मनोज अधिकारी
२५फागुन,इलामः इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका निस्कल राई निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई ९११ मतान्तरले पराजीत गर्दै राई ३५ बर्षको उमेरमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँलाई निर्वाचन प्रमाणपत्र वितरण गर्ने तयारी भईरहेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताउनुभयो ।
कांग्रेसका राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका नेम्बाङले मत १३ हजार ६ सय ३२ प्राप्त गर्नुभएको अधिकृत भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार नेकपा एमालेका काजिमान कागतेले ११ हजार ९ सय ६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६० मत, र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले ७ हजार ६ सय ६५ मत प्राप्त गर्नुभएको छ ।



प्रतिनिधिसभा क्षेत्र नं १ मा सूर्याेदय नगरपालिका, माई नगरपालिकाका १, २, ३, ४, ५, ९ र १०, सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका छन् । एक लाख १२ हजार ३२० मतदाता रहेको यस निर्वाचन क्षेत्रमा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ उम्मेद्वार प्रत्यासी थिए ।
सो क्षेत्रमा ०७९ को चुनावमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ६४ मतान्तरले पराजीत गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको थियो । तत्कालिन नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकेर नेकपा (एमाले)का तत्कालिन जिल्ला अध्यक्ष महेश बस्नेत विजयी बन्नुुभएको थियो । बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत मत ल्याउनुभएको थियो । वि.सं २०५६ सालमा नेपाली कांग्रेसका बेनुपराज प्रसांईले जितेयता कांग्रेसको यो दोश्रो जित हो ।
व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति समेत हुनुहुन्छ । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नुभएका उहाँ पूर्वक्षेत्रीय सहसचिवसमेत भइसक्नुभएको छ ।
शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराउनुभएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।
स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएका उहाँ अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् । यही निरन्तरताको परिणामस्वरूप, ३५ वर्षको उमेरमै उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।
उहाँले कृषि, पर्यटन, व्यवसायलाई केन्द्रित गरेका योजनाहरू अघि सार्नुभएको छ । ‘इलाम पहिलेदेखि नै पौरखी र परिश्रमी सीपहरूले भरिएको जिल्ला हो, यसलाई मैले अझै राम्रोसँग इलम गर्न सकिने जिल्लाको रुपमा विकास गर्छु । क्षेत्र १ मा मेरो यसैलाई केन्द्रित गर्ने प्राथमिकता हुन्छ ।’ राईले भन्नुभयो ।

