनको समयमा घरमै बस्दा मानसिक तनाव बढेको कारण आत्महत्या बढेको प्रदेश एक प्रहरी प्रवक्ता सुमन तिम्सिनाले बताए । पारिवारिक कलह,आर्थिक अवस्थाका कारण पनि आत्महत्याको घटना बढेको प्रदेश प्रहरी कार्यालय दाबी गर्छ ।

गत आर्थिक वर्षमा प्रदेश १ मा मात्र १ हजार ३ सय १६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाउँछ । तीमध्ये पनि सबैभन्दा बढी सुनसरीमा आत्महत्याको घटना बढेको प्रहरीले बताएको छ । सुनसरी, मोरङ र झापामा आत्महत्याको ग्राफ बढ्दो रहेको प्रहरी कार्यालयहरूको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्षमा प्रदेश १ मा १ हजार २ सय ३४ जनाले आत्महत्या गरेर ज्यान गुमाएका थिए ।

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्याङ्कलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि आठ हजार ६ सय ४० जनाले आत्महत्या गर्ने गरेका छन् । सामान्य अर्थमा आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृतिजन्य रोग हो ।

सामाजिक सचेतनाले अपराधमा भने कमी
पछिल्लो केही वर्षयता सामाजिक जनचेतनाको कारण अन्य आपराधिक घटना केही न्यूनीकरण भएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रदेश १ मा मात्र अन्य आपराधिक घटनामा भने ८।३१ प्रतिशतले अपराध घट्दै गएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन तिम्सिना बताउँछन् । लागूऔषध, मानव बेचबिखन, दुर्घटना जस्ता घटनाहरू पछिल्लो समयमा घट्दै गएको भए पनि हात्महत्या भने बढेको प्रहरी अधिकारीहरू बताउँछन् । आत्महत्या न्यूनीकरण गर्ने प्रहरीहरूले मात्र नसक्ने भन्दै समुदाय स्तरमा नै अभियान चलाउनु पर्नेमा सामाजिक अभियन्ताहरूले बताउँदै आएका छन् । तर, अभियान भने चलाएका छैनन् ।

आपराधिक घटनामा कमी
प्रदेश १ मा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा आपराधिक घटनामा कमी आएको प्रहरीले तथ्याङ्क सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७ हजार ५ सय ९ वटा आपराधिक घटना भए पनि गत आर्थिक वर्षमा भने ६ हजार ८ सय ८५ वटा आपराधिक घटना भएको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।खबरअपबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय