मनोज अधिकारी
इलाम,०५पुसः महिलाहरुलाई व्यवसायीक बनाउन र लोकसँस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाईँदैछ । दलित समुदायले मात्र बजाउनुपर्र्छ भनिएको नौमती बजाउन ब्राह्मण, क्षेत्री समुदायका महिलाहरुले तालिम लिँदैछन् । बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रुपमा सदुपयोग गर्न थालिएको हो ।
इलामको रोङ गाउँपालिकाले पुस ४ गतेदेखि १५ जना महिलालाई नौमती बजाउने तालिम दिईरहेको छ । पुरातानवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृतिको जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो(सुवास)ले बताउनुभयो । ‘महिलाको क्षमता विकास गर्न, उनिहरुलाई व्यवसायीक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो ।’ अध्यक्ष स्याङ्बोले भन्नुभयो, ‘बाजागाजा कुनै जातीले छुने, कसैले नछुने भन्ने पुरातान सोच अब राख्नु हुँदैन । लोप हुँदै गएका सँस्कार, सँस्कृति, लोकबाजा, नौमती, सँगिनी लगायत संरक्षण गर्नु सबैको दायित्व हो ।’
सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा साउती गर्दै कुरा काट्नेहरुले अहिले प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताउनुभयो । ‘ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य पनि गरे । तर, सीप सिक्न छोडेका छैनौँ ।’ उहाँले भन्नुभयो, ‘अब त सीपलाई व्यावसायीकता दिने आत्मबल बढेको छ ।’
विभेदका कुराले समाजमा एकता नआउने भन्दै नौमतीलाई सबैको साझा लोकबाजाको रुपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराई(अर्याल) को भनाई छ । ‘हामीले तथाकथित उपल्लो र तल्लो जातमा विश्वास गर्नुहुँदैन । नौमतीलाई हाम्रो आयस्तरसँग जोड्नुपर्र्छ ।’ उहाँले भन्नुभयो, ‘नौमती बाजा बजाएर आफूलाई गर्व महसुस छ ।’
विगत समयमा नौमती छुईन्छ की भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक सँस्कृतिको रुपमा स्विकार्न थालेको रामबहादर दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी सबैको सोचमा परिवर्तन आएमा मात्र विभेदरहित समाज सम्भव छ ।’
महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा जारी तालिम पुस १३ गतेसम्म चल्नेछ । रोङ सँगिनी समुहको माग अनुसार महिलाको आयमा सुधार गर्न यो चरणमा १५ जनालाई तालिम दिईरहेको शाखा प्रमुुख राधिका तामाङ्गले बताउनुभयो । उहाँका अनुसार, तालिमको सहजिकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवि प्रसाईँले गरिरहनुभएको छ ।
नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल हुनेगरेको प्रशिक्षक आचार्यले बताउनुभयो ।