पत्रकार महासंघ इलाममा चापागाई नेतृत्वको प्यानल विजयी

द्वारा प्रकाशित गरिएको हो |
२०८१ मंसिर २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम, नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा भीम चापागाई निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार चापागाई ३५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत सोम सुसेलीले जानकारी दिनुभयो ।

अध्यक्ष पदका प्रत्यासी राम योङहाङलाई ३ मतान्तरले पराजित गर्दै चापागाई प्यानल सहित निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा लोकेन थेबे, कोषाध्यक्षमा भगिरथ भण्डारी, दलित सदस्यमा योगेन्द्र संखर निर्विरोध निर्वाचित हुनुभएको अधिकृत सुसेलीले जानकारी दिनुभयो ।

महिला उपाध्यक्षमा सुनिता राई(खालिङ्ग) ४७ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी शृजना श्रेष्ठले २१ मत प्राप्त गर्नुभएको छ । टीका खतिवडाले सचिव पदमा ४१ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी बालकृष्ण बस्नेतललाई २१ मत प्राप्त भयो । खुल्ला सह–सचिवमा विनु खड्का ३६ मतका साथ निर्वाचित हुँदा उहाँका प्रत्यासी तीलविक्रम दर्जीले २९ मत प्राप्त गर्नुभयो । समावेसी सह–सचिवमा बलराम बराईलिले ३८ मत प्राप्त गर्दै ८ मतान्तरले ज्ञान केदिमलाई पराजित गर्नुभएको छ ।

महासंघको १६ सदस्यीय कार्यसमितिको महिला सदस्यमा सविता पाण्डे (४१), आदिवासी जनजाति सदस्यमा सुनिता मगर (३८), खुल्ला सदस्यहरुमा प्रकास नेपाल (४८), ठोमनाथ तिम्सिना (विनय) (४६), मनोज अधिकारी (४२), मनिस बस्नेत (४०), खेमराज ढकाल (३६) र रोशन काफ्ले (३८ं) मतका साथ निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सटेन्द्र जबेगूले जानकारी दिनुभयो ।

प्यानलबाट केन्द्रीय परिषद् सदस्यमा विप्लव भट्टराई, गणेश घिमिरे र सुजता सुनुवार समेत निर्विरोध हुनुभएको छ । यस्तै, प्रदेश परिषद् सदस्यमा शिव मुखिया, विमल दाहाल, दुर्गाभवानी पोख्रेल, राजीव नेउपाउने र सोम सुुनुवार समेत निर्विरोध निर्वाचित हुनुभएको छ । इलाममा पत्रकार महासंघका ७२ सदस्य मध्ये सनिवार सम्पन्न निर्वाचनमा ६९ जनाले मतदान गरेका थिए ।

अध्यक्षमा निर्वाचित चापागाईले इलामको पत्रकारिता र पत्रकारका लागि आफू जुनसुकै अवस्थामा पनि लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । ‘इलाम शाखाले सक्षम, जुझारु, अनुभवी, व्यावसायिक र पेसाप्रति निष्ठावान् नेतृत्व खोजेको थियो,’ उहाँ भन्नुहुन्छ, ‘इलामका सञ्चारमाध्यम आर्थिक रूपमा धरासयी छन् । स्थानीय मिडिया टिकाएर पत्रकारलाई व्यावसायिक र पत्रकारितामै आत्मनिर्भर बनाउनु अहिलेको मुख्य आवश्यकता हो ।’

स्थानीय मिडिया र पत्रकारलाई पत्रकारितामै टिकाइराख्न कानुनी व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ । ‘स्थानीय सरकारले स्पष्ट मिडिया नीति बनाउनुपर्छ, स्थानीय पत्रकार र मिडियालाई माया–दयाले होइन, कानुनी रूपमा स्थानीय तहको स्रोत उपभोग गर्ने अवस्था सिर्जना गर्नुपर्छ, मेरो मुख्य उद्देश्य पनि यही हो,’ उहाँ भन्नुहुन्छ्, ‘इलामका पत्रकारलाई शिर ठाडो गरी गर्वसाथ म पत्रकार हुँ भन्ने आभाष गराउन महासंघले पहल गर्नेर्छ ।’

उहाँले २०६७ देखि ०७० सालसम्म पनि इलाम शाखाको सचिवको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । त्यसपछि उहाँ दुई कार्यकाल महासंघको केन्द्रीय सभासद् हुनुभयो । प्रेस चौतारी इलाम शाखाको अध्यक्ष रहनुभएका चापागाईं २०६५ देखि ०६७ सालसम्म पनि चौतारी इलाम शाखाको सचिवमा कार्यरत हुनुहुन्थ्यो । चापागाईं १२ वर्षयता नागरिक राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ । करिब अढाई वर्ष नागरिक दैनिकको विराटनगरस्थित कार्यालयमा डेस्क इडिटर (कपी इडिटर)को समेत अनुभव भएका उहाँ पालिकापेजडटकमका सञ्चालक÷सम्पादक हुनुहुन्छ ।

उहाँले इलाम एफएममा समाचार सम्पादक, वाचक, कार्यक्रम उत्पादक र प्रस्तोता, इलाम पोस्ट दैनिकको सहसम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको छ । नयाँपत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्ष, न्युज २४ टिभीमा तीन वर्ष, नेपाल एफएम नेटवर्क, बिएफएम, इलाम आवाज साप्ताहिक, पूर्वमेची साप्ताहिक, पूर्णलोकतन्त्र साप्ताहिक, आँखा साप्ताहिक, मोफसल साप्ताहिक र क्यापिटल एफएमलगायत मिडियामा पनि उहाँले काम गरिसक्नुभएको छ ।

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर, शिक्षा संकाय र कानुन संकाय (पत्रकारिता विषय)मा स्नातक गरिसक्नुभएका पत्रकार चापागाईंले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गरिरहनुभएको छ ।

सम्मानजनक मत प्राप्त गर्दै अध्यक्ष पदमा पराजित योङहाङले आफ्नो एजेन्डा नै चापागाईको पनि एजेन्डा रहेकाले श्रमजीवि पत्रकारको पक्षमा काम गर्न आग्रह गर्दै निर्वाचित टीमलाई बधाई दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय