दुग्ध पदार्थ बिक्री नहुँदा कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

डेरीसम्म घोडामा दुग्ध ढुवानी गर्दै कन्यामका किसान ।

मनोज अधिकारी,इलाम,०९ पुस(रासस)ः सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराइले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर ब्यवसायीक दुग्ध उत्पादन गरिरहनुभएका भट्टराइले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुुन्छ । तर, पछिल्लो समयमा डेरीमा थन्किएको घिउ छुर्पी देख्दा उहाँको मनमा चिसो पस्न थालेको छ । ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएला जस्तो छ ।’ उहाँ भन्नुहुन्छ, ‘दुग्ध बिकेन भने किसानले हातमुख कसरी जोड्ने?घर–घरमा अभाव छिर्ने खतरा बढ्यो ।’

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घिउ र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीलेसमेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । जसका कारण कृषकहरू अप्ठ्यारोमा परेका छन्।

‘यसअघि गुणस्तरको आधारमा प्रतिलिटर ७० रुपैयाँसम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० रुपैयामा चित्त बुझाउनु परेको छ ।’ सूर्योदय नगरपालिका–१ मकरजुङका किसान जिवन पोखरेल भन्नुहुन्छ, ‘न समयमा पेमेन्ड हुन्छ,सबै उद्योगहरुमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होला जस्तो भैसक्यो ।’ इलाममा दुग्ध विकास संस्थान (डीडीसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब ४ हजार परिवार कृषकको यस्तै ब्यथा छ ।

सूर्योदयका दुग्ध ब्यवसायी अमृत पाण्डेले घिउ छुर्पी बिक्री नभएपछि निजी डेरीहरूले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको बताउनु भयो । सनराईज डेरी उद्योगमा दैनिक दुग्ध संकलन गर्दै आउनुभएका पाण्डेसंग हाल घिउ छुर्पी स्टक रहेको छ । उहाँ भन्नुहुन्छ, ‘सकेसम्म ऋण लिएर पनि किसानको भूक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भैसक्यो ।’

आयोजनाले पनि घिउ, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घिउ र पाउडर गरेर १ सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिनुभयो । ‘भण्डारण कक्ष कुनै खाली छैनन्।’ उहाँले भन्नुभयो, ‘बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक संकलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपुर्ण बन्दै गएको छ ।’

पशुलाई दाना खुवाउन पनि ऋण काड्नु पर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीहरुले दुध लिनै छोड्छन् की भन्ने डर शुरु भएको बताउनुभयो ।उहाँलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे शुरु हुने आशंका छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘डीडीसी सरकारको निकाय हो, उसले किसानको दूध अस्विकार गर्न मिल्दैन।’

आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताउनुभयो । ‘आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ ।’ उहाँले भन्नुभयो । गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो।

दुग्धपदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिना देखिको दूधको ३० करोड रुपयाँ भुक्तानी दिन नसकेको चौधरीले स्विकार गर्नुभयो । उहाँका अनुसार,आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक ५ हजार लिटर स्थानीय बजारमा खपत भएपनि अरू प्रशोधन गरेर घिउ र पाउडर दूध बनाउने गरिएको छ ।

आयोजनाले इलामबाट दैनिक ८ हजार लिटर, झापाबाट ५ हजार लिटर, धनकुटाबाट ६ हजार लिटर, तेह्रथुमबाट २ हजार लिटर, आयोजना आसपासका कृषकबाट १ हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ। २०३० सालदेखि दुग्ध संकलन गर्दै आएको छ। पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता १ लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ ।

विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध संकलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ। निजी डेरीमा मात्रै १ हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन्। इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध संकलन गर्ने आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दुग्ध बिक्री हुने गरेको छ। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ। ललिपप, बम्बैसन जस्ता मिठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा सम्लग्न व्यवसायीहरू वताउँछन्। इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।

इलाममा वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३ सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ। गाई पालनमा किसानको ठूलो लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय संकटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघ इलाम अध्यक्ष विष्णु दुलालले बताउनुभयो ।–––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय