सूर्योदयका ९० छोरी–बुहारीले गरे निशुल्क स्नातक

द्वारा प्रकाशित गरिएको हो |
२०८२ चैत्र ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
०५चैत,इलामः सात बर्षअघि सूर्योदय नगरपालिकाले सुरु गरेको ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गरी स्नातक उत्तिर्ण गर्नेको संख्या ९० पुगेको छ । “हालसम्म दुई सय ६५ जना विद्यार्थीसँग सम्झौता गरिएपनि ९० जना उत्तिर्ण हुन सफल भएका हुन् ।” कार्यवहाक नगरप्रमुख दुर्गाकुमार बरालले भन्नुभयो, “यस बर्षको लागी मंगलबार २८ जना विद्यार्थीसँग सम्झौता गरिएको छ ।”

“घरको अवस्था कमजोर छ । सपना ठूलो । अब कसरी पढ्ने?” २०७४ सालमा कक्षा १२ पास गरेपछि सूर्योदय–१ बाङ्गीनकी एन्जिलाको मनमा यीनै प्रश्न घुमिरहन्थ्यो । तर, नगरपालिकाले त्यो सपना बीचमै रोकिन दिएन । नगरपालिकाको निःशुल्क छात्रवृत्तिबाट स्नातक पूरा गर्नुभएकी उहाँ हाल सूर्योदय–११ स्थित केराबारी आधारभूत विद्यालयमा अध्यापनरत हुनुहुन्छ ।

“नगरपालिकाले सुरु गरेको ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमले मलाई नयाँ बाटो देखायो ।” सूर्योदय–०९ गैरीगाउँकी सुसीला सापकोटाले भन्नुभयो, “मैले शतप्रतिशत छात्रवृत्तिमा करफोक क्याम्पसबाट स्नातक पूरा गरेँ । अहिले वडा नं ३ को कार्यालयमा काम गर्छु ।”
छात्रवृत्ति पाएर स्नातक गर्नुभएकी सोस्तिका शाह ठकुरी हाल स्नातकोत्तर गरिरहनुभएको छ । “आर्थिक अवस्था कमजोर हुँदा धेरै छोरीहरूले पढाइ छोड्नुपर्छ । यही कारणले चाँडै विवाह गर्ने अवस्था आउँछ । तर, हाम्रो नगरले त्यो बाध्यता तोड्ने काम गरेको छ ।” सोस्तिकाले भन्नुभयो ।

कार्यवहाक नगरप्रमुख बरालका अनुसार, यो कार्यक्रम केवल पढाइमा सीमित छैन । “हामीले स्नातक सकाएका छोरी–बुहारीलाई १०० दिनको रोजगारी दिने गरेका छौँ ।” उहाँले भन्नुभयो, “यसले उनीहरूको क्षमता विकाससँगै आत्मनिर्भर बन्न सहयोग गर्छ ।”

गतबर्ष नगरपालिकाले १५ जना छोरी–बुहारीलाई एक सय दिनको रोजगारी दिईएको थियो । विद्यार्थीको योग्यता र पढाइका आधारमा नगर, विद्यालय, स्वास्थ्य संस्था लगायतमा काम दिने गरिएको छ । शिक्षा अधिकृत नवीन पौडेल भन्नुहुन्छ, “नगरपालिकाले जो जहाँ सक्षम छ, त्यहीँ अवसर दिन्छ । यसबर्ष पालिकाले तथ्याङ्क संकलनमा खटाउने सम्भावना छ ।”

छोरी मात्र होइन, विवाह गरेर आएका बुहारीलाई पनि शिक्षा दिने पालिकाको सोच हो । “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सन्देश समाजमा स्थापित गर्न हामीले यो कार्यक्रम ल्याएका हौं ।” पूर्व नगरप्रमुख रणबहादुर राईले भन्नुभयो । “यो कार्यक्रम सुरु गर्दा दिगो हुन नसक्लाकी भनेर थुप्रै अभ्यास गरेका छौँ ।”

करफोक क्याम्पसका प्रमुख गोपाल कट्टेल यो कार्यक्रमले दूरदराजका छोरी–बुहारीलाई क्याम्पससम्म ल्याएको बताउनुहुन्छ । “छात्रवृत्ति र रोजगारी दुवै अवसर भएपछि विद्यार्थीहरूमा पढ्ने उत्साह झन् बढेको छ ।” उहाँले भन्नुभयो ।

हाल क्याम्पसमा बिबिए, बिबिएच, बिएड र बिए जस्ता विषयमा छात्रवृत्तिमा अध्ययन भइरहेको छ । “केही विद्यार्थी स्नात्तकोत्तर अध्ययनका लागि जिल्लाबाहिर गइसकेकाले सबैले रोजगारी कार्यक्रम लिन नसक्ने अवस्था पनि छ ।” क्याम्पस प्रमुख कट्टेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय