नेपालमा हालसम्मकै अग्लो उचाइमा जंगली पाटेबाघ फेला परेको छ। ३ हजार १ सय ६५ मिटरको उचाइमा इलामको सन्दकपुर गाउँपालिकामा स्वचालित क्यामेरा मार्फत जंगली पाटेबाघको तस्बिर खिचिएको हो। पाँचथरसँगको सिमाना नजिकै इलामको चौडापात जंगलमा पाटेबाघ खिच्न सफल भएको हो। हालसम्म नेपालकै अग्लो उचाइमा जंगली पाटेबाघ देखिनु महत्पूर्ण सफलता रहेको बताइन्छ।
वन तथा भू–संरक्षण विभागले विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो। रेडपाण्डाको गतिविधि अनुगमन गर्न राखिएको क्यामेरा ट्रयापमा जंगली पाटेबाघको तस्बिर खिचिएको हो। कलर गरिएका १० रेडपाण्डालाई अनुगमन गर्न २० वटा क्यामेरा राखिएको छ। पूर्वी क्षेत्रमा बाघको पहिलो फोटोग्राफी प्रमाण भएको विज्ञप्तीमा उल्लेख छ। योसँगै कंचनजंघा भू–परिधि क्षेत्रमा विरालो प्रजातिको संख्या आठ पुगेको छ। यसअघि चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो विरालो, चरी बाघ, बन विरालो र छिरवरे विरालो प्रजाति रेकर्ड भईसकेका छन्।
नोभेम्बर १३ र २१ जंगली पाटेबाघको तस्बिर स्वचालित क्यामेराले खिचिएको उल्लेख छ। केहि समयअघि सुदूर पश्चिम क्षेत्रको डडेल्धुरामा २ हजार ५ सय मिटर उचाइमा यो बाघ पाइएको थियो। अहिलेसम्मको प्रमाणका आधारमा भारतमा ३ हजार ६ सय ३० र भुटानमा ४ हजार ४ सय उचाइमा यो बाघ पाइएको छ। वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, ‘बाघ स्थलीय पारिस्थितिक प्रणालीको सबैभन्दा माथिल्लो तहमा अवस्थित प्राणी हो। प्राकृतिक वासस्थानमा यसको उपस्थितिले त्यहाँ भएको सम्पूर्ण प्राणीहरुको अवस्था राम्रो भएको संकेत गर्दछ। बाघको यस उपस्थितिले उच्च पहाडी क्षेत्रको वनहरु ठूलो जङ्गली बिरालोहरुको वासस्थान हुन सक्ने महत्वलाई दर्शाउँछ।’
रेडपाण्डा नेटकर्वले पाँचथर, इलाम र ताप्लेजुलाई पिआईटी कोरिडर मानेर रेडपाण्डा संरक्षणको काम गरिरहेको छ। यहि रेडपाण्डा पाइने स्थानमा जंगली पाटेबाघ फेला परेको हो। रेडपाण्डाको गतिविधि अध्ययन गर्न इलाम र पाँचथरमा दशवटा रेडपाण्डामा जिपिएर कलरिङ गरिएको छ। यहि राखिएको क्यामेरा ट्रायममा नेपालकै अग्लो स्थानमा बाटेबाघ खिचिएको हो। रेडपाण्डाको उक्त अध्ययन नेदरल्याण्डस्थित रोटरडयाम चिडियाखानाको आर्थिक सहयोगमा सञ्चालित छ।
पाटेबाघलाई अन्तर्राष्ट्रिय स्तरमा संकटापन्न र नेपाल सरकराले संरक्षित स्तनधारी जनावारको रुपमा सूचीकृत गरेको छ। रेडपाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङ फुरी शेर्पाका अनुसार ‘इलाम जिल्लामा बाघको पहिलो रेकर्डले पूर्वी नेपालमा रहेको पिआइटी जैविक मार्गको महत्व र त्यसको संरक्षणको प्राथमिकताको आवश्यकतालाई इंगित गरेको छ।’ यो जैविक मार्ग नेपालको कञ्चनजंघा संरक्षण क्षेत्र र भारतको सिघंलीला राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। नेपालमा बाघको उपस्थिति १८ जिल्लाहरु र ९ जैविक मार्गहरुमा पाइएको छ। नेपाल सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्ने प्रयासमा छ। नेपालमा सन् २००९ मा गरिएको गणनामा १ सय २१ र २०१८ मा २ सय ३५ बाघको संख्या देखाएको थियो।
यो फोटोग्राफी प्रमाणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाघ संरक्षणको अवाश्यकता र विभिन्न अनुसन्धानको सम्भावना देखाएको संरक्षणकर्मीहरु बताउँछन्। लामो समय नेपालमा बाघ संरक्षणमा काम गरेका डा। एरिक डिनरस्टेन भन्छन्, ‘बाघ आफ्नो पुरानो वासस्थानको माथिल्लो उचाइमा फर्कनु एकदमै अदभूत प्रमाण हो। वन्यजन्तु संरक्षणमा नेतृत्वदायी भूमिका खेलि रहेको नेपालको लागि यो अर्को ठूलो उपलब्धि हो।