इलामःओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेश स्तरीय अन्तर स्थानिय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले उपाधि जितेको हो ।
जितसँगै माङ्सेबुङले नगद पाँच लाख सहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ शिल्ड साथै मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको सेमिफानलिष्ट सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र लालिगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाण–पत्र पुरस्कार वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।
कृषि पर्यटन र युवाहरुमा रोजगारी साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेश स्तरिय स्थानिय तह अध्यक्ष कप फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाई छ । प्रतियोगितामा कोशी प्रदेशका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानिय तहको सहभागीता रहेको आर्थिक संयोजक रामकुमार राईले जानकारी दिनुभयो ।
प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बु र उत्कृष्ट खेलाडीको उपाधी मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको राईले बताउनुभयो ।
विजेतालाई कोशी प्रदेश खेलकुद समितिका सदस्य सचिव हंशराज वाग्ले, संविधान सभा सदस्य पुर्व सांसद यज्ञराज सनुवार, राष्ट्रिय गानका सर्जक ब्याकुल माईला ९प्रदिपकुमार राई० लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । गोरखापत्र अनलाईन