जाडोले १५ जनाको ज्यान गयो, सरकार भन्छः दाउरा बाँड्यौँ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

जनकपुरः माघ महिनाको चिसो बिहान, महोत्तरीको गौशाला नगरपालिका–४ की ७० वर्षीया पानो सदा र उनका पति ७५ वर्षीया जितु सदा आगो ९घुर० ताप्दै जाडो छल्दैथिए । दैलोमा बालेको घुरमा आगो निभ्नै लागेको थियो । तर न्यानोको लागि सदा दम्पती घुर घेरेरै बसेका थिए ।

तराई मधेशमा केही समययता चिसो असाध्यै बढेको छ । चिसो छल्न १६ जनाको सदा परिवारलाई असाध्यै कठिन छ । सुकुम्बासी सदा दम्पतीलाई न्यानो लुगाफाटोको अभावमा जाडो छल्न राति उखुको ‘पात’ र दिउँसो घुरको ‘ताप’ को सहारा लिनुको विकल्प छैन ।

‘ओढ्ने–ओछ्याउने गरम कपडा छैनन् । दिउँसो मजदुरी नगरे भोकै बस्नुपर्छ’ पानोले घुर छेउको खर देखाउँदै भनिन्, ‘हेर्नुस् त राति न्यानोको लागि यो ओछ्याएर सुत्छौं । दिउँसो यसरी तापेर जाडो काट्छौं । अरू केही उपाय छैन ।’

दुई महिनाअघिको चुनाव सम्झँदै उनले भोट माग्न आउने नेता कठ्याङ्ग्रिंदो जाडोमा आफ्नो अवस्था बुझ्न नआएको बताइन् । पानोसँगै कुरा गरिरहँदा उनकी छिमेकी सम्तोलिया देवी सदा दौडेर आइन् । घरमै घुर ताप्दै गरेकी उनी काखको बच्चा च्यापेरै दौडिएकी थिइन् । जाडोको कुरा गरेको सुनेपछि पक्कै पनि कोही केही दिनलाई गाउँमा नाम टिप्न आएको होला भनेर उनी दौडिएकी रहिछन् । तर उनको समस्या सुन्ने बाहेक उनलाई दिने हामीसँग त्यस्तो केहि थिएन ।

सम्तोलिया देवी सदाको ७ जनाको परिवार छ । लुगाफाटो अभावमा कठ्याङ्ग्रिनु परेको उनले सुनाइन् । ‘चार बच्चा छन्, सासू आमा हुनुहुन्छ । श्रीमान् काममा जानुहुन्छ । मजदुरी गरेन भने के खाने रु’ उनले भनिन्, ‘न्यानो लुगा छैन । जेनतेन राति ओछरा ९पराल र झारपात ओछ्याएर बनाएको सुत्ने ठाउँ०मा र दिउँसो घुर तापेर जाडो काट्छौं ।’

पानो र सम्तोलियाको परिवारको जस्तै पीडा मलहनिया पोखरी किनार र छेउछाउमा पुस्तौंदेखि बस्दै आएका ५० घर हाराहारी मुसहर समुदायको छ । आर्थिक रूपमा विपन्न उनीहरू सबैको छानो खर, परालको छ । जहाँ रातको समयमा शीत झर्छ भने न्यानो लुगाफाटोको अभावमा उनीहरू कठ्याङ्ग्रिएर रात काट्न बाध्य छन् ।

उनीहरू जस्ता विपन्न बस्तीका लागि स्थानीय सरकारसँग पनि खास कार्यक्रम छैन । गौशाला नगरपालिकाका मेयर डा। दीपेन्द्र महतो जाडोलाई लक्षित गरेर नगरभित्र विभिन्न स्थानमा दाउरा वितरण गरेको बताउँछन् ।

‘गरिब, विपन्न तथा अति विपन्न परिवारको यथार्थ विवरण हामीसँग छैन । पहिला संकलन भएको थियो रे, तर त्यसमा विश्वसनीयता छैन । त्यसैले यस पटक न्यानो लुगा बाँडेनौं । दाउरा बाँड्यौं’ मेयर महतोले भने, ‘आगामी वर्ष अति विपन्न परिवारको डाटा संकलन र जाडोको पूर्व तयारी गर्ने योजना छ ।’ मेयर महतोको यो भनाइले देखाउँछ स्थानीय सरकारको प्राथमिकताको सूचीमा साह्रै तल छन् यी विपन्न मुसहर परिवार ।

महोत्तरीको समसी गाउँपालिका–५ का सुकुम्बासी नारायण मल्लिक डोमको ११ जनाको परिवार छ । एक कट्ठा ऐलानी जग्गामा वर्षौंदेखि ओत लाग्ने खरले छाएको छाप्रो छ ।

छानाको केही भाग प्लाष्टिक र त्रिपालले टालटुल पारेको देखिन्छ । यसले कम्तीमा शीत त रोक्छ ।

नारायणको छाप्रोभित्र दुईवटा कोठा छन् । असोरा ९बरण्डा जस्तै० मा चुल्हो र खाट राखिएको छ । एकाबिहानै हामी पुग्दा असोरामै रहेको खाना पकाउने चुल्होछेउ काखे बच्चा च्यापेर नारायणका दुई बुहारी आगो ताप्दै थिए । डेढ वर्षीय नाति विशाल मल्लिकको जीउमा माथि स्वीटर थियो तर कम्मर तल नाङ्गै ।

नारायणका कान्छा छोरा विकेश असोरामै राखेको खाटमा झोक्रिएका थिए । आजको छाक के पकाउने टुङ्गो थिएन, किनकि घरमा अन्न थिएन । त्यसैले नारायण र उनकी श्रीमती जयकुमारी बिहानको छाकको प्रबन्ध गर्न काममा निस्किसकेका थिए ।

प्रदेश सरकारले पठाएको रकमबाट कम्बल खरिद प्रक्रिया थालेको र आएपछि वितरण गरिने जानकारी उनले दिए । तर माघ महिनामा नआएको कम्बल कहिले आउँछ र वितरण हुन्छ भन्ने प्रश्नको जवाफ उनीसँग मात्र होइन कुनै पनि सरकारी निकायसँग छैन ।
जेठो छोरा अशेश्वरलाई चिकित्सकले क्षयरोग लागेकोले एक्लै सुत्न सल्लाह दिएका छन् । तर दुई छोरा बुहारी र चार नातिनातिना गरी १० जनाको परिवार छ । जब सिङ्गो घर नै एउटा कोठा जत्रो छ भने कसरी अलग कोठामा सुत्नु । तैपनि एउटा कुनामा जेठो छोरा सुत्छन् भने बाँकी सबैजना अर्कोतिर गुटमुटिएर रात काट्ने गरेको बुहारी विभाले बताइन् ।

‘सानो छाप्रोमा ओढ्ना–विछ्यौनाको अभावमा हामी एउटै ठाउँमा कोचिएर सुत्छौं । जसोतसो रात कट्छ’, विभाले भनिन् ।

जाडोको कारण आफ्नो परिवारलाई समस्या भइरहे पनि कतैबाट कुनै सहयोग नभएको विकेशले गुनासो गरे । ‘चुनावमा नेता आएर यो गर्छौं र ऊ गर्छौं भने । जितेर गएपछि फर्केर हेर्दैनन्’, विकेशले दुःखेसो पोखे ।

नारायण मल्लिकको घरछेउमा दुई दर्जन घरपरिवार चमार ९महरा० समुदायको छ । उनीहरू पनि विपन्न छन् । जाडोमा कठ्यांग्रिएर रात काट्नु परेको स्थानीय राजेश्वर महराको भनाइ छ । तर, कसैले कुनै सहयोग नगरेको उनको गुनासो छ ।

यहाँ पनि यो विपन्न बस्तीमाथि न्याय गर्न कोही अघि सरेको छैन । सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवले जाडोबाट स्थानीयबासिन्दालाई बचाउन आगो ताप्न दाउरा वितरण गरेको जानकारी दिए । उनले न्यानो कपडा भने वितरण गर्न नसकेको बताए । उनले किन वितरण गर्न नसकेको हो भन्ने चाहिं खुलाएनन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ भुतही पोखरीको डिलमा छाप्रो बनाएर बसेकी कोशिलादेवी राउतको ११ जनाको परिवार छ । विपन्न भएकोले आफ्नो परिवार लुगाफाटोको अभावमा काम्दै रात बिताउने गरेको उनी सुनाउँछिन् ।

कतिसम्म भने स्थानीय संघ–संस्था वा सरकार केही राहत वा लुगाफाटो वितरण गर्न आउँदा पनि आफूहरू वञ्चित हुने गरेको कोशिलाको गुनासो छ । यहाँ पनि सरकारी निकायको उही भनाइ छ–‘दाउरा वितरण ।’

जनकपुरधाम उपमहानगरपालिका र जिल्ला वन कार्यालय धनुषाले शीतलहरमा केही दिन चोक–चोकमा घुर बाल्न दाउरा वितरण गरेको बताएका छन् ।

पानो सदा, सम्तोलिया सदा, नारायण मल्लिक डोम र कोशिला राउत उदाहरण मात्रै हुन् । उनीहरू जस्ता गरिब, दलित तथा विपन्न परिवारलाई यो जाडोले नराम्ररी पिरोलेको छ । उनीहरू कठ्यांग्रिएर जाडो काट्न बाध्य छन् ।

जाडोले मधेश प्रदेशमा १५ जनाको मृत्यु

मधेशका गरिब परिवार जाडो छल्ने मुख्य साधन आगो हो । न्यानो लुगाको अभावमा कठ्यांग्रिएर र आगो ताप्ने क्रममा जलेर मधेश प्रदेशमा २०७९ मंसिरयता मात्रै १५ जनाको मृत्यु भइसकेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमिल्सिनाका अनुसार जाडोले कठ्यांग्रिएर ४ महिला र ५ पुरुषसहित ९ जनाको मृत्यु भएको छ । सबभन्दा बढी सर्लाहीमा ६ जनाको कठ्यांग्रिएर मृत्यु भएको छ । धनुषा, सप्तरी र रौतहटमा १–१ जनाको मृत्यु भएको एसपी तिमिल्सिनाले बताए ।

यस्तै जाडो महिनामा आगो ताप्ने क्रममा जलेर ६ जनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा पाँच जना महिला छन् भने एकजना पुरुष । ११ जना महिला भने जलेर घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

तर, तीनवटै तहका सरकारले शीतलहरबाट गरिब तथा विपन्न परिवारलाई जोगाउन वास्ता गरेको देखिंदैन । कसैले केही दाउरा वितरण गरेको त, केहीले न्यानो लुगा बाँड्ने काम गरेको देखाउने गरेका छन् । तर यस्तो सहयोग पनि विपन्न बस्तीसम्म पुग्ने गरेको छैन ।

मधेश प्रदेश सरकारको गृह तथा संचार मन्त्रालयले आठवटै जिल्लामा जाडोबाट नागरिकलाई जोगाउन ८र८ लाख रुपैयाँ वितरण गरेको दाबी गरेको छ । तर त्यो रकम कहाँ, कसरी वितरण भयो भन्ने पारदर्शी विवरण उपलब्ध छैन ।

जिल्ला प्रशासन कार्यालय, धनुषाले अति विपन्न परिवारका लागि विपद् कोषबाट ब्ल्यांकेट र कम्बल वितरण गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनका अनुसार जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिका र सबैला नगरपालिकाका विपन्न परिवारलाई एउटा–एउटा ब्ल्यांकेट र दुईरदुई वटा म्याट वितरण गरिएको छ । न्यानो लुगा बाँड्ने क्रम जारी रहेको उनले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले केही संख्यामा न्यानो कपडा वितरण भएको बताए । प्रदेश सरकारले पठाएको रकमबाट कम्बल खरिद प्रक्रिया थालेको र आएपछि वितरण गरिने जानकारी उनले दिए । तर माघ महिनामा नआएको कम्बल कहिले आउँछ र वितरण हुन्छ भन्ने प्रश्नको जवाफ उनीसँग मात्र होइन कुनै पनि सरकारी निकायसँग छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय