इलामः सूर्योदय नगरपालिकामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । करफोक विद्या मन्दिर माध्यमिक बिद्यालयको खेलमैदानमा बुधबारबाट नगर स्तरीय छनौट प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलालले सूर्योदय नगरपालिकाले विद्यालय खेलकुदमा गरेको लगानीले समग्र जिल्ला खेलकुदमा उर्जा प्रदान गरेको बताउनुभयो ।
उहाँले जिल्लाका दश पालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट चरणको प्रतिष्पर्धा यतिबेला केहि पालिकामा सम्पन्न भएको र केहिमा हुँने तयारी रहेको जानकारी दिनुभएको छ । माई नगरपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकामा बिद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भैसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भैरहेको बास्तोलाले जानकारी दिनुभयो ।
सूर्योदयमा पहिलो दिन विभिन्न आठ वटा इभेन्ट सम्पन्न भएका छन् । तीमध्ये पाँच स्वर्ण, एक रजत र एक कास्य सहित करफोक विद्या मन्दिर माध्यमिक विद्यालय पहिलो स्थानमा रहेको छ । त्यसैगरी एक स्वर्ण र तीन रजत सहित फिक्कल नमूना माध्यमिक विद्यालय दोश्रो स्थानमा रहँदा एक स्वर्ण, एक रजत र दुई कास्य सहित वीरेन्द्र मा वि तेस्रो स्थानमा रहेको छ । एक स्वर्ण र एक रजत सहित कृष्णाश्रम मा वि चौथो स्थानमा रहँदा एक रजत र एक कास्य सहित जनक मा वि पाँचौं स्थानमा रहेको छ ।
सूर्योदय नगरपालिकाको सामाजिक विकास समितिका सदस्य तथा वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार बस्नेतले आजको विद्यालय खेलकुद नै भोलिको नेपालको खेलकुदको आधार रहेको बताउनुभयो । नगर खेलकुद विकास समितिका संयोजक सौरभ आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति इलामका उपाध्यक्ष खेमकुमारी राई, कार्यालय प्रमुख नारायण भट्टराई नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको थियो । नगरको शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगिता माघ १२ गते समापन हुनेछ ।
सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिए पछि इलाम जिल्लाका गाउँ–गाउँमा खेलकुदको क्रेज बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड जिल्ला खेलकुद बिकास समितिको पहलमा गत सालबाट ग्रामिण क्षेत्रमा आयोजना गर्न थालिए पछि जिल्लाका गाउँ–गाउँमा खेलकुदको क्रेज बढेको हो ।
इलामका सबै पालिकाले खेलकुदमा बजेटको ब्यवस्था गरी पालिका स्तरीय प्रतियोगिताको आयोजना संगै बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी समेत थालेका छन् । राष्ट्रपति रनिङ शिल्डको उपाधी चुम्नका लागि बर्षै भरी खेलकुदका बिभिन्न प्रतियोगिता पालिका स्तरमा गर्न थालिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बास्तोलाले जानकारी दिनु भयो । बास्तोलाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको माङसेबुङ गाउँपालिकामा फागुनको पहिलो साता आयोजना हुँने बताउनुभएको छ ।
ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले गत बर्षको १३ औं राष्ट्रपति रनिङ शिल्ड इलामको बिकट मानिने फाकफोकथुम गाउँपालिकामा आयोजना गरीएको थियो । गाम्रिण क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दा २० देखि २५ लाख रुपियाँ खर्च लाग्ने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् ।