समाज बुझेका काजीमान कागते इलामको पूर्वी क्षेत्रमा संस्थाझैँ स्थापित नाम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

इलामःकाजीमान कागते इलामको पूर्वी क्षेत्रमा स्थापित नाम हो । सरल जीवन शैली, सहयोगी स्वभाव, मृदुभाषी कागतेको ठट्यौली पारामा प्रस्तुत हुने बानीका कारण उनी धेरैले रुचाउने व्यक्ति हुन् । कागते औपचारिक घेराभित्र सीमित हुँदैनन् । त्यसैले जो कोहीको पहुँच उनीसम्म सहज हुन्छ । कागते उनी आफ्नो सामाजिक कामकै कारण एउटा संस्थाझैँ स्थापित छन् । अहिलेसम्म कुनै विवादमा नमुछिएका कागतेले आफ्नो व्यक्तित्वमा दाग लाग्न दिएका छैनन् ।
२०१८ सालमा बाबु मोहन बहादुर कागते र आमा फूलमाया कागतेको माइलो सन्तानको रूपमा जन्मिएका कागते १८ वर्षकै उमेरमा कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेका हुन् । उनी भारतको पश्चिम बंगाल स्थित जलपाइगुडी जिल्लाको गरुचिया भन्ने ठाउँमा रहदा भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेका थिए । उनी नेपालमा भने २०४६ सालदेखि माले हुँदै नेपाली वामपन्थी आन्दोलनमा होमिएका हुन् ।
कागते २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन कन्याम गाविस वडा नं। १ को वडाध्यक्ष निर्वाचित भएपछि जनप्रतिनिधिको यात्रा शुरु भएको हो । त्यसपछि उनी कन्याम गाविसको उपाध्यक्षमा निर्वाचित भए । गाविसमा दुई वर्ष उपाध्यक्षको भूमिका निर्वाह गरे । तीनवर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गरे । २०७४ को आम निर्वाचनमा उनी इलाम १ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कागतेले इलाम निर्वाचन क्षेत्र नम्बर १ को एमालेको क्षेत्रीय अध्यक्षको रूपमा दुई नेतृत्व गरिसकेका छन् ।
माओवादीको सशस्त्र द्वन्द्वताका गाउँ गाउँमा अन्य राजनीतिक दलको गतिविधि प्राय शून्य थियो । त्यस बेला इलामको पूर्वी क्षेत्रमा पनि एमालेको उपस्थिति निकै कमजोर भएको थियो । त्यस बेला कागतेले एमालेको खम्बा बनेर उभिए । कमजोर भएको पार्टीलाई दिनरात काम गरेर उकासे र पार्टीलाई चुनाव हार्न दिएनन् ।
२०५८÷०५९ तिर आठ रुपैयाँमा पनि हरियो पत्ति बिक्दैनथ्यो । चिया प्रशोधन उद्योगहरूले हरियो पत्तिको मूल्य निर्धारणमा सिन्डिकेट लगाउँथे । त्यस बेला काजीमान कागतेले चिया किसानको पक्षमा भएको आन्दोलनको अगुवाइ गरे । मुलुकमा हरियो पत्तिनै विक्री नहुने अवस्थामा उनकै अगुवाइमा किसानले उत्पादन गर्ने हरियो पत्ति भारतसम्म पु¥याएर विक्री गरे । त्यसबाट किसानले केही राहत पाए । भातमा हरियो पत्ति निकासी हुन थालेपछि किसानको हातमा भारु २० रुपैयाँसम्म पर्न थाल्यो । तर, त्यो उपाय दीर्घकाल टिकेन । भारतीय चिया दलालहरूले उद्योगहरूले दिने चियाको पेमेन्ट नै खाइदिन्थे । हरियो पत्ति भारत लगेर बेच्दा डुबेको २० लाख रुपैयाँ जति रकम अहिले पनि उठेको छैन । भारतमा विक्री गरेको चियाको पेमेन्ट समेत नपाउने अवस्था आएपछि चियाको औद्योगीकरणको लागि कागते लागि परे । शुरुमा हाते चिया प्रशोधनको लहर चल्यो । गाउँ गाउँमा साना साना चिया प्रशोधन गर्ने घरेलु उद्योग स्थापना भए । कागतेले पनि घरैमा झुल्के घाम हाते चिया उद्योग स्थापना गरेर हातैले माडेर तयारी चिया बनाउन थाले । हाते चिया उद्योगहरूमा चिया प्रशोधनको प्रविधिहरू खासै थिएनन्, पछि बिस्तारै बिस्तारै चिया प्रशोधन गर्ने चिनिया मेसिन भित्रियो । उनले पनि ‘लड बुद्ध’ चिया प्रशोधन उद्योग स्थापना गरे । अहिले चिया प्रशोधन उद्योग भने कान्छा छोरा लाक्पा दोर्जेले चलाउँछन् । चियामा देखिएको समस्या सधानको लागि अहोरात्र खटिरहने उनै कागते चियाको क्षेत्रमा काम गर्न राज्यले बनाएको चिया तथा कफी विकास बोर्डमा दुई पटकसम्म सदस्य भए । बोर्डमा हुँदा चिया रोपणको लागि किसानले लिएको ऋणको ब्याज र हर्जाना मिनाहा गराउन सफल भएको सुनाउँछन् । ‘यो सूर्योदय नगरपालिका क्षेत्रकै धेरैको घरजग्गा लिलाम हुने अवस्था थियो, भाका नागेको दश लाखसम्म ब्याज हर्जाना मिनाहा हुँदा धेरैलाई राहत मिल्यो’, कागतेले सुनाए ।
कागते सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । जनप्रतिनिधि हुनु अघि कागतेको दैनिकी खेतीपाती मेलापातमै वित्थ्यो । उनी ढुङ्गा फोर्थे, काठ काट्थे, मिस्त्री गर्थे ९घर बनाउने काम०, खेती लगाउँथे । कागतेले आफ्नो घरको गाह्रो आफै लगाएका हुन् । घर बनाउँदै गर्दा घरको लागि चाहिने काठको व्यवस्था गर्न उनी आफै धरानमा काठ चिर्दै थिए । त्यही बेला एमालेले उनलाई कन्याम गाविस १ मा वडाध्यक्षको उम्मेदवार बनायो । कागते बनाउँदै गरेको घर अधुरै छाडेर चुनावमा लागे । उनको त्यो अधुरो घर अहिलेसम्म पनि पुरा भएको छैन । कागतेले त्यही अपुरो घरमा बसेर सामाजिक काम गरेका छन् । त्यही भएर उनको एउटा किस्सा चर्चित छ– ‘काजीमान कागतेले अरूको काम गर्दा गर्दै आफ्नो घर पुरा गर्न भ्याएन ।’ अपुरो घरको कुरा गर्दा कागतेले हाँस्दै भने,‘त्यति बेला थालेको घर अहिले पनि पुरा भएको छैन नि हाउ, अब त भत्काउने बेला भइसक्यो, तर यसो म्युजियम जस्तो बनाउन पाए हुन्थ्यो ।’ राजनीतिमा होमिएपछि कागते आफ्नो काममा खास ध्यान दिएनन् त्यसैले पहिले चिया रोप्दा छोडिएको ठाउँ अहिले पनि भरिएको छैन ।
कागतेले शिक्षा क्षेत्रको विकासमा पनि निकै योगदान गरेका छन् । कन्याममा रहेको श्रीकृष्ण श्रम माविमा उनी लगातार १५ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे । विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक थियो । कुनै बेला एसएलसीको नतिजामा शून्य हुने विद्यालयले कागते व्यवस्थापन समितिमा आएपछि शतप्रतिशत सम्म नतिजा निकाल्यो । पूर्वी क्षेत्रमा करफोक विद्या मन्दिर र दानाबारीको गरुवा बहुमुखी क्याम्पस बाहेक अन्य ठाउँमा उच्च शिक्षा अध्ययन गर्ने ठाउँ थिएन । कागतेकै पहल र प्रयासमा कन्यामको कृष्णाश्रममा प्लसटुको पढाई शुरु भएको हो ।
कागतेले धेरैलाई उनीहरूको व्यक्तिगत काममा पनि सघाएका छन् । नागरिकता, पासपोर्ट, जन्मदर्तासम्मको लागि धेरै जना उनलाई भन्न आउँथे । कतिसँग यी कामका लागि समेत खर्च हुँदैनथ्यो । त्यसको जोहो गर्न पनि उनी पछि हटेनन् । ‘कतिलाई त खाजा खर्च गाडी भाडा समेत लगाइदिएर घरसम्म पु¥याएको छु’, उनले भने,‘बिरामी पर्दा, दुखमा परेकालाई त धेरैलाई सहयोग गरियो ।’ कागतेले मध्यस्थकर्ताको रूपमा पनि काम गरेका छन् । स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा मानव अधिकार मञ्चले गाउँ गाउँमा मध्यस्थकर्ता उत्पादन गरेको थियो । मध्यस्थकर्ताको भूमिकामा हुँदा कागतेले थुप्रै विवादहरू सलट्याएका छन् । ‘कति त अड्डा अदालत धाउँदा धाउँदा गरेर नमिलेको चिजहरुपनि बसेर मिलाइन्थ्यो हाउ’, विगत सम्झिँदै कागतेले भने । कागते अरूका कुरा राम्रोसँग सुन्छन् । सक्ने सहयोग गर्न पछि पर्दैनन् । आफूले सहयोग गर्न सकेनन् भने ढाडस दिएरै भएपनि सहयोग गर्ने कोसिस गर्छन् । समाज बुझेका छन् । विकासको आवश्यकता बुझेका छन् । उनै कागते आसन्न स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकामा नगरप्रमुखको सर्वसम्मत उमेदवार सिफारीस भएका छन् नेकपा एमालेको तर्फबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय