
फिक्कलःसूर्योदय नगरपालिका वडा नम्बर ९ ले विजय दशमी २०७७को समिक्षा गरेको छ ।शुक्रबार बसेको वडा समितिको बैठकले २०७७ सालको दशैको समिक्षा गर्दा कतिपय ठाँउमा जुवा तास खेल्ने ,सार्बजनिक ठाँउमा मदिरा सेवन गरि होहल्ला गर्ने, झगडा गर्ने, घरेलु हिंसाजन्य कतिपय घटनाको रिपोर्टिङ भएकोले समितिले गम्भीरताको साथ टोल बिकाश संस्था र सुरक्षा निकाय सङ्गको समन्वयमा सामाजिक कार्वाही तथा आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको वडाध्यक्ष देबेन्द्र आचार्यले बताउनुभएको छ ।
बैठकले अन्य थुप्रै निर्णय गरेको छ । नगरपालिकाको १४ वटा वडामा माटो परिक्षण गर्ने निति रहेको छ । १३ वटा टोलमा माटो परिक्षणअघि माटोको नमुना कसरी लिने भन्ने बिषयमा आइतबार र सोमबार प्रत्येक टोलमा अभिमुखिकरण हुनेछ। यसैअनुरुप ९ नम्बरमा १८ गते मंगलबार राष्ट्रिय आ.बि रम्फोकमा दिनको ठिक ११ बजे नगरप्रमुखको उपस्थितिमा अभियान सुरुवात गर्ने निर्णय गरिएको छ ।



त्यसैगरी ५ वटा भन्दा धेरै बाख्रा पालन गरिरहनु भएका किसानहरूलाई २२ गते शनिबार बाख्रा पालनमा सम्भावना,चुनौती,समस्या र सामाधान बिषयमा छलफल हुने निर्णय भएको छ। उक्त कार्यक्रम १० बजे दिउँसो राष्ट्रिय आ.बि रम्फोकमा आयोजना हुनेछ । अदुवा खेतीमा सम्भावना चुनौती समस्या र सामाधानमा केन्द्रित रहेर बिज्ञ सहित उन्नत रोगप्रतिरोधी बिउ तथा खेती प्रबिधि बिषयमा मङ्सिर ७ गते छलफल गर्ने निर्णय भएको छ ।बाटोहरु मर्मत सम्भार उपभोक्ता समितिले निर्माण सकेका कामको समिक्षा र बाँकी कामहरू तिहार अघि सक्नुपर्ने भएको छ ।
जै घाँसको बिउ १९ गते टोल बिकाश संस्था मार्फत वितरण गर्ने ,वडा कार्यलय भवन निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती बिषयमा तत्काल छलफल गरि काम सुचारु गराउने ,वडामा आ.ब २०७७÷०७८ मा प्रदेश सरकार तथा नगर स्तरीय योजनाहरु संचालन गर्न सरोकारवालाहरु सङ्ग समन्वय गर्ने निर्णय गरिएको छ । २० गते बिहीवार नगर प्रोफाइलको अवाधिक गर्ने सन्दर्भमा ९ नम्बरको कार्य प्रगतिको समिक्षा बैठक बस्ने बताईएको छ ।
यता कोरोना जोखिमको संक्रमण रोकथाम र नियन्त्रणमा जनस्वास्थ्यको न्युनतम मापदण्ड पालन गर्दै जोखिम बढिरहेका स्थानबाट आवतजावत गरिरहेका ब्यक्तिहरुलाई टोल बिकाश संस्थाहरुको समन्वयमा सुरक्षित घरबास गराउन एक कार्ययोजना तत्काल निर्माण गरि लागु गराउने सम्मको निर्णय वडा समितिको बैठकबाट भएको ९ नम्बर वडाका अध्यक्ष देबेन्द्र आचार्यले जानकारी दिनुभएको छ ।