अतिथिलाई खोयाको माला बनाउँदै सन्दकपुरका महिला

द्वारा प्रकाशित गरिएको हो |
२०८१ श्रावण ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम– झट्ट हेर्दा ज्यादै आकर्षक माला । एउटै मालामा रातो, नीलो, पहेंलो, सेतो, कालो सबैखाले रंग मिसिएको । जो–कोहीलाई लाग्नसक्छ– यतिको सुन्दर माला बनाउन त फूल पनि रंगबिरङकै खोज्नुपर्छ, खर्च पनि उत्तिकै

तर, तरिका पुर्‍याउने हो भने यस्तो आकर्षक माला बनाउन न धेरै रकम खर्चिनुपर्छ, न रङबिरङका फूल नै चाहिन्छ । गाउँघरमा उत्पादित वस्तु नै प्रयोग गरेर सुन्दर माला, ब्याजलगायत पाहुनालाई सत्कार गर्ने सामग्री बनाउन सकिन्छ भन्ने देखाएका छन् इलामे महिलाले ।

इलामको सन्दकपुर गाउँपालिकाका महिलाले बनाएको मकैका खोयाको माला अहिले धेरैका लागि अनौठो छ । मकै छोडाएर खेर फालिने खोयाबाट पनि यस्तो आकर्षक माला बनाउन सकिन्छ भन्दा पत्याउन पनि मुस्किल पर्छ । तर, सन्दकपुरका बासिन्दा भने अचेल ठूला समारोहहरूमा खोयाकै माला प्रयोग गर्छन् । उनीहरू अतिथिलाई पनि खोयाकै माला लगाइदिन्छन् । स्टेज सजाउन बजारबाट महँगा सामान र फूल झिकाउनुपर्दैन ।

मालाको भित्रपट्टि धागो हुन्छ । धागोमा खोयाका आधा इन्चसम्मका टुक्रा जोडिन्छन् । जोडिएका टुक्राका बीचमा रंगीचंगी फाइबर ९कुहिने वस्तु०का टुक्रा लगाइन्छ । खोलाका टुक्रामा विभिन्न रंग लगाएपछि माला तयार हुन्छ । स्थानीय लीला भट्टराई यो माला तयार गर्न धेरै खर्च पनि नलाग्ने बताउँछिन् । ‘गाउँघरमा मकैका खोया नास भएर जान्छन्, तिनै खोयाबाट हामी माला बनाउँछौं,’ होमस्टे एसोसिएसनको कोशी प्रदेश अध्यक्षसमेत रहेकी भट्टराईले भनिन्, ‘खोयाको माला न कहिल्यै ओइलाउँछ, न यो उत्पादनमा धेरै खर्च नै लाग्छ ।’

गाउँघरमा प्रायः सभा–समारोह आयोजना गर्नुपरे टाढाका बजार नै किन नहुन्, त्यहाँबाट कृत्रिम फूलका माला, खादा, कागज र वरिपरि रिबन सिलाइएका ब्याजलगायत भिकाउने गरिन्छ । कार्यक्रम ‘भव्य’ बनाउने नाममा मोटो रकम खर्चेर तडकभडक गर्ने चलन छ । तर, इलामका गाउँमा भने यो चलन विस्तारै हटाउन महिला नै सक्रिय हुँदैछन् । सिजनमा गाउँमै उत्पादन हुने सयपत्री, मखमली, फूल उत्पादन नभएका बेला स्थानीय उत्पादनकै प्रयोग गर्ने बानी विकास हुँदैछ ।

सूर्योदय नगरपालिका–३, बौद्धधाममा केही महिनाअघि आयोजित एक साहित्यिक कार्यक्रमका अतिथिलाई मकैका खोसेलाको ब्याज लगाइयो । खोसेलालाई आकर्षक तरिकाले बुट्टेदार गोलो बनाएर बीचमा फाइबरको टुक्रा गाँसिदिएपछि आकर्षक ब्याज बन्छ । स्थानीय कुमारी राईले भनिन्, ‘यो ब्याज बजारमा बनाउँदा प्रतिगोटा ५० देखि सय रुपैयाँ खर्च हुन्छ । घरगाउँमा वस्तभाउलाई खुवाइने खोसेलाबाट हामीले चाहिँ आकर्षक ब्याज बनाएका हौं ।’

गाउँघरमा कागजको ब्याज बनाउनुको सट्टा पीपलको पातमा अक्षर लेखेर पनि बनाउन थालिएको छ । पीपलको पात आफैंमा उपयुक्त आकारको हुने भएकाले पनि त्यसमा रंगले अक्षर लेखेर ब्याज बनाउन सकिन्छ । कार्यक्रमहरूमा हुने अनावश्यक खर्च घटाउन र स्थानीय उत्पादनको बजारीकरण गर्न पनि यस्ता कामले सघाउने उनीहरू बताउँछन् ।

टाढाका सहर र गाउँबाट कुनै पनि गाउँ पुग्ने अतिथि हुन् या पर्यटक, उनीहरू आफू पुगेको गाउँको रैथाने चिजवस्तु नै चाहन्छन् । खानेकुरा होस् वा अन्य कुनै उपभोग्य वस्तु, प्रायः पाहुनाले रैथाने नै खोज्ने गरेको भट्टराई बताउँछिन् । ‘औपचारिक कार्यक्रममा आउने जिल्लाका पाहुना हुन् वा गाउँ घुम्न आउने पर्यटक, उनीहरू स्थानीय विशेषताप्रति चासो राख्छन्,’ भट्टराईले सुनाइन्, ‘हामीले पनि उनीहरूमार्फत् स्थानीय वस्तुकै ब्रान्डिङ र बजारीकरण गर्नुपर्छ ।’

स्थानीय उत्पादन प्रयोग गर्दा तुलनात्मक हिसाबले खर्च पनि ज्यादै कम लाग्नेगरेको उनीहरू बताउँछन् । ‘खोयाको माला, खोसेला र पीपलको पातको ब्याजजस्ता सामग्री बनाउन यति नै खर्च लाग्छ भन्ने ठ्याक्कै हिसाब त नआउला तर बजारबाट किनेर ल्याउनेभन्दा निकै सस्तो पर्छ,’ भट्टराईले भनिन्, ‘पाहुनाले पनि नयाँ काम देख्न पाउँछन् ।’

असार १५ मनाउन खेतमा पुगेका अतिथिलाई धानको बीउको माला लगाइदिँदा लगाउनेहरू सामाजिक सञ्जालमा निकै आलोचित भएका घटना आलै छन् । केही वर्षअघि चिया दिवस मनाउनेक्रममा इलामै पनि अतिथिलाई चियाका मुनाको माला लगाउँदाको घटनासमेत आलोचनाबाट टाढा रहन सकेन । नासिएर जाने वस्तुको सदुपयोगले इलामका महिलालाई भने आम्दानीको बाटोमात्र बनाएको छैन, नयाँ कामको सुरुआत पनि हुँदैछ ।

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेल स्थानीय उत्पादनको कलात्मक बजारीकरणबाट पनि रोजगार बन्न सघाउ पुग्ने बताउँछन् । इलामजस्तो पर्यटकीय जिल्लाका गाउँघरका स्थानीय उत्पादनले स्वरोजगार बन्न सहयोग गर्ने पौडेलको भनाइ छ । from palikapage.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय