इलाम– इलामको रोङ गाउँपालिका–४, ओझेलीमा वन्यजन्तुले घरपालुवा जनावर खाएर क्षति गरेपछि स्थानीय आजित भएका छन् ।
गएराति १ बजेतिर स्थानीय आसबहादुर राईको गोठमै आएर जंगली जनावरले बाख्रालाई आक्रमण गरी मारेको छ ।
प्रहरीका अनुसार घरभन्दा २० मिटरमा बनाइएको गोठमा नौ बाख्रा रहेकामा जंगली जनावरले एउटा मारेको छ । स्थानीयले बाघजस्तो गर्जिने जनावर केही दिनदेखि जंगलमा रहेको आशंका गरेपछि प्रहरीले स्थानीयलाई सुरक्षित रहन सजग गराएको जनाएको छ ।
केही दिनअघि पनि यो क्षेत्रमा जंगली जनावर आएको हल्ला भएपछि स्थानीय त्रसित छन् । उनीहरूले गाउँमा बाघ आएको दाबी गरिरहेपनि डिभिजन वन कार्यालयले कुन जनावर आएको भन्ने यकिन हुन नसकेको जनाएको छ ।
रोङ ४ का वडाध्यक्ष राजकुमार लाप्चाले गाउँमा जंगली जनावरले क्षति गर्ने डरले स्थानीय त्रसित भएको जानकारी दिए । उनले स्थानीयको भनाइलाई आधार मानेर अध्ययन गरी जंगली जनावर पहिचान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।
यहाँको याङ्रेस्थित छाँगेखोला आसपासमा बाघ आएको हल्ला छ । सम्भावना निकै कम भएपनि पाटेबाघ नै आएको हल्ला फैलिँदा स्थानीयमा त्रास बढेको छ ।
साताअघि बाघ भनिएको जंगली जनावरले यहाँ बाख्रा, गाई र भैंसीसमेत मारेको थियो ।
बाघ फराकिलो जंगलमा मात्रै बस्ने, बीच–बीचमा बस्ती भएको ठाउँमा एउटा जंगलबाट अर्कोमा नजाने, उसलाई बाँच्ने आहार पनि जताततै पर्याप्त नहुने भएकाले बाघ नै आउने सम्भावना निकै कममात्र रहने वन कार्यालय बताउँछ ।
from palikapage