पर्यटकीय नगरी सूर्योदय, अकबरे खेती र मदन राई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका पर्यटनका लागि अब्बल छ । यहाँ चिया पर्यटन सङ्गै अन्य कृषि पर्यटनको पनि उत्तिकै सम्भावना रहेको छ । पछिल्लो समय कृषिमा पनि अकबरे पर्यटन फस्टाउन थालेको पाईन्छ । यसको ज्वलन्त उदाहरण मिहेनती किसान मदन राई बन्नुभएको छ ।

सूर्योदय नगरपालिका वाड नम्बर १२ आठघरेका अकबरे खुर्सानी किसान मदन राईले व्यवसायिक रुपमा अकवरे खेती गरेर नमुना मात्र बन्नुभएको छैन टाढाका पर्यटकलाई आकषिर्त पनि गर्नुभएको छ। यति बेला उहाँको खुर्सानी खेतिमा दैनिक दर्जनौ पर्यटकहरुले अवलोकन भ्रमण गर्छन । आठघरे नमुना कृषि फार्म नामक कृषि फारामको नामबाट उहाँले अकबरे खेती गरिरहनुभएको छ । जुन यतिबेला सूर्योदय कै आकर्षक कृषि व्यवसाय बनेको छ ।

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश न १ अन्तर्गत प्रोटेक्टेड हर्टिकल्चर प्रवर्द्धन तथा प्राबिधिक बिस्तार कार्यक्रमको सहयोगमा उहाँले करीब ८ लाखको लागतमा टनेल अकबरे खुर्सानी खेती गर्नुभएको हो । वि.सं २०५८ देखि व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै आउनुभएका राई यस पटक करीव ८ रोपनी जग्गामा खुर्सानी खेती गरेको बताउनुहुन्छ ।

खुर्सानीमा नेपाल आत्मनिर्भर हुन सकेको छैन । अझै पनि नेपालमा प्रती वर्ष २ अर्ब भन्दा बढी रुपैयाँको खुर्सानी बिदेशबाट आयात हुँदै आइरहेको छ । मदन राई जस्ता खुर्सानी किसानहरुबाट राष्ट्रलाई खुर्सानीमा आत्मनिर्भर बन्नमा ठूलो सहयोग पुग्ने देखिन्छ ।

राईले ३५०० बिरुवाबाट खेती गरेर आज ३५ हजार बिरुवासम्मको व्यवसाय बिस्तार गर्नुभएको हो । उहाँले उत्पादन गरेको अकबरे खुर्सानी बेलायत र अमेरिका सम्म बिक्री हुन्छ । उहाँले भन्नुभयो,“यो वर्ष कोरोनाको महामारी नभएको भए खुर्सानीले अमेरिकी बजार पाउने निश्चित थियो । तर कोरोनाको कारण उक्त बजार समात्न पाईएन ।” उहाँले खुर्सानी दाना लगायत बिरुवा पनि बिक्री गर्दै आउनुभएको छ । संस्थागत रुपमा आएमा ३ रुपैयाँ प्रती विरुवा उपलब्ध गराउने उहाँको भनाई छ । माघ अन्तिमदेखि बिरुवा उपलब्ध हुने गर्छ ।

उहाँ नगरसङ्ग अन्तरास्ट्रिय बजार खोजिदिन माग गर्नुहुन्छ । साथै किसानहरुलाई सहज कृषि ऋण उपलब्ध गरिदिनुपर्ने उहाँको भनाई छ ।
यो वर्ष मात्र उहाँको फर्ममा दोलखा र सङ्खुवासभाबाट ठूलो सङ्ख्यामा अकबरेको बीउ माग भएको थियो । खादबारी नगरपालिकाले २५ लाखको अकबरे खुर्सानी खेती कार्यक्रम संचालन गर्ने भएपछी त्यहाकी उपमेयरले राईको फर्म सङ्ग बीउ बिरुवा सम्झौता गरेको  बताउनुभयो ।

राईको अकबरे बारीमा हिजोआज विभिन्न कृषि फर्मका संचालकदेखि किसान र पत्रकारहरुको घुइचो लाग्ने गरेको छ । राईको अकबरे खेती अहिले अकबरे पर्यटनमा रुपान्तरण भएको छ । ४ जनाको सानो परिवार भएको मदनको इच्छाशक्ति ठूलो छ । मिहेनत गरे नेपालमा नगदेवालीबाट ठूलो प्रगती गर्न सकिने उहाँको ठम्याइ छ । यतिबेला नगरले पनि अलिक चासो राखिदिने हो भने सूर्योदय अकबरे पर्यट्कीय स्थल बन्ने कुरालाई नकार्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय