इलामःआज पुस १ गते अर्थात् लोकतन्त्रवादीहरुका लागि ‘कालो दिन’ । आजकै दिनदेखि पञ्चायती व्यवस्था सुरु भएकाले यसलाई लोकतन्त्रवादीहरुले कालो दिनको रुपमा मनाउने गर्दछन् ।
२०१७ सालमा आजकै दिन तत्कालीन राजा महेन्द्रले प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेताहरुलाई तत्कालीन शाही सेनाको बलमा बन्दी बनाइ पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।
दुई तिहाइ बहुमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरी एकदलीय हुकुमी शासन लादेकोले लोकतन्त्रवादीहरुले यस दिनलाई ‘कालो दिन’ भन्ने गरेका हुन् ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला तत्कालीन प्रधानमन्त्री बीपी कोइरालासहितका नेताहरुलाई त्यहीँबाट गिरफ्तार गरिएको थियो । उनीहरुलाई तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।
राजतन्त्रवादी एवं केही ‘राष्टवादी’हरुले पूर्वराजा महेन्द्रलाई राष्ट्रवादी धारका दुरदर्शी राजनीतिज्ञका रुपमा लिने गरेका छन् । तर निरंकुश पञ्चायती व्यवस्था सुरु गरेपछि उनी आलोचित पनि छन् । त्यसैले पूर्वराजा महेन्द्रको योगदान अहिले पनि नेपालको राजनीतिमा विवाद र बहसको विषय बन्ने गरेको छ ।
मुलुकमा राष्ट्रियताको जग बसाउने र नेपालभित्र बढ्दो भारतीय प्रभावलाई हटाई मुलुकको सार्वभौमिकता जोगाउन महेन्द्रले निर्णायक भूमिका खेलेको भन्दै उनको प्रशंसा गर्नेहरु अहिले पनि धेरै भेटिन्छन् । महेन्द्रले राष्ट्रियता नजोगाएको भए यतिबेला नेपाल भारतको अधीनस्थ भइसक्ने उनीहरुको तर्क छ ।
तर, महेन्द्रले अवलम्बन गरेको राष्ट्रवादलाई ‘मण्डले राष्ट्रवाद’को संज्ञा दिनेहरुको पनि कमी छैन । दार्जीलिङबाट लैंङसिह वाङ्देल लगायतका प्रतिभालाई नेपालमा बोलाएर नागरिकता प्रदान गरेकोमा एकथरि उनको प्रशंसा गर्छन् भने अर्काथरि मधेशमा आफ्नै देशका पहाडे समुदायलाई बसोबास गराएकोमा महेन्द्रको चर्को आलोचना गर्छन् ।
महेन्द्रले तराईमा पूर्वपश्चिम राजमार्ग खनाएका थिए, जसको नाम ‘महेन्द्र राजमार्ग’ राखिएको थियो । तराईमा महेन्द्रले पूर्वसैनिक एवं पहाडे समुदायका मानिसहरुको बसोबास गराएका थिए । यसो गर्दा जातीय सद्भाव बढ्ने महेन्द्रको तर्क थियो । सुस्तामा महेन्द्रका पालामा बसोबास गराइएका भूतपूर्व सैनिकका परिवारहरु अहिले पनि मधेशी समुदायसँग मिलेर बसेका छन् ।
तर, मधेशवादी नेताहरुले भने महेन्द्रको यस्तो नीतिको चर्को आलोचना गर्दै उनको यो नीतिलाई ‘आन्तरिक औपनिवेशिकता’को संज्ञा दिने गरेका छन् । मधेशमा पहाडी समुदायको घुसपैठ गराएर मधेसी समुदायलाई अल्पमतमा पारेको महेन्द्रमाथि मधेशी नेताहरुको आरोप छ ।
त्यसो त महेन्द्रले २०२० सालमा जंगबहादुरका पालाको मुलुकी ऐनलाई परिमार्जन गरी जातीय भेदभाव र छुवाछुतलाई गैरकानूनी घोषणा गरेका थिए । ०२१ सालमा भूमिसुधार योजना लागु गरे । आफैं कवि समेत रहेका उनले कला, साहित्य, शिक्षा र भौतिक विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।