मनोज अधिकारी
फिक्कलः शारिरिक रुपमा अशक्त भएर ओछ्यान परेकाहरुलाई दशैँको मुखमा नगद धम्याउँदा अनुहार उज्यालो देखियो । अनेक रोगले थलिएर बर्षौदेखि परिवारको साहारामा बाँचिरहेका सूर्योदय नगरपालिका–१ मकर्जुङका ६ जनालाई दशैँ आएको छ ।
दशैँ शुरु भएको चौथो दिन दिउँसो खाटमा सुतिहेका हर्क बहादुर खाप्तुवाको चेहेरा चम्किलो भयो । हातमा दिएको नगद समाउँदै उनी मुसुक्क मुस्काए ।
सुवास राई हिँडडुल गर्न मात्र होईन बोल्न समेत नसक्ने भएको निक्कै बर्ष भयो । उनलाई छोरा,बुहारी र श्रीमतिले दिसापिसाव गराउने,खाना खुवाउने र सरसफाईको काम गरिदिन्छन् । कसैले बोलाउँदा प्रतिकृया जनाउन समेत नसक्ने स्थितिमा पुगेका सुवास कुनैबेला गाउँकै युवापुस्ताको उर्जा र उत्प्रेरणाको श्रोत बनेर खेलकुद र मनोरञ्जनमा सबैलाई हौसला प्र्रदान गर्दथे । हक्की स्वभावका उनी ओछ्यानमा सुतिरहँदा नगद प्राप्त गरे । मनमा खुसी पक्कै भए होला तर उनले खुसी भएको प्रतिक्रिया जनाउन सकेनन् ।
पदम पौडेल जन्मजात आँखा देख्दैनन् । चार पाउले घस्रिएर हिँड्ने उन्को बोली प्रस्ट छैन । ४० बर्षका उनलाई आमा चन्द्रमाया पौडेलले स्याहारसुसार गर्ने गर्छिन् । उनले दशैँमा नगद पाए । घरमा पैसा दिएको थाहा पाएर उनको खुसीले गगन चुम्यो ।
७५ बर्षीय होमनाथ रिजाल गत बर्ष देखि प्यारालाइस भएर ओछ्यानमा छन । उनले पनि नगद पाए । चाउरिएको अनुहारमा चमक देखियो । ब्रेन ट्युमर भएकी कोकिला खतिवडालाई उपचारमा समस्या छ । थारै भएपनि दशैँ खर्च पाउँदा उनले राहात महशुष गरिन् । जवान छोरा र श्रीमान गुमाएर एक्लै भएकी मनमाया दाहाललाई आर्थिक समस्या छ । उनले पनि दशैँ खर्च पाईन ।
योे आर्थिक सहयोग तीन तहका कुनै सरकारले दिएको होइन । कुनै गैर सरकारी संस्था वा निकायले दिएको पनि होइन । लामो समय नेपालमा भुटानी सरडार्थीका रुपमा बसेर हाल अमेरिकामा बसोबास गरिरहनुभएका घनश्याम रिजालले पठाउनु भएको हो ।
मानवीय सहयोग गर्नुलाई आदत ठान्ने गर्नुभएका उहाँले यहाँ मात्र होईन नेपालका कुनाकुनामा छरिएका दुःखी विपन्न र गरिब परिवारलाई आर्थिक सहयोग गर्ने गर्नुभएको छ ।
सूर्योदय नगरपालिका–१० का विकास सुवेदीसंग परिचय भएपछि उहाँ मार्फत मकर्जुङका ६ जनालाई २६ हजार ५९१ रुपियाँ हस्तान्तरण गरिएको मकर्जुङका गणेश कुमार खड्काले बताउनु भएको छ । श्री हिमालय माद्यमिक विद्यालयका शिक्षक खड्का, शिक्षक याम यामप्रसाद पोखरेल, सहजकर्ता सवारी चालक सुवेदी र स्थानीय रबिन सापकोटाको टोलीले बिहिबार ६ जनाकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेकोे थियो । यो पुण्यकर्म गर्ने महान दानी ब्यक्ति र सहजीकरण गर्ने सबैजनालाई इलाम खबर डटकम परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।