इलाम,१६फागुनः सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ बर्षीय निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । ‘भारतको मानेभन्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु ।’ लमुले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरु बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।
पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरी, लगायत ठाउँमा केही बर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो ।
जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ बर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो । ‘सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो,उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन ।’ शेर्पाले भन्नुभयो ।
अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभन्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको १५ देखि १८ हजार भारतीय रुपियाँ खर्च हुने गरेको मानेभन्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले बताउनुभयो । डोमाले भन्नुभयो, ‘आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, काम कुरो सबै बर्बाद भएको छ ।’
जौबारीको मात्रै होइन माईजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५, कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिनुभएको छ । जसका कारण उक्त क्षेत्रका नानीलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उहाँले जानकारी दिनुभयो ।
लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा आलेभन्ज्याङ, नुनथला इङ्ला गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ । यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । इलामको जौबारी, मेघमा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन्।
भारतीय विद्यालयमा आफ्ना नानी भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिनुभयो । सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभन्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिनुभया े। लामाले भन्नुभयो, ‘नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो ।’
यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमान जस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालयनजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासोसमेत देखाएका छैनन् ।
गाउँमा विद्यालय नभएकोले यहाँका बालबालिकाले शिक्षाको आरम्भ भारतीय स्कुलबाटै गर्नुपर्ने बाध्यता छ । जनगण मन अधिनायक जय हे, भारत भाग्य विधाता’ भारतको यही राष्ट्रिय गीत हौसलपुरका स्कुले बालबालिकाको ओठ–ओठमा झुन्डिएको छ । भारतको इतिहास र भूगोलबारे पढ्नुपर्ने बालबालिकालाई आफ्नै देश नेपालको नक्सा कस्तो छ भन्नेसम्म थाहा छैन । उनीहरू नेपाली भाषामा बोल्न पनि जान्दैनन् । विद्यार्थी रोशनी शेर्पाले नेपालको बारेमा कुनै जानकारी नभएको बताउनुभयो । नेपाली हुँ भन्ने थाहा छ’ उहाँले भन्नुभयो, तर नेपालको बारेमा थाहा छैन । नेपाली शिक्षाको अभावमा आफनो देशलाई चिन्न अवसर पाउन नसकेको जौबारी गाउँका अगुवा युवा रोशन शेर्पाले बताउनुभयो । उहाँ गाउँमा एउटा प्राथमिक विद्यालय स्थापनाको माग गर्दै आएको बताउँनुहुन्छ । बालबिकास केन्द्र पनि पाउन नसकेको उहाँको गुनासो छ ।
यस गाउँवासीले स्वास्थ्य उपचारका लागि पनि भारतका सिमावर्ती स्वास्थ्य चौकीबाटै सेवा लिनु परेको छ । शेर्पाले भन्नुभयो, ‘हामीले भारतमै पढ्न र भारतमै जागिर खोज्नु परेको छ ।’ नेपाली नागरिक भएकाले भारतमा निजी कम्पनीमा जागरि खानु परेको उहाँको भनाई छ । उहाँले नेपालमा भारतको शैक्षिक प्रमाणपत्रको महत्व पनि कम गर्ने, सम्वन्ध र पहुँच पनि नहुने भएकोले यतै पढ्यो, यतै जागिर खोज्नु पर्ने अवस्था सुनाउनुभयो । स्कुल, स्वास्थ्य चौकी, लगायतका विकासका पूर्वाधार पुरा हुनुपर्ने उहाँको माग छ । हाल सरकारी कामकाजबाहेक यस क्षेत्रका मानिसको सम्वन्ध भारतसंग मात्र रहेको उहाँले बताउनुभयो ।