खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा एक उत्पादन’ कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०८३ बैशाख १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी
१७वैशाख,इलामः माईजोगमाई गाउँपालिका–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामुहिक बचत तथा कृषि समुह छ । समुहले सामुहिक रुपमा बेसार खेती गर्छ । दुई बर्षअघि एक मन(४० केजी) बेसार रोपेर गतबर्ष २५ मन बीउ उत्पादन गरिएको थियो । यस बर्ष एक सय २० मन उत्पादन हुने अन्दाज छ ।

गाउँपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत गतबर्ष दुई लाख अनुदान दियो । यसपटक हिउँदे अधिवेशनबाट ड्राएर मेसिन र पिस्ने मेसिनका लागी दुई लाख ५० हजार अनुदान थप गरेपछि किसान उत्साहित भएका छन् । समुहले आफै उद्योग खोल्ने तयारी थालेको छ । अब, काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तराष्ट्रिय बजारमा पठाईनेछ ।

“सामुहिक खेती गरेर आर्थिक उपार्जन गर्न ०८० सालमा २४ परिवारले समुह खाल्यौँ । दुईबर्षमा ३६ घर पुगियो ।” समुहका सचिव सुमन बेगाले भन्नुभयो, “रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट २ जातको एक मन बेसार प्रति केजी ७० रुपैयाँले ल्याएर रोपेका थियौँ । खन्ने बेला हुन लाग्यो । एक सय २० मन सम्म फल्छ भन्ने अन्दाज छ ।”

बेसार दश रोपनी क्षेत्रफलमा रोपिएको छ । “बेसार कटिङ मेसिन ल्याएका छौँ । मेसिनको क्षमता प्रतिघण्टा एक सय देखी ३ सय केजी छ । काँचो बेसार एक पटकमा ६० केजी सम्म सुकाउन सकिन्छ । पिस्नेले ३० केजी प्रतिघण्टा पिस्छ ।” सचिव बेगाले भन्नुभयो, “जमिन लिजमा लिईएका छौँ । उद्योग स्थापना गर्ने तयारी छ । अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी हो । स्थानीय बजार, काठमाडौँ र विदेशमा हङकङ मुख्य बजार हुन्छ ।”

समुहले यसपटक च्याउखेती पनि सुरु गरेको छ । “चार सय केजी उत्पादन भयो । २ सय रुपैयाँ प्रति केजीले बिक्री गर्यौँ । अर्को साल बढाउँछौँ ।” अध्यक्ष जय बहादुर लिम्बूले भन्नुभयो ।

गत बर्षबाट गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियान अन्तर्गत वडा नं ५ लाई बेसार खेती छनोट गरिएको थियो ।

गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेका अनुसार, स्थानीय स्तरमा उत्पादन हुन सक्ने कृषि उपजको उत्पादन वृद्धि गरी खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको हो । “व्यवसायीक उत्पादन गर्ने कृषक तथा फर्महरुलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ ।” अध्यक्ष थेबेले भन्नुभयो, “वडा नं १ मा रुख टमाटर, २ नं मा जडीबुटी, ३ नं मा कुखुरापालन, ४ र ६ नं मा खुर्सानी(अकबरे) र ५ नं मा बेसार खेतीमा अनुदान दिईएका छौँ ।”

अध्यक्ष थेबेका अनुसार, गतबर्ष ६ वटा वडाका कृषक, कृषि फर्म, समुह तथा सहकारीमा गरी ६७ जना उद्यमीलाई १५ लाख अनुदान वितरण गरिएको थियो । पहिले कार्यक्रमको सूचना आह्वान हुन्छ । प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ ।

प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ । दक्ष जनशक्तीलाई विदेश पलायन हुनबाट रोक्नपनि यो कार्यक्रम महत्वपूर्ण छ ।गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनिकरण गर्ने कार्यक्रम गरिरहेको छ ।

गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यू प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा बिस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु तीन लाखसम्म अनुदान दिएको थियो । गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले भन्नुभयो, “व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।”

पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट छ व्यवसायलाई प्रोत्साहित गर्न नगद अनुदान दिइएको थियो । वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ ।

त्यसैगरी वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो ।
यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिईने उपाध्यक्ष राईले बताउनुभयो ।

बिस्कुट उत्पादनमा रु दुई लाख अनुदान पाउनुभएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउनुहुन्छ । यो गाउँपालिकामा पशुपालन धेरै छ । प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाई छ । गाउँपालिकाले पशुमा खोरेत रोग विरुद्धको भ्याक्सिन लगाईरहेको छ । गाउँपालिकामा आलु, अदुवा, अलैँची, अकबरे, ओलन, अम्रिसो, दुग्ध उत्पादन बढी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय