मनोज अधिकारी
इलाम,१३पुसः फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्विप्रसाद भण्डारीको ठुलो सपना नै आगनमा पानीको धारो बनाउने छ । ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानी हुँदैन । पानी जोहोमै बित्छ बिहान ।’ भण्डारीले भन्नुभयो, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँडेयो । घर आउँदा कहिले आठ बच्छ । बिहान अरु काम गर्ननै भ्याईदैन । सरकारले कहिले ठुलो आयोजना ल्याईदेला र आगनमा धारो बनाउनु जस्तो भएको छ ।’
सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । यहाँको मुख्य समस्या खानेपानी हो । गाउँमा पानीको श्रोत नहुँदा हिउँदमा हाहाकार हुनेगरेको छ । नजिकै कुवा, खोला, खोल्सा छैन । केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी बिताईरहेका छन् ।
बर्खामा आकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक बर्ष सताउँने गरेको छ । ‘बर्खामा आकासे पानीको भर हो । हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ । हामी अर्को बर्खाको पर्खाईमा छौँ ।’ स्थानीय वेदप्रसाद पाण्डेले भन्नुभयो । ‘पल्ला गाउँमा जस्तै सबैको आगनमा पानीको धारो भए हामी पनी ढुक्कले रोजगारीमा हिन्न पाउँथ्यौँ । घरमै पानीको धारो बनाउने सपना पुरा नहोला जस्तो छ ।’
गाउँको बिचमा कक्षा पाँचसम्मको सल्लेरी प्राथमिक विद्यालय छ । विद्यालयमा एउटा धारो छ । तर, पानी आउँदैन । विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन् । पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ । टिफिन समयमा १० मिनेट टाडा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन् । ‘सकेसम्म बच्चाहरुलाई पानी अभाव हुन दिएका छैनौ । तर, बोकेर सँधै साध्य नहुने रहेछ । हामीलाई पनि गारो छ । अभिभावकलाई पनि गारो छ ।’ विद्यालयका प्रधानाध्यापक तारादेव नेम्वाङ्गले भन्नुभयो । ‘हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो ।’
तीन तहका सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ । ‘संघीयतापछि आधारभूत आवश्यकता पूरा हुन्छ भन्ने सुनेका थियौँ । स्थानीय सरकार सञ्चालन भएकै आठ बर्ष भयो । हाम्रो गाउँमा खानेपानीको समस्या समाधान हुनै सकेन ।’ पत्रकार समेत रहनुभएका स्थानीय भगिरथ भण्डारीले भन्नुभयो, ‘दुई पटक तीन तहको चुनाव भयो । सबै उम्मेद्वार मत माग्न घर–घर आउनुभयो । हामीले खानेपानीको समस्या सुनायौँ । भोली नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो । तर, समस्या ज्यूँका त्यूँ देखिन्छ ।’
यो ठाउँमा खानेपानीको कुनै काम नभएको भने होईन । फाकफोकथुम–३ का वडाध्यक्ष दीपेन्द्र लिम्बुले यहाँको खानेपानी समस्या समाधानको लागी काम सुरु गरिएको बताउनुभयो । ‘सिङ्गो वडामा पानी पु¥याउने उद्देश्यका साथ गत आर्थिक वर्षमा ८२ लाखमा पाँच वटा रिजर्भ ट्याङ्की निर्माण गरेका छौँ ।’ वडाध्यक्ष लिम्बूले भन्नुभयो, ‘वडाको केन्द्र रहेको शुक्रवारे बजारमा २० लाख लिटर क्षमता भएको ट्याङ्की र अन्य ठाउँमा एक एक लाख क्षमताको ट्याङ्की निर्माण भइसकेको छ । यस वर्ष पाइप विस्तारको काम हुनेछ ।’ घर–घरमा पु¥याउने पाइपको लागि एक करोड रुपैयाँ बजेट रहेको र अब त्यो ठेक्का मार्फत अघि बढ्ने तयारी रहेको लिम्बूको भनाई छ । नसुवा गैँडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।
गाउँमा भएको एउटा कुवा बारेर ४ परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहेका छन् । तर, पर्याप्त छैन । स्थानीय सन्त लुङ्गेलीले निजी लगानीमा २० एमएमको एक क्वाईल पाईप बिछ्याएर पानी ल्याउनुभएको छ । ‘बिग्ररहन्छ । बनाउँन हरेक दिनजसो जानुपर्छ । अरुको हेरी आफ्नो केही सहज जस्तो लाग्छ ।’ लुङ्गेलीले भन्नुभयो, ‘गाउँमा आयश्रोत छैन । पाइप किन्न सबैले सक्दैनन् । कतिले मेरोबाट थापेर पनि लैजान्छन् । सबैलाई त पुग्दैन ।’ सल्लेरीमात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ । पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईबस्तुलाई खुवाउन, सरसफाई गर्न सबैथोकमा समस्या हुनेगरेको स्थानीय बताउँछन् ।
नेपालको संविधानले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ । पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकारनै जिम्मेवार बन्नुपर्ने मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले बताउनुभयो । ‘खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकार लाग्नुपर्छ । सल्लेरी गाउँ पानीको पहुँचमा पुग्ने कुरा अति स्वभाविक हो । सरकारको ध्यान जानुपर्छ ।’ विश्वर्माले भन्नुभयो ।