सन्दकपुर(इलाम)ः सन्दकपुर गाउँपालिका ३ टारीमा खेलकुद प्रतियोगिता साथै पर्यटन महोत्सव आयोजना गरिने भएको छ । पुस २२ बाट सुरु हुने टारी फुटबल तथा पर्यटन महोत्सवको समापन माघ १ गते गरिने आयोजक समितिका अध्यक्ष महेन्द्रहाङ्ग साउदेनले बताउनुभयो । टारी फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा १२ वटा फुटबल टीमले प्रतिष्पर्धा गर्नेछन् । खेलमा ४० वर्ष माथि उमेरका खेलाडी सहभागि हुने अध्यक्ष साउदेनले जानकारी दिनुभयो ।
त्यस्तै खुल्ला पुरुषतर्फ १६ वटा टिमको प्रतिस्पर्धा हुने आयोजक समितिका बिशाल साउदेनले बताउनुभएको छ । टारी फुटबल क्लबले सन्दकपुर गाउँपालिकामा प्रथम प्रथम पटक भेट्रान्स फुटबल प्रतियोगिता शुरु गरेको थियो । कुखुराको भाले, खसी पुरस्कार राखेर खेतको गरामा फुटबल प्रतियोगिता हुँदै आएको टारीमा ३ वर्ष अघिबाट क्लब दर्ता गरि औपचारिक रुपमा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै आएको हो ।
आर्थिक उपार्जन गर्ने योजनाका साथ खेलकुदसँगै पर्यटन महोत्सवको पनि आयोजना गरिएको आयोजकले बताएको छ ।
यहाँको आकर्षण
शान्त, सुन्दर र समथर भु–भाग रहेको टारि बेंसी हेर्दै आकर्षक छ । सन्दकपूर गाउँपालिका ३ स्थित टारि बेंसी खाध्यबाली उत्पादन हुने क्षेत्र पनि हो । जसका कारणले महोत्सवमा स्थानीय उत्पादनको अर्गानिक खानाहरु पाइन्छ ।
धान, मकै, गहुँ, कदोबाट बनेका परिकारहरु टारीमा पाइन्छ । खाध्यबालीको उत्पादन क्षेत्र टारी बेंसीको सुन्दर दृश्यले हिउँद वर्षात नै आकर्षण गर्छ । धान रोपाई गर्दा होस्, या धान हुर्कदै गर्दा टारी बेंसीको सुन्दरताले हरेकको मनमा स्वर्गीय आनन्द दिन्छ । अझ लहलह धानको बाला झुलेको बेला त टारि बेंसको बिचमा रात बिताउँ झै लाग्छ ।
आदिवासी जनजाति समुदायको बसोबास रहेको टारि बेंसिमा ती समुदायको रहनसहन र सस्कृतिको अध्ययन गर्न पाइन्छ । स्थानीयबासी अहिले गाउँका पर्यटकीयस्थलको प्रचार गरि पर्यटनको संभवानाको खोजि गरिरहेका छन् । टारी क्षेत्र पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्न यहाँका आदिवासी जनजाति समूदाय सक्रिय भएका छन् । यहाँ लिम्बु जातिको भाषा र सास्कृतिको अध्ययन गर्न सहजै सकिन्छ । र उनीहरुको मौलिक परिकार, याङ्मेन, वाचीपा, तुङ्बा लगायतका परिकारको स्वादमा रमाउन पाइने आयोजक समितिका रुपेन नेम्बाङले जानकारी दिए ।
सन्दकपूर ३ को सुलुबुङ्ग टारीमा ऐतिहासिक सास्कृतिक सम्पदा सुतुलुङ्ग ढुङ्गा आकर्षकस्थल हो । परापुर्वकालमा लेप्चाहरुको बसोबास रहेको पाइन्छ । लेप्चा समुदायमाथि थिचोमिचो भएपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतलुङ्ग ढुङ्गा नामाकरण गरिएको सन्दकपुर ३ का वडाअध्यक्ष लिलाबहादूर बुर्जाले बताए ।
आफ्नो थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको कथन छ । टारी क्षेत्रमा व्यवसायीक रुपमा १२ रै महिना खाध्यबाली र तरकारी खेती गरि आर्थिक उपार्जन गर्ने प्रशस्त संम्भावना भएकाले स्थानीयबासी पर्यटकीयस्थलको प्रचार गरि पर्यटक भित्र्याउने र पर्यटकलाई अर्गानीक खाना खुवाएर आर्थीक उपार्जन गर्ने योजना रहेका हुन् ।
महोत्सवको आकर्षस्थलमा धार्मिक, सास्कृतिक महत्वको माई नदीमा पर्यटकहरुले मकर संक्रान्तिमा नुहाउने र पुजा गर्न सक्छन् । माई नदीको मुहान क्षेत्र सन्दकपुर गाउँपालिका २ मा रहेको छ भने झापा पुगेर सोहि नदीलाई कन्काई नदि भनिन्छ । माई नदीको क्षेत्र झापाको कन्काई, इलामको माईबेनी परम्परागत रुपमै मेला लाग्ने गरेको छ । त्यसैगरि महोत्सवमा एक सय वर्ष पुरानो धनरुप पुल, कबि फलको परिकार नजिकै रहेको सन्दकपुर ५ को पर्यटकीय क्षेत्र ढापपोखरी पनि पुग्न सकिनेछ ।
त्यसैगरि टारी पर्यटन महोत्सवमा पुग्ने पर्यटकहरुकाले सन्दकपुर ३ र १ को सीमा क्षेत्रमा रहेको रामसार क्षेत्र माईपोखरी, डम्बरसिंह सुनुवार बहुसास्कृतिक संग्राहालय, सहिद सातखाल्डे, देउराली बजारको पनि भ्रमण दुई घण्टामा गर्न सकिन्छ । खेलकुद प्रतियोगितासँगै पर्यटन महोत्सवको आयोजनाले पर्यटकीय गाउँपालिका सन्दकपुरको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
त्यस्तै सन्दकपुर ३ निवासी गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले टारी खेलकुद प्रतियोगिता तथा पर्यटन महोत्सवले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि ठुलो सहयोग गर्ने बताए ।
उनले भने सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि निति तथा कार्यक्रममा समाबेस भएको पर्यटन पात्रो निर्माणको काम भइरहेको र खेलकुदसँगै पर्यटन प्रवद्र्धनको काम पनि टारी फुटबल क्लबले शुरु गरेर गाउँपालिकाको प्रथम भएकोमा बधाई पनि दिए । लोकलसन्देश