शिक्षाको गुणस्तरमा सुधार ल्याउन विद्यालयसंग सूर्योदयको कार्यसम्पादन सम्झौता

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःशिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि इलामको सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालय र शिक्षा शाखा विच कार्य सम्पादन सम्झौता गरेको छ । नगरले सामुदायिक विद्यालयको माध्यमिक र कक्षा ८ सम्म अध्यापन हुने आधारभूत विद्यालयहरूको प्रधानाध्यापक र सूर्योदय शिक्षा शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौंता गरेको हो ।

शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई र विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय व्यवस्थापन समिति अध्यक्षको रोहवरमा सम्झौता गरेका छन् । नगरपालिकाको गत असोज ७ गते बसेको १२८ औ कार्यपालिकाको बैठकबाट स्विकृत भएको सूर्योदय नगरपालिकाको विद्यालय कार्य सम्पदान निर्देशिका बमोजिम सम्झौता गरिएको जनाइएको छ ।

कार्यसम्पादन निर्देशिकामा नगरपालिकाको शिक्षा नियमावली २०७६ बमोजिम प्रधानाध्यापकलाई उत्तरदायी बनाइएको छ । विद्यालयको परिणामुखी व्यवस्थापन र संचालन गर्न समग्र क्रियाकलाप सुधार गर्दै विद्यालयको निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा प्रधानाध्यापकको भुमिकालाई प्रभावकारी बनाई विद्यालयमा हुने क्रियाकलापको गुणस्तर, समयसिमा, लगात, परिणाम, जिम्मेवारी र जवाफदेहिता तथा प्रोत्साहन मापनयोग्य बनाउनका लागि कार्यसम्पादन करार गरिएको जनाइएको छ ।

सम्झौतापछि सम्पूर्ण सामुदायिक विद्यालयहरूले समावेशी , समतामूलक गुणस्तरीय शिक्षाको निम्ति महत्वपूर्ण भुमिका खेल्ने नगरले अपेक्षा राखेको छ । नगरले मुख्य नतिजाको १३ वटा क्षेत्रलाई कार्यसम्पादनमा समावेश गरेको छ । कार्यसम्पादन सम्झौताले आफ्नो पेशाप्रतिको जिम्मेवारीलाई योजनाबद्ध तरिकाले समाधान गर्न मद्धत गर्ने नगर प्रमुख रणबहादुर राईले बताए ।

विद्यालयको कार्यप्रगतिको आधारमा नगर पुरस्कार र सम्मानको व्यस्था गरिने राईले बताए । उनका अनुसार उत्कृष्ट विद्यालयहरुलाई क्रमश ३ लाख, २ लाख र १ लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिनेछ ।कक्षा १ देखि ५ सम्मका विद्यालयका प्रधानाध्यापकहरुसंग आज सम्झौता गरिने शिक्षा शाखाका प्राविधिक नविन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय