इलामःराष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु भट्टराइले नेपाली चियामा समस्या नभई किचलो भएको बताएका छन् । उनले चियाको गुणस्तर बृद्धि र अन्तराष्ट्रिय बजार सुनिश्चत गर्न उत्पादक,उद्योगी,किसान लगायत सबै पक्ष इमान्दार हुनुपर्ने बताए ।
समस्या उजागर गर्न र समाधान सम्ममा मिडियाको भुमिका रहने जनाएका छन् । किसान समक्ष जनचेतना जगाउन नेपालका मिडियाले महत्वपूर्ण भुमिका खेलेको उनको भनाई छ ।



इलाममा सनिबार आयोजित नेपाली चियाको दिगो निर्यात अभिबृद्धि परियोजना अन्तर्गत सञ्चारकर्मी र सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् ।
बोर्ड सबै किसानका घरघरमा पुग्न नसके पनि मिडिया घरघरमा पुगेर किसानका कुरा उठाएको र जनचेतनामा सघाउ पुर्याएको उनको भनाई छ । विश्वमै नेपाली चियाको गुणस्तर एक नम्बर रहेको भन्दै उनले कुनै पनि कारण देखाएर कसैले चियाको निर्यात रोक्न नसक्ने बताएका छन् ।
नेपाली चिया निर्यातका लागि चीनसँग समेत जीटुजी सम्झौताका लागि प्रस्ताव पेश भइसकेको बताउँदै निर्देशक भट्टराईले चियाको गुणस्तर परीक्षण नेपालकै ल्याबबाट गराएर निर्यात गर्न र उक्त परिक्षणमा कुनै त्रुटि भेटिए बोर्डले नियमन गर्ने प्रतिबद्धता व्यक्त गरे । चिया क्षेत्रको समग्र विकासका लागि सरोकारवाला विच एकता जरुरी रहेको बताउँदै उनले चिया उत्पादन देखि निर्यातसम्म इमान्दारिता हुनुपर्ने तथा किसानसँग समन्वय गरी बजारिकरण गर्नुपर्नेमा जोड दिए ।
चिया बिस्तार आयोजना फिक्कल र मंगलबारेका प्रमुख इन्द्र प्रसाद अधिकारीले परियोजनाको उद्देश्य र योजना तथा कार्यक्रम बारे अवगत गराएका थिए । कार्यक्रममा चिया क्षेत्रका समस्या राख्दै समाधानमा बिषयमा सरकारले नीतिगत रुपमा नै बाहिरी देससँग पहल गर्नु पर्ने बताएका थिए ।
नेपाल पत्रकारमहासंघको आयोजना तथा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको सहयोगमा भएको कार्यक्रममा महासंघका अध्यक्ष बिप्लप भट्टराईले सञ्चारक्षेत्रले नीतिगत समस्या उठान गर्ने गरेको बताए । उनले अझै पनि धेरै सञ्चारकर्मीहरुलाई चिया क्षेत्रको समस्याका बिषयमा जानकारी नभईरहेको अवस्थामा यस कार्यक्रमले चिया क्षेत्रका किसान, उद्योगी, ब्यापारीका मुद्धाका बिषयमा जानकारी प्राप्त हुने बताए ।
उपाध्यक्ष ख्याम भुजेलले यस परियोजना अन्तर्गत जिल्लाका सञ्चार माध्यमहरुले आगामी दिनमा चिया क्षेत्रमा बिभिन्न सूचना प्रबाह गर्नु पर्ने बताए । त्यस्तै २० जना पत्रकारहरुलाई फेलोसिप प्रदान गरिने बताएका छन् । कार्यक्रमको सञ्चालन महासंघ इलामका सचिव भिम चापागाइँले गरेका थिए । कार्यक्रममा जिल्लाका ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । sutradhar

