सुनसरीको बराहक्षेत्र नगरपालिका(१० प्रकाशपुरकी बीना उराउँ १४ वर्षको उमेरमा पहिलोपटक रजस्वला हुँदा अनौठो लाग्ने गरी कसैले सोधनन्। परिवारका सदस्यबाट लुक्न बाध्य पनि भइनन्। छाउगोठमा पठाइएन। उनी अहिले १८ वर्षकी भइन्। उनको नियमित महिनावारी हुन्छ। तर यो कुरा उनीबाहेक कसैलाई थाहा हुँदैन। किनकि‚ उनको समुदायमा महिनावारी बार्ने चलन छैन।
यद्यपि, महिनावारीका बेला बेवास्ता गर्दिनन्। पर्याप्त सरसफाइमा ध्यान दिने गरेको बीनाले बताइन्। सुरूमा रजस्वला हुँदा सुरक्षित रहन कपडा प्रयोग गर्नुपर्छ भनेर बीनालाई आमाले नै सिकाइन्। उनले स्यानिटरी प्याड प्रयोग गर्न थालेको दुई वर्ष मात्रै भयो। तर, एकपटक प्रयोग गरेको प्याड कति समयसम्म राख्ने भन्ने ज्ञान नभएको उनी बताउछिन्।
‘मेरो ममीलाई प्याड के हो भन्ने नै थाहा थिएन, उहाँले भने अनुसार कपडा प्रयोग गर्दै आएकी थिएँ। दुई वर्ष भयो मैले स्यानिटरी प्याड प्रयोग गर्न थालेकी छु,’ उनले भनिन्, ‘तर एकपटक प्रयोग गरेको प्याड कति समयसम्म लगाउने भन्ने थाहा छैन।’
यस्तै‚ प्रकाशपुरकै १९ वर्षीया मीना उराउँलाई १५ वर्षको उमेरमा रजस्वला भयो। बीनालाई जस्तै उनलाई पनि पहिलोपटक रजस्वला हुँदा घरमा कुनै अप्ठ्यारो नभए पनि कसरी सरसफाइमा ध्यान दिने भन्ने चाहिँ समस्या भयो। उनलाई स्यानिटरी प्याडको कसरी प्रयोग गर्ने भन्ने ज्ञान थिएन। हजुरआमाले भने अनुसार उनले कपडा प्रयोग गरिन्। आफ्नो समुदायमा महिनावारी बार्ने चलन नभए पनि सरसफाइबारे कम जानकारी भएको मीनाको भनाइ छ।
तर‚ उनले सरसफाइ कसरी गर्ने भन्ने विद्यालयमा जानेको बताइन्। ‘मैले स्कुलमा पढेको भरमा सरसफाइमा ध्यान पुर्याएकी हुँ,’ उनले भनिन्, ‘आमा, हजुरआमाले रजस्वलालाई प्रकृतिले दिएको बरदानको रुपमा लिने गर्नुहुन्छ। यसलाई खासै जटिल रुपमा लिनु हुन्न।’
धार्मिक कार्यमा छैन रोकतोक
प्रजनन उमेरमा स्वस्थ्य महिलामा हुने प्राकृतिक चक्रलाई रजस्वला भनिन्छ। तर‚ नेपाली समाजमा अझै पनि विभिन्न महिनावारी भएका बेला ‘अछुत’को व्यवहार गरिँदै आइएको छ। महिनावारी भएका बेला महिलालाई घरभित्रदेखि विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रममा समावेद गरिँदैन।
महिनावारी एक महिनामा करिब १ पटक गरेर एक वर्षमा करिब १३ पटक हुन्छ। महिलाले मासिक धर्म करिब ७ दिनसम्म बेहोर्नुपर्ने हुन्छ। महिनावारी भएको समयमा प्राय महिलाले धेरै कठिनाई झेल्दै आएका छन्। अझै पनि नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशमा महिनावारी भएका बेला महिलालाई घरभन्दा बाहिर असुरक्षित छाउगोठमा राखिन्छ। छाउगोठमा रहेका बेला उनी बलात्कार र सर्पको टोकाइको सिकार हुने गरेका छन्।
तर, तराईको आदिवासी भनेर चिनाउने उराउँ समुदायका महिला महिनावारीका बेला सामान्य अवस्था झैँ घरैमा बस्छन्। अर्थात् उनीहरुको समुदायमा महिनावारी बार्ने चलन छैन। अघिल्लो पुस्ताले महिनावारी नबार्ने चलनलाई अहिलेका पुस्ताले यसलाई समाज परिवर्तनको संवाहकका रुपमा बुझ्न थालेका छन्। नेपालका धेरैजसो ठाउँमा महिनावारी हुँदा छाउगोठमा बस्ने चलनले कतिपय महिलाले मृत्युवरण गर्नु परेको घटना सुनिन्छन्। तर‚ त्यस्तो प्रथा र विकृतिविरुद्ध उराउँ समुदायमा विकसित सोच पहिल्यैदेखि हुनुमा गर्व लाग्ने गरेको मीनाले बताइन्।
केही समाजमा महिनावारी भएका बेला धार्मिक कार्यमा समावेश भए पाप लाग्छ भन्ने मान्यता छ। महिनावारीको समयमा तिहारको समय भाईटिका लगाइदिएको स्मरण गर्दै मीनाले भनिन्, ‘खै मलाई पाप लागेको छैन त। जुन समय परिवारको आवश्यकता पर्छ‚ त्यो समय परिवारबाट टाढा राख्नु उल्टो पाप हो जस्तो लग्छ।’
महिनावारी बेला परम्परादेखि मनाउँदै आएको उनीहरूको चाडपर्वमा समेत आफूहरुलाई कुनै रोकतोक नभएको मुनु उराउँले बताइन्। ‘हामी महिनावारी भएका छौं भन्ने घरको मुख्य मान्छेलाई थाहा नै हुँदैन,’ उनले भनिन्, ‘खाना बनाउँछौँ, खुवाउँछौ। चाडपर्व हामी सबै मिलेर मनाउछौं।’
व्यक्तिगत सरसफाइमा कमी
उराउँहरू विशेषतः झापा, मोरङ, सुनसरीको विभिन्न ठाउँमा बसोबास गर्दै आएका छन्। उनीहरु बस्ने क्षेत्र तराई भएकाले सरसफाइका लागि पानीको अभाव छैन। तर‚ अघिल्लो पुस्तामा महिनावारीका बेला सरसफाइमा पर्याप्त ध्यान नपुगेको ३५ वर्षीय मीनुको बताउँछिन्। उराउँ समुदायको प्रमुख पेसा कृषि नै हो। अधिकांश परिवार खेतीबाट नै चल्ने गरेको र खेतीको काममा व्यस्त रहने भएकाले सरसफाइमा ध्यान दिन गाह्रो भएको उनको बुझाइ छ।
‘सबै खेतीको कमाइबाट घर चलाउनुपर्ने हुन्छ। कति बेला नुहाउनु, धुनु फुर्सद हुन्न। जुन समय फुर्सद मिल्छ‚ त्यो समय सरसफाइ गर्ने हो,’ उनले भनिन्‚ ‘घरको आँगनमा माकल छ। पानी प्रशस्त छ तर कामको चापले सबै भुल्ने रहेछ।’
६५ वर्षीया मायावती उराउँ परम्परादेखि नै महिनावारीको समयमा चुलो चौको बार्ने चलन नरहेको बताउँछिन्। महिनावारीका बेला आफूले आमालाई घर धन्दा सघाउने गरेको उनले स्मरण गरिन्।
उनले भनिन्, ‘महिनामा एक पटक हाम्रो शरीरबाट खराब रगत जाने हुँदा हामीलाई नै फाइदा हुन्छ। त्यसैले हामी यसलाई खासै ठूलो रुपमा लिँदैनौं।’
महिनावारीमा परिवारको साथ
बराहक्षेत्र नगरपालिका वडा ११ का वडा सदस्य समेत रहेका दीपनारायण उराउँ महिनावारी भएकी महिलालाई परिवारको सधैं सहयोग रहने बताउँछन्।
‘हामी हाम्रो घरको महिलालाई रजस्वलाको समयमा चुलामा जान रोक्दैनौँ‚’ उनले भने, ‘पोषणयुक्त खाना आफ्नै हातले बनाउँछन्। आफूसँगै परिवारलाई पनि खुवाउँछन्।’
महिलाहरुले महिनावारी नबार्दा अहिलेसम्म आफूहरुलाई कुनै खालको असर नपरेको उनले बताए। महिलाले महिनावारीको समय परिवार‚ समाजसँगै बस्न पाउनु समाजमा परिवर्तनको संवाहक भएको दीपनारायण बताउँछन्।
व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने विज्ञको सुझाव
छाउगोठ जस्तो कठोर परम्परामा बस्नु पर्ने नेपाली समाजमा उराउँ समुदायका महिलाले महिनावारीको समय नबार्नु खुशीको कुरा रहे पनि व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने जनस्वास्थ्यविद् तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। संगिता मिश्रको सुझाव छ। महिनावारीको समयमा सरसफाइको कमी भए यौनाङ्ग र पाठेघरमा विभिन्न रोगको संक्रमण भई प्रजनन स्वास्थ्यमा समस्या आउन सक्ने उनको भनाइ छ।
‘महिनावारीको बेला यो फोहोर रगत हो भन्दै महिलालाई टाढा राखिन्छ, तर यस्तो मानसिकता त्याग्नुपर्छ, पाठेघरको इन्डोमेट्रियम लेयरमा हुने परिवर्तनले रक्तस्राबको रूपमा रगत बाहिर निस्कन्छ,’ डा। मिश्रले भनिन्, ‘यसलाई सामान्य रूपमा लिएर त्यसैअनुरूप आफ्नो दैनिक कार्यमा सक्रिय हुनुपर्छ।’
बजारमा धेरै किसिमका स्यानिटरी प्याड पाइने भए पनि महिलाका सामाजिक र आर्थिक कारणले गर्दा सबैले प्याड प्रयोग नगर्ने भएकाले आफ्नै घरमा भएका कपडा प्रयोग गर्ने क्रममा कपडा सफा नभए रोगको संक्रमण हुनसक्ने उनले बताइन्।
‘कपडा सकेसम्म कटनको सेतो र हल्का रंगका कपडा प्रयोग गर्नुपर्छ। यस्तो कपडामा रगतको दाग देखिने हुनाले राम्रोसँग धुनुपर्छ‚’ उनले भनिन्‚ ‘घरका पुरुषले देख्लान् भनेर कपडालाई सकेसम्म कसैले नदेख्ने अँध्यारो ठाउँमा सुकाउने गरिन्छ, यसो गर्नु हुँदैन। कपडालाई सधैं घाममा सुकाए रोगका कीटाणु मरेर संक्रमण हुनबाट जोगाउँछ।’
स्यानिटरी प्याड धेरै लामो समयसम्म नलगाउने स्कुल, कलेज, अफिसमा महिलामैत्री शौचालय छ भने करिब चार घण्टाको अन्तरालमा प्याड परिवर्तन गरिरहनुपर्ने उनले सुझाव दिइन्। यस्तै‚ चिसो र भिजेको प्याड लगाइरहँदा यसले ध्यान त्यसैतर्फ केन्द्रित गरिरहने हुनाले काममा ध्यान दिन नसक्ने जस्ता समस्या आउने साथै अर्कोतर्फ लामो समय भिजेको प्याड लगाउँदा त्यसमा कीटाणुले सप्रने मौका पाउने जस्ता समस्या रहने डा। मिश्रले बताइन्।
महिनावारी हुँदा सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ। पोषणयुक्त खाना, मन तातो र झोलिलो खानेकुरा खानुपर्छ। पानी र फलफूल पनि प्रशस्तै खानुपर्ने उनले बताइन्। किशोरावस्थामा पुगेका छोरीहरूलाई विद्यालय र परिवारमा नै महिनावारी शिक्षा दिनु जरुरी रहेको पनि डा। मिश्रको सझाव छ।थाहाखबरबाट साभार