इलाम, इलाम नगरपालिका वडा नम्बर १० मूर्तिडाडाका ४० बर्षीय प्रदिप आचार्य झापाको मेचीनगरमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
बुधबार विहान मेचीनगर वडा नम्बर १० लालपानिस्थित ज्ञानु पौडेलको घरको कोठा भित्र झुण्डिएको अवस्थामा भेटेपछि पौडेलका छरछिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
साइनोमा मामा पर्ने पौडेलको घर जानु छ भनी आचार्य मंगलबार अपराह्न्न ३ बजे घरबाट झापातर्फ निस्किएका थिए ।
पारिवारिक स्रोतका अनुसार आचार्य राति करिब ८ बजे लालपानि स्थित पौडेलको घर आइपुगेको जानकारी गराएका थिए ।
पारिवारिक स्रोतका अनुसार आचार्य र पौडेल परिवार बीचमा आर्थिक कारोबारसमेत रहेको थियो । आचार्यले आमालाई ५,७ लाख रुपैयाँ हिसाब उठाउनु छ, म झापा गएर पैसा उठाएर विराटनगरमा छोराको भर्ना गराएर फर्कन्छु भनेका थिए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापासहितको प्रहरी टोलीले घटनास्थलको विवरण लिइ मुचुल्का उठाउने काम गरि रहेको छ । सो पश्चात आजनै शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइने तयारी भइ रहेको प्रहरी स्रोतले बताएको छ ।
मृतकको परिवारका तर्फबाट किटानी जाहेरी दिने तयारी भइ रहेको बुझिएको छ । पीडित परिवारले आचार्यको आत्महत्या नभइ हत्या भएको आरोप लगाएको छ । अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।
आफन्त तथा परिवारका सदस्यहरुले घटना सम्बन्धमा शीघ्र अनुसन्धान गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरिरहेका छन् ।
घटना सम्बन्धमा अनुसन्धान सुरु भइ सकेको झापाका प्रहरी प्रवक्ता थापाले बताएका छन्।
पोष्टमार्टम्को रिपोर्ट आएपछि मात्र घटना सम्बन्धमा थप बताउन सकिने थापाले बताए ।
मृतक आचार्यका आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । जनसंसदबाट