पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको पाँच वर्षपछि बन्द

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम– पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको पाँच वर्षपछि बन्द भएको छ ।

संघीय सरकार मन्त्रिपरिषद्को कात्तिक ८ मा बसेको पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय र यहाँको सीमा प्रशासन कार्यालयसमेत खारेज गर्ने निर्णय गरेको हो । तर, दुवै कार्यालयलाई एकीकृत ९मर्ज० बनाएर सञ्चालन गर्नेगरी यी कार्यालय खारेज गरिएका हुन् ।

अब नागरिकता वितरणसहित सीमा प्रशासनले गर्दै आएको काम र अध्यागमन कार्यालयले गर्नुपर्ने काम मर्ज भएको कार्यालयबाट हुने भएको छ ।

यी कार्यालयलाई मर्ज गर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षणमा संघीय मामिला मन्त्रालयको प्रतिनिधिसमेत रहेका रूपनारायण खतिवडाले अब एकीकृत कार्यालयबाट अझ प्रभावकारी सेवा दिने उद्देश्यले ती कार्यालय मर्ज भएको जानकारी दिए ।

कात्तिक ८ को मन्त्रिपरिषद् बैठकको निर्णयमा लेखिएको छ– ‘सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने । साथै, अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।’

पशुपतिनगरका बासिन्दाको वर्षौंको दबाब र प्रतीक्षापछि सरकारले २०७६ वैशाख १५ मा पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज गर्न अध्यागमन कार्यालय खोलेको थियो ।

तत्कालीन गृहमन्त्री रामबहादुर रानामगरले पशुपतिनगरमै हेलिकप्टरमा आएर ‘पूर्वीपहाडको ढोका’का रूपमा रहेको पशुपतिनगरमा अध्यागमन कार्यालय उद्घाटन गर्दा इलाममात्र नभई पूर्वीपहाडी जिल्लाका बासिन्दा हर्षित थिए ।

उनले त्यसबेला भनेका थिए– ‘पूर्वीपहाडको यो ढोका पर्यटकको मात्र होइन, मुलुककै विकास र समृद्धिको ढोका हो ।’

तर, भारतपट्टि उही प्रकृतिको कार्यालय नखुलेपछि यो कार्यालय पाँच वर्षसम्म कामविहीन थियो । यहाँ दरबन्दीअनुसार कर्मचारी पनि थिएनन् ।

पशुपतिनगरमा अध्यागमन खुलाउन स्थानीय उद्योग वाणिज्य संघ, सरकारी तथा गैरसरकारी संघ–संस्था, स्थानीय अगुवा र पर्यटनसँग सरोकारवालाले वर्षौंदेखि प्रयास गरेका थिए । सूर्योदय नगरपालिकासमेतको अगुवाईमा पटक–पटक संघीय सरकारको ध्यानाकर्षण गराउँदामात्र यहाँ अध्यागमन खुलेको थियो ।

पूर्वमा भारतसँग जोडिएका पाँचथर र ताप्लेजुङमा पशुपतिनगरजस्तो सहज भौगोलिक अवस्था छैन । त्यसैले पनि पशुपतिनगरको अध्यागमन पूर्वीपहाडकै निकै महत्वपूर्ण थियो ।

यहाँको सीमा प्रशासन कार्यालयले भने नागरिकता वितरणलगायत सेवा दिइरहेको थियो ।

अब खुल्ने एकीकृत नयाँ कार्यालयले दुवै सेवा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय