इलामः पत्रकार महासंघ इलाम शाखाले तयार पारेको पुस्तक ‘इलाम’ को विमोचन गरिएको छ । मंगलबार इलाम सदरमुकाममा आयोजित एक समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले पुस्तक विमोचन गरे ।
इलामको पत्रकारिता र समग्र जिल्लाको इतिहास समेटेर जिल्ला शाखाले पुस्तक तयार पारेको छ ।
‘हामीले इलामको पत्रकारिताको इतिहास खोज्ने कार्य प्रारम्भ गरेका छौ’, महासंघका अध्यक्ष विप्लव भट्टराईले भने, ‘यो पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज हो, यहाँ समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।’
तीन खण्डमा विभाजन गरिएको यो कितावमा ४६ जना लेखकहरुको विचार समावेश छ । २ सय ६२ पृष्ठ लामो किताबलाई इलामको पत्रकारिता जीवन्त अभिलेख उपमा दिईएको छ ।
पुस्तकमा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, समस्या, सम्भावना, चुनौतीका साथै जिल्ला र विभिन्न पालिकाहरुको परिचय समेटिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
पुस्तकमा खण्ड(१ मा पत्रकारितासँग सम्बन्धि आलेख ३० वटा, खण्ड(२ मा इलामसँग सम्बन्धित १६ वटा आलेख र खण्ड(३ मा इलामका १० वटा पालिकाको परिचय समेटिएको छ ।
नेपाल पत्रकार महासंघ इलामले पहिलो पटक यो पुस्तक प्रकाशन गरेको हो । महासंघले पहिलो चरणमा पाँच सय प्रति पुस्तक प्रकाशन गरेको हो ।
यस्तै पुस्तक विमोचन कार्यक्रमकै अवसर पारेर पत्रकार महासंघ इलाम शाखाको आधिकारिक वेबसाईट www.fnjilam.org समेत सार्वजनिक गरिएको छ ।