मनोज अधिकारी
इलामः बिहानको ३ बज्न नपाउँदै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल उठिसक्नुहुन्छ । गोठ सफा गर्ने, गाईको गोबर सोहोर्ने, गाई नुहाउने, दूध दुहुने र कुँडो खुवाउने काम सक्दासम्म झिसमिस उज्यालो हुन्छ । घरछेउमै डेरी छ । उहाँले दिनको ३५ लिटर दूध बेच्नुहुन्छ । “दुई माउ गाई छन् । सहकारीले राम्रो मूल्य दिन्छ । गाईपालनमा अझ उत्साह बढेको छ ।” उहाँले भन्नुभयो ।
फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा ८४ परिवार आबद्ध छन् । तीमध्ये ४५ परिवारले नियमित रूपमा दूध बिक्री गरिरहेका छन् । सहकारीका सह–सचिव ढाकाबहादुर मगर पनि सफल दुग्ध किसानमध्ये पर्नुहुन्छ । केही समयअघिसम्म उहाँले दैनिक ७२ लिटर दूध बिक्री गर्नुहुन्थ्यो । एउटा गाई बिक्री गरेपछि अहिले उत्पादन घटेर ४८ लिटरमा झरेको छ । “चारमाउ उन्नत जातका गाई पालेको छ ।” मगर भन्नुहुन्छ, “कुनै पनि काम व्यवसायिक रूपमा गर्न सकियो भने राम्रो आम्दानी सम्भव छ ।”

सहकारीमा अहिले दैनिक करिब ९ सय ५० लिटर दूध संकलन हुन्छ । संकलित दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ५५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म मूल्य पाउँछन् । सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ल्याक्टो र फ्याटको आधारमा निर्धारण गरिन्छ । “घिउ र छुर्पी उत्पादन गरेर बजारमा कति मूल्य पाउन सकिन्छ, त्यसैका आधारमा किसानलाई भुक्तानी गर्छौं ।” उहाँले भन्नुभयो ।
थामडाँडा सहकारीले दूध बेचेर मात्र होइन, मूल्य अभिवृद्धि गरेर पनि आम्दानी बढाएको छ । सहकारीमा हरेक महिना करिब १२ क्विन्टल छुर्पी र ७ क्विन्टल घिउ उत्पादन हुन्छ । यी उत्पादन स्थानीय बजारदेखि धरान, विराटनगर, काठमाडौं हुँदै अमेरिकासम्म पुग्ने गरेका छन् । सहकारीकै सदस्य सुजन श्रेष्ठले उत्पादन संकलन गरी विभिन्न बजारमा बिक्री गर्दै आउनुभएको छ ।
अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्छ । तीनजना कर्मचारीको तलब र अन्य सञ्चालन खर्च कटाउँदा पनि मासिक करिब डेढ लाख रुपैयाँ बचत हुन्छ ।

थामडाँडा सहकारीले किसानलाई उत्पादन बढाउन विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । मासिक ६ सय लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान निःशुल्क दिइन्छ । ९ सय लिटर पु¥याउनेले दुई बोरा पाउँछन् । त्यसपछि प्रत्येक थप ३ सय लिटरमा एक बोरा थपिने व्यवस्था छ ।
सहकारीकी उपाध्यक्ष भोजकुमारी खनालका अनुसार, यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा गराएको छ । “उत्पादन बढाउने किसानलाई सम्मान र प्रोत्साहन दुवै मिल्छ ।” उहाँले भन्नुभयो । सह–सचिव मगरले एक समय मासिक ६ बोरासम्म ब्रान निःशुल्क पाउनुभएको थियो । त्यति मात्र होइन, पशु संख्या बढाउन चाहने किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था पनि गरिएको छ ।
सहकारीको यात्रा भने २८ परिवारका समूहबाट सुरु भएको थियो । सुरुमा २८ जना किसान मिलेर डेरी सञ्चालन गरेका थिए । पछि २०६७ सालमा सहकारी दर्ता भयो । हाल ८४ परिवार आबद्ध भएपनि सबैले पशुपालन गर्दैनन् । केही परिवार विदेशमा छन् भने केही बसाइँसराइ गरेर अन्यत्र गएका छन् । अहिले ४५ परिवार सक्रिय रूपमा दूध उत्पादन गरिरहेका छन् ।
सहकारीले एक हजार लिटर अट्ने चिस्यान ट्यांकी खरिद गरिसकेको छ । तर, हालसम्म दैनिक उत्पादन ९ सय ५० लिटर हाराहारीमै सीमित छ । “२० लिटरभन्दा बढी दूध बिक्री गर्ने किसान करिब एक दर्जन छन् ।” अध्यक्ष दङ्गाली भन्नुहुन्छ, “अब हाम्रो लक्ष्य दैनिक एक हजार लिटर उत्पादन पु¥याउने हो ।”
किसानको मेहनतलाई सरकारी सहयोगले थप बल दिएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य दुई पालिका र दायित्व संस्थासँगको त्रिपक्षीय साझेदारीमा वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना सञ्चालन गरिरहेको छ ।
यस परियोजनामार्फत सहकारीलाई व्यवसाय योजना निर्माण, उत्पादन वृद्धि, बजार पहुँच विस्तार, उद्यम व्यवस्थापन सीप विकास, तालिम, परामर्श, प्रविधि तथा लगानी पहुँचमा सहयोग प्रदान गरिएको छ ।
सहकारीले यही कार्यक्रममार्फत डिफ्रिज खरिद गरेको छ । छुर्पी सुकाउने भवन निर्माण गरेको छ । पशु सुत्न र उठ्न नसक्ने समस्याको समाधानका लागि चेन पुली जडान गरेको छ । विद्युत् अवरोध हुँदा प्रयोग गर्न जेनेरेटरसमेत खरिद गरेको छ ।
“धेरै तालिम पाइयो । सामूहिक रूपमा काम गर्ने बानी बस्यो ।” अध्यक्ष दङ्गाली भन्नुहुन्छ, “अब पाँच–छ जनाको समूह बनाएर थप व्यवसाय विस्तार गर्ने योजना छ ।”
परियोजनाअन्तर्गत हुने तालिममा सहभागी हुने किसान चन्द्र दङ्गालीले सिकेका कुरा अन्य सदस्यसँग साझा गर्नुहुन्छ । त्यसैले सहकारीका सदस्यहरू कार्यक्रमका उद्देश्य र अवसरबारे राम्रोसँग जानकार छन् ।
गाउँमा परियोजना भित्रिएपछि किसानलाई पशुपालनमा टेवा पुगेको परियोजनाकी विष्णु पौडेल(खनाल)ले बताउनुभयो । “पशुपालनलाई व्यवसायीक बनाउनुपर्छ भन्ने सोच बढेको छ । विदेश जाने सोच बनाएका कतिपय युवाले समेत गाउँमै बसेर व्यवसाय गर्ने सम्भावना देख्न थालेका छन् ।” पौडेलले भन्नुभयो,“यहाँका किसानले एक लाखदेखी डेढ लाख, दुई लाखसम्मका गाई पालेका छन् ।”
फाकफोकथुम गाउँपालिकाले कृषि र पशुपालनबाट नै आर्थिक समृद्धिको सपना देखेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभएको छ । “गाउँपालिकाभरी दिनहुँ ३१ हजार लिटर दूध उत्पादन हुन्छ । खोरेत रोग विरुद्धको भ्याक्सिन लगाई रहेका छौँ । व्यवसायीक किसानलाई प्रोत्साहन गर्छौँ ।” पालिका अध्यक्ष खनालले भन्नुभयो,“ यहाँका किसानका लागि कृषि र पशुपालन उत्पादन मात्र होइन सुन्दर भविष्य निर्माणको आशा बनेको छ । रोजगारी बनेको छ । गाउँमै सम्मानजनक जीवन जिउने आधार बनेको छ ।”

