
इलाम,नेकपा एमालेका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भएको छ । केही समय यता भारतको एपोलो अस्पतालमा उपचाररत खनालको आज सर्जन डा। सन्दिप गुलेरिया नेतृत्वको चिकित्सकको टोलीले मृगौला प्रत्यारोपण गरेको स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खनाल केही समय अस्पतालमा आराम गरेर नेपाल फर्कने छन् । एपोलोमा असार पहिलो साताबाट नेप्रोलोजिष्ट अखिल मिश्रले खनालको उपचार गरिरहेका थिए । ९ दिनसम्म ज्वरो आएपछि खनाललाई जेठ ३१ गते काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । नर्भिकमा उपचारपछि असार २ गते उनलाई दिल्ली लगिएको थियो ।



गत बैशाख १८ गते खनाल कोभिडबाट समेत संक्रमित भई नर्भिक अस्पतालमा उपचार गरी २ सातापछि डिस्चार्ज भएका थिए । खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु समेत देखिएको नेपालमा उपचारको क्रममा चिकित्सकहरुले बताएका थिए ।