फिक्कलः प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा नागरिकले परिणामको खोजी गर्न थालेका छन् । पटकपटक आश्वासन बाँडेर चुनाव जित्दै आएका प्रतिनिधिहरू लाई यो पटकको निर्वाचन जित्न सकस पर्ने देखिन्छ । चुनावी माहोलको यो समयमा नागरिकको घरघरमा भोट माग्न साथै कार्यकर्ता भेटघाटमा नेताहरु व्यस्त देखिएका बेला जनता भने परिणाम खोज्ने पक्षमा देखिएका हुन् ।
वर्षौँ देखि सडकको समस्या भोग्दै आएका इलामे जनताको पिडा आज पनि उस्तै छ । हरेक पटकको निर्वाचनमा सबै दलको एजेण्डा बनेपनि सडकको समस्या सँधै उस्तै भएपछि आजित बनेका जनता अब काम गर्ने उम्मेदवार छनौट गर्ने अभियानमा जुटेका छन्। जिल्लामै पहिलो पटक गाडि गुडेको भनिने गोर्खे, सडक अभावकै कारण ओझेलमा छ । हरेक पटकको निर्वाचनमा उम्मेदवारहरू सडक बनाउने सपना देखाउँदै गाउँ जान्छन् । हिलो धुलो र चिप्लो सडकलाई कालोपत्रे बनाईदिने सपना पत्याएर झन्डै ३ दसक बिताएका यहाँका बासिन्दा अब दिक्क भैसके । उनिहरु भन्छन्,“हामि जस्ले कालोपत्रे बनाउँछ अब उसैलाई भोट दिन्छौँ । यो हाम्रो अभियान हो ।”



कृषि उत्पादनका दृष्टिले उर्भर भुमि मानिने यो ठाउँका मानिस उत्पादित वस्तु बजारसम्म लगेर बिक्री गर्न असहज भएको सुनाउँछन्। गोर्खेका युवा प्रज्ज्वल भट्टराईले भने,“पटक पटक आश्वासन धेरै पाईयो तर कालोपत्रे बाटोको सपना कहिले पुरा भएन ।” उनि भन्छन्, “हामिलाई कुनै राजनितिक दल प्रति समर्थन वा विभेद होइन, मात्र कालोपत्रे बनाउने सपना अब पुरा हुनुपर्छ भन्ने माग हो।” आजको पहिलो आवश्यकता नै सडक भएको भन्दै उनि ग्रामीण भेगको विकास नै सहज सडक संरचनाबाट सम्भव हुने बताउँछन्।
मकर्जुङका अर्का युवा सन्देश खड्काले भने,“यहाँका जनताले देशको प्रधानमन्त्री जन्मायो, पटक पटकको सांसद र प्रदेशको मन्त्री सम्म पायो तर गोर्खेको सडक कसैको प्राथमिकतामा परेन ।” संघियता पछिको स्थानीय सरकार गठन भएपछि गोर्खे बजार भने कालोपत्रे गरिएको छ। नगर प्रमुख रणबहादुर राई र १ नम्बर वडाका अध्यक्ष राजकुमार शेरेङको पहलमा नै उक्त सडक कालोपत्रे गरिएको हो । विकास प्रेमि नेताको छवि बनाएका नगरप्रमुख राईले उक्त सडक आफ्नो प्राथमिकतामा नै रहेको बताउँदै आएका छन् । तर स्थानीय सरकारको पहलमा मात्र समयमै सडक व्यवस्थित हुने अवस्था भने छैन । प्रदेश र संघिय सरकारले यहाँका ग्रामीण सडकलाई महत्व दिनुपर्ने सर्वसाधारणको भनाई छ ।
गाउँ गाउँ बाट बजार पुग्ने बाटोको दुरावस्था विरक्त लाग्दो छ ।कालोपत्रेको चरणमा पुगेको फिक्कल नयाँबजारको अवस्था विकराल देखिन्छ । बजार सम्म आउन दिन बिताउनुपर्ने स्थिति रहेको सर्वसाधारण सुनाउँछन्। सूर्योदय नगरपालिका वडा नं १ गोर्खेमा करिब ४००० मतदाता छन् । सबैको मुद्दा सडक समस्या हो । युवा सविन खड्काले भने,“जस्ले ऋषिमोड गोर्खे मानेभञ्ज्याङ सडक कालोपत्रे गर्छ हामि उसैलाई मतदान गर्छौँ । हामि युवा एकजुट छौँ ।”

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गोर्खेमा सडक नभएकाले नागरिकको जिवनस्तर माथि उठ्न सकेको छैन। “न बेलामा कृषि उपज बजारसम्म पुग्न सक्छ, न बिरामी पर्दा समयमा उपचार गराउन सकिन्छ।” बाङ्गिनकी अर्पना थामि ९एन्जिला०ले भनिन, “मान्छे विरामी पर्दा अस्पताल सम्म पुग्न नसकेर ज्यान जाने जोखिम छ । अन्तराष्ट्रिय बजार जोडिने यो ठाउँमा सडकसमेत चाडै नबन्दा बाउ बाजेले वर्षौँ देखि खेपेको सास्ती आज हामिले पनि भोगिरहेका छौं। त्यसैले अब हामी परिणाम खोज्ने छौँ ।” गोर्खेबासिको जस्तै पिडा आफुहरुले पनि भोगिरहेको मेहेलबोटेका विप्लव कार्किले सुनाए । उन्का अनुसार,“रूङ्सुङ चोकबाट मेहेलबोटे हुँदै गोर्खे सम्मको सडक कालोपत्रे भए सहज हुनेथियो। तर राज्यको नेतृत्वमा पुगेकाहरुले वेवास्था गरेको पाईयो ।”
पहाडी जिल्ला इलामका अधिकांश मानिसहरू ग्रामीण भेगमा बसोबास गर्छन्। उनिहरुको प्रमुख पेशा कृषि हो, तर कृषि उपज समयमा बजार लगेर बेच्न सडक सन्जालकै समस्या छ। नेताहरु सँधै उहि सपना बाँडेर चुनाव जित्दै आएका छन्। निति नियम कानुनको चर्चा गर्ने नेतृत्वले भुई मान्छेहरूको समस्या कहिले बुझ्लान् ? के यो पटकको निर्वाचनबाट निर्वाचित प्रतिनिधिको ध्यान गोर्खे जस्ता इलामका ग्रामीण सडकहरूमा पर्ला? हेर्न बाँकी छ।



