इलामः सूर्योदय नगरपालिकामा सञ्चालित केही होटल तथा लजहरूमा अवैध बालश्रम, बालबालिकालाई मदिरा तथा धूम्रपानजन्य सामग्री बिक्री वितरण तथा यौन शोषणजस्ता गम्भीर घटनाहरू भइरहेको सूचनाप्रति मानव अधिकार एलायन्स सूर्योदय नगर कार्य समितिले गहिरो चिन्ता व्यक्त गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
मानव अधिकार एलायन्सका अध्यक्ष शरण फागोका अनुसार नगरपालिका क्षेत्रभित्र यस्ता गैरकानुनी गतिविधिहरू व्यापक रूपमा भइरहेका छन् भन्ने सूचनाहरू प्राप्त भएका छन्। ‘यी गतिविधिहरू नेपालको प्रचलित कानुनविपरीत छन् र यसमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्छ ।’ फागोले बताए।



एलायन्सका सचिव जीवन अधिकारीले यस्ता घटनाहरूको रोकथामका लागि तत्काल प्रभावकारी नीतिगत तथा प्रशासनिक उपायहरू अपनाउन आग्रह गरे।
यस विषयमा प्रतिक्रिया दिँदै नगरप्रमुख राईले आफूहरू यस्ता विषयमा संवेदनशील रहेको जनाउँदै, समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वयमा कार्य गरिने बताए।
नगर उपप्रमुख दुर्गाकुमार बरालले समस्यालाई नजिकबाट अध्ययन गरी सामाजिक विकृतिको रुपमा हटाउने प्रतिबद्धता व्यक्त गर्दै, सबै नागरिकलाई सहयोग गर्न आह्वान गरेका छन्।
यसैबीच, वडा नं। १० का वडाध्यक्ष पेम उर्गेन लामाले होटल तथा बजार क्षेत्रमा निगरानी बढाइने बताए ।
मानव अधिकार एलायन्स तथा स्थानीय नेतृत्वबीचको यस साझा प्रयासले सूर्योदय नगरपालिकालाई सुरक्षित क्षेत्र बनाउन टेवा पुग्ने विश्वास लिइएको छ।


