५० प्रतिशत अनुदानमा गोर्खे साना किसानले दियो कृषकलाई २४ लाख बराबरको सामग्री

द्वारा प्रकाशित गरिएको हो |
२०७९ असार ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सन्देस खड्का,गोर्खेः साना किसान कृषि सहकारी संस्था लि. सूर्योदय नगरपालिका वडा १ ले सार्वजनिक सुनुवाई,बिउ बिजन तथा कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सूर्योदय नगरपालिकाले तरकारी पकेट कार्यक्रम मार्फत आर्थिक सहयोग गरेको थियो ।

परियोजनाको १२ लाख सहयोग र किसानको १२ लाख साझेदारीमा २४ लाख बराबरका सामान वितरण गरिएको छ । ५० प्रतिशत लागत सहभागितामा किसानले च्याप्कटर मेसिन १५ थान, टनेल ७५ थान,स्प्रे ट्याङ्की ३४ थान, एग्रोनेट ६० थान र प्राङ्गारिक मल लिएका छन् । साथै मुला,ब्रो काउली,काउली, धनियाँ, टमाटर,बिट, लगायतका बिउ बिजन समेत किसानले पाएका छन् ।

किसानको बाक्लो उपस्थिति रहेको कार्यक्रमका सहभागीहरुले सार्वजनिक सुनुवाईमा आफ्ना धारणा राखेका थिए । उनिहरुले किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनमा अथवा पशुचौपायामा क्षति भए घाटा सम्बोधन हुने गरी सहकारीले बिमा गरिदिएमा राहात हुने धारणा राखेका थिए भने हालसम्म संस्थाको कामप्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

साना किसान कृषि सहकारी संस्था सूर्योदय नगरपालिका वडा नं १ गोर्खेकी अध्यक्ष सबिता सुब्बाको अध्यक्षता रहेको कार्यक्रममा सूर्योदय नगरपालिका आर्थिक विकास समिति संयोजक एवं वडा नं ९ का अध्यक्ष देबेन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि आचार्यले संस्था संचालनमा पारदर्शिता हुनेपर्ने बताएका छन् । उन्ले किसानलाई अनुदान दिँदा प्राथमिकता पहिचान गरिनुपर्ने बताए । किसानले प्रविधिमा जोड दिँदै उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाई थियो । नगरले बजेट र कार्यक्रम बनाउँदै गरेकाले आगामी आर्थिक वर्षमा समेत अनुदानका कार्यक्रम समेटिने उनले बताए ।

कार्यक्रममा सूर्योदय नगरपालिका विपत व्यवस्थापन समिति एवं १ नम्बर वडाका अध्यक्ष राजकुमार सेरेङ्ग र कृषि सेवा केन्द्र फिक्कल प्रतिनिधि चन्द्रा राईको विशेष आतिथ्यता रहेको थियो । सहभागीलाई स्वागत मन्तव्य राख्दै संचालक समिति सदस्य लासाङ् तामाङले कारोबार सम्बन्धमा सार्वजनिक प्रतिवेदन प्रस्तुत गरिन् । हिमालय माद्यमिक विद्यालय गोर्खेका शिक्षक गणेश कुमार खड्काले संचालन गरेको कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका वडा सभापति अर्जुन भट्टराईले बोलेका थिए ।

वि सं २०७२ अषाढ १३ गते स्थापना भएको यस संस्थामा हाल ५३१ सेयर सदस्य आबद्ध छन् भने संस्थाले १ करोड २० लाख बराबरको कारोबार गरिरहेको छ । यसअघि उद्यमशिलता र अभिमुखीकरण जस्ता थुप्रै तालिम संचालन गर्दै आएको यस संस्थाले छिट्टै किसान लक्षित अन्य महत्वपूर्ण कार्यक्रम समेत गर्ने बताएको छ । ५० प्रतिशत अनुदानमा उपयोगी सामाग्री प्राप्त भएको भन्दै लाभान्वित किसानले संस्था र परियोजनालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय