इलामःनेकपा एमाले इलामले करारका कर्मचारीहरुको सम्झौता नविकरण नगरेकोमा असन्तुष्टि जनाएको छ । एमालेले विज्ञप्ती जारी गर्दै थप करार सम्झौता नगर्ने निर्णय राजनीतिक तुष फेर्ने कार्य भएको अरोप लगाएको हो ।
नगर अध्यक्ष तिलक ठकुरीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ‘२०७९ जेठ ३० गते बसेको इलाम नगरपालिका नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिकामा कार्यरत केही कर्मचारीलाई नगरको व्ययभार कम गर्न भनि राजनितिक तुस फेर्नका लागि कम्प्युटर अपरेट, नगर प्रहरी, कार्यालय सहयोगीहरुको थप करार सम्झौता नगर्ने निर्णय दुःखद र निन्दनीय छ । जसले श्रमजिवि वर्गको रोजीरोटी खोसी पेटमा लात हान्ने काम गरेको छ ।’



एमालेले विज्ञप्तीमा अपरिपक्व, नियोजित र राजनीतिक पुर्वाग्रहको आधारमा गरिएको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विज्ञप्तीमा थप लेखिएको छ ‘ यस्ता निर्णयले दक्ष र अनुभवी कर्मचारीको अभावमा जनताले सेवा भन्दा बढि दुःख पाउने, भ्रष्टचार गर्नका लागि आधार तय पारी जनताको खुन चुस्ने गतिविधिको मञ्चन निश्चित छ ।’
एमालेले यस्ता कार्यबाट पालिकाको नेतृत्वसंग पारदर्शी, न्यायिक, पूर्वाग्रह रहित विधिको शासन र समान व्यवहार नभएको प्रमाणित भएको आरोप लगाएको छ । कार्यभार ग्रहण गरेको दुई महिना पुरा नहुँदै यस किसिमको व्यवहार नगरपालिका जस्तो साझा संस्थाबाट राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि पुर्व जानकारी विना नै गर्नु विधिको शासन माथि नै कुठाराघात हो ।’ विज्ञप्तीमा थप लेखिएको छ । एमालेले नगरको निर्णय सच्याउन समेत माग राखेको छ ।


