फिक्कलः निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) सूर्योदय नगर कार्य समितिको आयोजनामा भोलि (बुधबार) बाट अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने भएको छ । प्राथमिक तह कक्षा एक देखि पाँचसम्म र आधारभूत तह कक्षा एक देखि आठसम्मका विद्यार्थीहरुबिच दुई विधामा प्रतियोगिता हुन लागेको हो । आगामी पुस २४ गते पर्ने ३३ औँ प्यावसन दिवसको अवसरमा फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा नगरभित्रका २० वटा संस्थागत विद्यालयहरुको सहभागिता रहने खेल संयोजक एवं पिसलेन्ड नेशनल एकाडेमीका प्रिन्सिपल अनिल राईले जानकारी दिनुभएको छ । राईका अनुसार आगामी पुस २४ गते ३३ औँ प्यावसन दिवसको अवसरमा प्रतियोगिताको समापन गरिनेछ ।
भोलि प्यावसन नेपालका केन्द्रीय उपाध्यक्ष युवराज वाशिष्टले कार्यक्रमको उत्घाटन गर्ने कार्यतालिका छ । प्राथमिक तह कक्षा एक देखि पाँचसम्मको उत्घाटन खेल सनराईज इङ्लिस स्कुल र गोल्डेन फ्युचर एकाडेमी बिच हुनेछ भने दाश्रो खेल अन्तु एकाडेमी र गोल्डेन हेवन एकाडेमी बिच हुने राईले जानकारी दिनुभएको छ ।
त्यसैगरि आधारभूत तह कक्षा एक देखि आठसम्मको पहिलो खेल गोल्डेन हेवन एकाडेमी र सनराईज इङ्लिस स्कुल साथै दोश्रो खेल अन्तु एकाडेमी र साईज्योति इङ्लिस स्कुलबिच हुनेछ ।
सूर्योदय नगरपालिका–११ स्थित तीनघरे फुटबल खेल मैदानमा हुने प्रतियोगिताको समापन अवसरमा म्याराथोन दौड आयोजना गरिने छ । छात्रहरु कन्यामबाट फिक्कलसम्म र छात्राहरु आईतबारे बजारबाट फिक्कलसम्म दौडिने छन् ।
विजेतालाई नगद सहित ट्रफि मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रम समापनको अवसरमा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत आउने बताईएको छ ।