इलाम,१७पुसः रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ब्रान्डिङ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसानमा जाँगर बढेको छ ।
‘पोहोरसम्म घरमा खानलाई मात्र रोपिन्थ्यो । बिक्रीका लागी बजार नुहुने हुँदा खेतीमा जाँगर थिएन ।’ रोङ गाउँपालिका–४ का रघुनाथ अर्यालले भन्नुभयो, ‘अब त पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता नहुने भयो ।’ यस बर्ष अर्यालले पाटाबारीमा करेलाको एक हजार बिरुवा रोपण गर्नुभएको छ । ‘अब व्यवसायीक तरिकाले यस्को खेतीमा लाग्नु छ । सरकारले नै किनिदिने भएपछि ढुक्क हुनेभयो ।’ गाउँपालिकाका सबै वडाका अधिकांश किसान सो खेतीतर्फ आकर्षित भएका छन् ।
गाउँपालिकाले करेलालाई सुकाएर सुकुटिका रुपमा प्रशोधन गरि बिक्री सुरु गरेको हो । ‘यस बर्ष बिक्रीका लागि दुई सय किलोग्राम सुख्खा तितेकरेला तयार छ ।’ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, ‘अर्को बर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलोग्राम काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भैरहेको छ ।’
गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याएको जानकारी दिनुभयो । करेलाको अध्ययन, अनुसन्धान गर्दा अत्यन्तै सफल भएको र अर्को पटक ठुलो मात्रामा उत्पादन वृद्धि हुने अध्यक्ष स्याङ्बोले बताउनुभयो ।
रोङको तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा खान पनि सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा ५÷१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खान सकिने बताइएको छ ।
रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३, प्युरेका लल्मी लाप्चाले बताउनुभयो ।
गाउँपालिकाले यसअघि नै रोङ गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचो जस्ता कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग धान्न कठिन भैरहेको उपाध्यक्ष भूजेलको भनाई छ।