फिक्कल, कडा खालको बिषादी प्रयोग भएपछि सिल गरिएको कन्याम चिया बगान भण्डारण कक्षको सिल खोलिएको छ । विषादी भण्डारण कक्ष व्यवस्थापन र कडा खालको बिषादीको मात्रा मिलाएर प्रयोग गर्ने निर्देशनपछि आज सूर्योदय नगरपालिकाको नेतृत्व प्रमुख रणबहादुर राईको नेतृत्वमा अनुगमन टोलीले सिल खोलेको हो ।
गत साउन २३ गते राष्ट्रिय चिया तथा कफि विकास बोर्डको नेतृत्वमा भएको अनुगमनमा मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिई लामो समयसम्म असर हुने प्रयोग गरेको पाइएपछि भण्डारकक्षमा ताला लगाएको थियो । मंगलबारको अनुगमनका क्रममा प्रदेश सरकार भुमी व्यवस्था तथा कृषि मन्त्रायलका बिषादी निरिक्षक सागर बिष्टले ले नेपाल सरकारले प्रतिबन्ध लगाएको औषधीहरु नभेटिएपनि गोदाम व्यवस्थापन र सुरक्षा नअपनाएको पाइएको बताए ।



उनले समुचित व्यवस्थापन र वर्गिकरण गरेर राख्न बगान व्यवस्थापन पक्षलाई निर्देशन दिएका छन् । धेरै लामो समयसम्म असर रहने औषधी प्रयोग नगर्न सुझाव दिए । उनले लामो समयसम्म असर रहने औषधी प्रयोग गनुपर्ने अवस्था आएमा निस्क्रिय हुन लाग्ने समयावधिसम्म पत्ती नटिप्न सुझाव दिए ।
भण्डारण कक्षको सिल खोल्ने क्रममा अनुगमन गर्दै सबै खालको बिषादी एकै ठाउँमा राख्नेले स्वास्थ्यमा असर पर्ने भएकाले अविलम्ब सरसफाइ गरेर छुट्याएर राख्नु पर्ने बताए । कन्याम चिया बगानमा कडा खालका बिषादी क्लोरोपाइरिफस, साइप्रेनेक्रिन, थायोनिथोग्राम अव्यवस्थित रुपमा प्रयोग हुँदै आएको छ । यी औषधिको प्रयोग गरेपछि २८ दिनसम्म चियाका बोटहरुमा रहने भएपनि चिया टिपाई १५ दिनको फरकमा हुँदै आएकाले मानव स्वास्थ्य प्रत्यक्ष असर देखिने चिया प्राविधिक बताउँछन् ।
चिया विकास निगम व्यवस्थापन पक्षले चियाका बोटमा देखिने चुसेर खाने किरा मार्न प्रयोग गरेको भनिएपनि यति कडा खालको औषधि प्रयोग गर्नु नपर्ने अध्ययनमा उल्लेख छ । अनुगमनमा नगर प्रमुख राईसंगै चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारी, सूर्योदय–७ का वडाध्यक्ष लेखनाथ खड्का, वडा नं ९ का अध्यक्ष देवेन्द्र आचार्य, नगर कृषि शाखा प्रमुख नारायण लम्साल, पत्रकार तोयानाथ भट्टराई, नमीन ढकाल लगायत थिए ।
बगानका प्रबन्धक सचिन सुब्बाले अनुगमन समितिको निर्देशन बमोजिम भण्डारण कक्षमा राखिएको बिषादीलाई छुट्याएर राख्ने बताए । उनले पछिल्लो समय अर्गानिककरणलाई ध्यानमा राखेकाले रासायनिक बिषादीको प्रयोगलाई न्युनिकरण गदैै गौमुत्रबाट बन्ने जैविक विषादीलाई प्रोत्साहन सुरु गरेको बताए । उनले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै लग्न तयार रहेको बताए ।
स्थानियसन्देशबाट

