काठमाडौंःअमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विषयले गठबन्धनमा खटपट भइरहेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसिसी र स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। भेटवार्तामा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेको उनले बताए।



प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनअघि नै एमसिसी संसदबाट अनुमोदन गराउने पक्षमा छन्। तर, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल एमसिसी संशोधनबिना अगाडि बढाउन नहुने अडानमा छन्। जसले सत्ता गठबन्धनमा खटपट बढेको छ।
एमसिसीका कारण गठबन्धनमा खटपट भइरहेको बेलामा यसअघि पनि प्रधानमन्त्री देउवाले मंगलवार प्रचण्डलाई भेट्न ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कालाई खुमलटार पठाएका थिए। बुधबार बिहान पनि गृहमन्त्री बालकृष्ण खाँण एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पठाएका थिए।

