मनोज अधिकारी
फिक्कल,१ मङ्सिर ः पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जित सुनिश्चित भएको बताउनुभएको छ । इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेद्वार खनालले बिहिबार फिक्कलमा पत्रकार संग कुरा गर्दै भन्नुभयो, “देशब्यापी रुपमा गठबन्धनका उम्मेद्वारहरुको जित पक्कापक्कि जस्तै भएको छ । अब घोषणा भएर विजय उत्सव मनाउन मात्र बाँकी हो ।”
नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच बर्ष गठबन्धनको सरकार बन्ने बताउनुभयो । “देशले स्थिरता खोजेको छ । जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन् । मुलुकको चौतर्फी विकासका लागी गठबन्धनले देशभर विजय हाँसिल गर्दैछ।” उहाँले भन्नुभयो, “नेकपा एमालेको नेतृत्व अहंकारले भरिएको छ । त्यसैकारण कम्युनिष्ट एकता भंग भयो । पार्टी विभाजन भयो । अब देश विभाजन हुनबाट रोक्न गठबन्धनले जित्नुपर्छ ।”
चुनावी दौडाहामा जनताको घरघर पुग्नुभएका खनाल एमालेबाट जनता अघाईसकेको बताउनुहुन्छ । “मैले गाउँघरका सामान्य मानिसको मनोविज्ञान अध्ययन गरेको छु । उहाँहरु एमालेको झुटा आश्वासनबाट अघाईसक्नुभएको छ ।” उहाँका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ । “हाम्रा सामु कुनै चुनौती छैनन् । जनताको अभिमत लिएर पाँच बर्ष स्थिर सरकार चलाउने दायित्व हामीसंग छ । पाँच बर्षमा मुलुकले काँचुली फेर्छ ।”
अब तपाई राष्ट्रपति की प्रधानमन्त्री ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “राष्ट्रपति,प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर गठबन्धनभित्र सहमति भने भैसकेको छैन ।” यो निर्वाचन आफुनो अन्तिम चुनावी लडाई भएको बताउँदै खनालले उमेरले ७३ बर्ष पुगेपनि देश विकासका लागि ५ बर्ष कार्यकारी प्रमुख भएर काम गर्न समेत तयार रहेको बताउनुभयो । “म संग अनुभव पनि छ,देश बनाउने भिजन छ । पाँच बर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने देशको सर्वाङ्गीण विकास गर्छु ।”




