ख्यामराज ढकाल,सुलुबुङः यतिबेला किसानहरु धान रोपाईमा ब्यस्त छन् । मानो खाएर मुरी उब्जाउने भन्दै बिहान देखी साँझ सम्म खेतको काममा किसानको दिन बित्छ । तर, सिंचाई असुविधाका कारण किसानलाई सास्ती छ । जिल्लाको सन्दकपुर गाउँपालिकाको अन्न भण्डार भनेर कहलिएको वडा नं ३ को टारी बेँसिका कृषकहरु आकासे पानीको भरमा खेती गर्न बाध्य भएको बताउँछन् । आकासबाट जब पानी पर्छ तब मात्र खेती गर्नुपर्ने समस्याका कारण बेलामा रोपाई गर्न उनिहरुलाई मुस्किल बनेको छ ।
पानीको ठुलो श्रोत धेरै टाढा रहेको र खेत सम्म ल्याउन धेरै खर्च लाग्ने भएका कारण रोपाइँ गर्न आकासे बर्षा पखिनुपरेको स्थानीय टङ्क कुमार ढकालले बताउनुभयो । सिंचाइको लागि गाउँपालिकाले चासो नदिएको किसानको गुनासो छ । “मङ्सिरमा धानका बाला लहलह भएका बेला जनप्रतिनिधि चिल्ला गाडी चडेर धान दिवस मनाउन आउनुहुन्छ तर धान रोप्ने समयमा पानी नहुँदा कृषकको दुखको बारेमा कसैले चासो देखाउदैनन् ।” ढकालले भन्नुभयो ।



तराईमा झै उत्पादन हुने यस ठाउँमा पानीको अभावमा बर्सेनि खेतहरु बाजो हुने क्रम बढीरहेका छन् । जग्गा जमिन बाजो राख्न नपाईने भन्दै सरकारले ल्याएको निति हाँस्यास्पद बनेको देखिन्छ । अझ दण्ड र जरिवाना सम्मका कुरा आउँदा कृषकको खेतमा पानी र मलको अभाव नदेख्ने सरकार गैरजिम्मेवार बनेको किसान बताउँछन् । यसबर्ष बेलादेखि नै बर्षा भएको कारण टारी बेँसिमा ८० प्रतिशात धान रोपाइँ भएको छ । आधुनिक प्राविधि ९हाते ट्याक्टर ०र परम्परागत ९गोरु ०को प्रयोग गर्दै कृषकहरु खेतमा हिलो खेल्दै रमाउदै रोपाइँमा ब्यस्त छ्न् ।

