इलामको सूर्योदयमा “बालबालिका संग मेयर” कार्यक्रम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःइलामको सूर्योदय नगरपालिकामा राष्ट्रिय बाल दिवसको अवसरमा “बालबालिका संग मेयर” कार्यक्रम सम्पन्न भएको छ ।

सूर्योदय नगरपालिका महिला तथा बालबालिका शाखाद्धारा आयोजित उक्त कार्यक्रममा विभिन्न विद्यालयका करिब २०० बढी बालबालिका सहभागि थिए । ती मध्ये एक दर्जन बढी बालबालिकाले भने नगरप्रमुख रण बहादुर राई समक्ष आफ्ना गुनासा र जिज्ञासा राखेका छन् ।

नगर भित्रका विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनिहरुले राखेको प्रश्न निक्कै रोचक र समयसापेक्ष थियो । अधिकाँशले कोरोना भाईरसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परेको सुनाउँदै विद्यालयमा भौतिक रुपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा समस्या भएको बताए ।

वैकल्पिक शिक्षाको रुपमा रहेको अनलाईन कक्षाले सबै वर्गका विद्यार्थीलाई समेट्न नसकेको भन्दै उनिहरुले नेटवर्कको समस्या,मोवायल फोनको अभाव,रिचार्ज लगायत मोटो खर्च सबै अविभावकले पुरा गर्न नसकेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयमा माद्यमीक तहको अध्ययन निशुल्क गर्ने कानुन बनाएपनि अनलाईन कक्षाको नाममा दोब्बर खर्च भएको गुनासो गरेका छन । लामो समय विद्यालय बन्द भएसँगै विस्तारै चलाएमान हुनु खुशिको कुरा हो तर कोरोना कहर उत्तिकै छ , विद्यार्थीलाई माक्स र सेनिटाईजरको ब्यवस्था के छ मेयर साहेव? भन्दै प्रश्न गरेका थिए ।

एभरलेन्ड एकाडेमी स्कुल फिक्कलको कक्षा १२ मा अध्ययनरत छात्रा सुम्निमा राईले कतिपय बालिकालाई नगरपालिकाले सेनेटरी प्याड उपलब्ध गराएको भएपनि सबैले संधै प्याडको प्रयोग गर्न नसक्ने बताएकि छन् । प्रतिगोटा रु ७० पर्ने प्याडको प्रयोग गर्न सबै बालिका असमर्थ छन् सुम्निामाले भनिन,“एकपटक प्याड वितरण गर्नु भन्दा मुल्य घटाई दिनुहोस्, गरिब परिवारकी चेलीले पनि आँफै किनेर प्याडको उपयोग गर्न सक्छे ।”

फिक्कल माद्यमीक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र आदेश महतले खेलकुदमा आवश्यक बजेट अभाव भएको बताएका छन् । फुटबल र भलिबल बाहेकका खेलमा इलामको अवस्था र युवाको रुचि पहिचान गरि समग्र खेलकुद क्षेत्रको प्रवर्धन गरिदिन उनको आग्रह थियो ।
नर्वदा कल्याण बोर्डिङ्ग स्कुल मेहेलबोटेमा अध्ययनरत छात्रा सायसा कार्कीले बाल विवाह र बेचविखनको शिकार बन्नुपरेका बालबालिकाले न्याय कहिले पाउने? भनि प्रश्न गरिन । समाजमा विद्यमान हत्या,हिँशा र बलात्कार जस्ता जघन्य अपराध निराकरण नहुन्जेल बाल दिवस नारामा मात्र सिमित हुने उनले बताएकी छन ।

कृष्णाश्रम मा।बी कन्यामकी छात्रा रचना कार्कीले नगरले कस्ता अभिमुखिकरण कार्यक्रम ल्याएको छ भन्दै साधेकी थिईन भने बोद्धधाम मा।वी की युरिका राईले अनलाईन कक्षामा सहभागि हुन छुटेका विद्यार्थीहरुको पढाई अब कसरी पुरा होला भन्दै जिज्ञासा राखेकी थिईन ।

कार्यक्रममा श्रुृति राई,युवराज चिमरीया,सायसा कार्की,रोज शेर्पा,रचना कार्की,आदेश महत,पृया प्रधान,रिन्छेन तामाङ्ग,चन्द्रमणि नेउपाने,गृष्मा कार्की,नितु राई,सुम्निमा राई,अपेक्षा मगर,युरिका राई,स्मिता थापा,लगायतका बालबालिकाहरुले गुनासा तथा जिज्ञासा राखेका थिए ।

बालबालिकाको प्रश्नको सम्बोधन गर्दै नगरप्रमुख राईले भविष्यका कर्णधार बालबालिकालाई बाल दिवसको शुभकामना दिनुभयो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अब सबै विद्यालय संचालन गरिने उहाँले बताउनुभएको छ । माक्स र सेनिटाईजरको नियमित उपलब्धता गर्न बजेट अभाव भन्दाठुलो ब्यवस्थापनमा समस्या हुने उहाँको भनाई थियो । माक्सको दुरुपयोग नियन्त्रण गर्न चुनौती हुने उहाँको आशँका रहेको थियो ।

प्रत्येकको प्रश्नलाई सरल जवाफमा स्पष्ट पार्नुभएका प्रमुख राईले प्रकृया पुरा गरि समस्याको विवरण लिएर आए समाधान गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

बाल्यकालमा आफु चन्चले स्वभाबको भएको बताउँदै नगरप्रमुख राईले आफ्ना संघर्षका कथा बालबालिकालाई सुनाउनुभयो । आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर लागिरहन आग्रह गर्दै कसैले बालअधिकार हनन गरेको पाइएमा कडा कार्बाही गरिने चेतावनी समेत दिनुभएको छ ।

शिक्षा शाखाका अधिकृत नविन पौडेलले शिक्षाको क्षेत्रमा सूर्याेदय नगरपालिकाले गरेको प्रगति राष्ट्रियस्तरमा प्रशंसाको बिषय बनेको र यो हामी सबैको गर्भको बिषय रहेको बताउनु भयो ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल,वडा नम्बर ९का अध्यक्ष तथा नगर आर्थिक विकास समिती संयोजक देवेन्द्र शर्मा,शिक्षा शाखाका प्राविधिक नविन पौडेल,महिला तथा बालबालिका शाखा प्रमुख तारा शेर्पा,स्वास्थ्य शाखा प्रमुख धनराज यादव राष्ट्रिय चिया बोर्डका सदस्य पुनम बान्तवा,लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय