रोङमा समृद्धि ल्याउन कृषि र शिक्षालाई प्राथमिकताः उपाध्यक्ष भूजेल

द्वारा प्रकाशित गरिएको हो |
२०८१ माघ ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी
इलामः रोङ गाउँपालिका छिमेकी जिल्ला झापाको सीमानामा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, रोङको कुल जनसङ्ख्या १७,३६७ रहेको छ भने यहाँ ४,५३७ घरधुरी रहेका छन् । बहुसंख्यक कृषक रहेको रोङले किसान लक्षित थुप्रै कार्यक्रम ल्याएको छ । शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक शिक्षा र बाल वचत जस्ता कार्यक्रमले राष्ट्रियस्तरमा नै चर्चा पाईरहेको छ । गाउँपालिकाको समग्र गतिविधिका सन्दर्भमा गाउँपालिका उपाध्यक्ष विष्णुमाया भूजेलसंग गरिएको संवादको संपादित अंशः

रोङ गाउँपालिका के काममा ब्यस्त छ?
सडक निर्माण भैरहेका छन् । अन्य निर्माणका काममा पनि ठेक्का खुल्ने, लाग्ने क्रम छ । गुरु किसान बनाउने काम, अभिभावक शिक्षा, बाल बचत लगायतका थुप्रै कार्यक्रम छन् । तीनलाई प्रभावकारी बनाउन फिल्डमा गएर राय सुझाव संकलन गर्ने र अनुगमनमा व्यस्त छौँ ।

रोङले सुरु गरेका नमुना कार्यक्रमहरुको प्रभावकारिता कस्तो हुँदैछ?
रोङ गाउँपालिकामा जब गुन्द्रुक ब्राण्डिङ सुरु भयो । त्यसपछि यहाँ हरेक मानिसले साग रोप्न थालेका छन् । गाउँपालिकाले किनिदिन्छ भन्ने विश्वास भएपछि उहाँहरुले दुई–तीन रोपनीमा नै साग खेती गर्नुभएको छ । त्यसैगरि तितेकरेला ब्राण्डिङ सुरु भयो । यहाँका व्यक्तिलाई वा समुहलाई नै करेला खेतीमा आकर्षण गर्न अनुदान छ । बजार भाउ राम्रो हुँदासम्म बजारमा बिक्छ । भाउ घटेपछि गाउँपालिकाले उचित मूल्यमा किनिदिने भएपछि किसान उत्साहित हुनुहुन्छ । अलैँची पकेटमा अनुदान छ । गुरु किसान कार्यक्रममा चैँ केही योग्य किसान छुट्नुभएको छ । उहाँहरुलाई हामी जोड्न खोजिरहेका छौँ ।

पहुँचको भरमा अनुदान पाउने बेथितिले धेरैतिर वास्तविक किसान छुटेको गुनासो आउँछ । यो समस्याबाट रोङ गाउँपालिका कति चोखो छ?
यसअघि केही त्यस्ता गुनासा आए । एउटै व्यक्तिले दोहोर्याएर, तेहेर्याएरसम्म अनुदान पाएका रहेछन् । श्रीमानको नाममा छ भने श्रीमतिको नाममा, श्रीमतिको नाममा भए छोराको नाममा गरेर अनुदान एक्लौटी बनाउने समस्या धेरै ओटा पाईयो । खाँटी किसान पहिचान गर्न अहिले हामी सचेत भएका छौँ । कृषि शाखा, लेखा शाखा, जनप्रतिनिधि लगायत फिल्डमा पुगेर वस्तुस्थिति हेरेर मात्र अनुदान पक्का गर्न थालिएको छ । अब त्यस्ता समस्या आउँदैनन् ।

यहाँ शिक्षाको अवस्था कस्तो छ?
अभिभावक शिक्षा र बाल बचत कार्यक्रममा सबैको राम्रो प्रतिक्रिया छ । पैसा अभावमा उच्च शिक्षा अध्ययन गर्न नपाएका धेरै बालबालिका देखियो । बचत अभ्यासले बालबालिकालाई उच्च शिक्षामा टेवा पुर्याउने उद्धेश्य छ । रोङ गाउँपालिकामा भोलि नयाँ आउने जनप्रतिनिधिहरुले पनि यो कार्यक्रमलाई निरन्तर्ता दिन सके दिर्घकालिन परिणाम राम्रो हुन्थ्यो भनेर अभिभावक, शिक्षक लगायत समाजका अगुवा मानिसहरुले बताईरहनुभएको छ । अभिभावक शिक्षाले नयाँ सन्देश दिएको छ ।

रोङका नागरिकले आधारभूत स्वास्थ्य उपचार कसरी प्राप्त गरिरहेका छन्? अस्पताल निर्माणको काम के भयो?
वडा–५ मा अस्पताल निर्माण गर्न पहिल्यै एकजना दाताले जग्गा दिनुभएको छ । हामीले प्रकृया अगाडी बढाईरहेका छौँ । संघबाट जति बजेट आउँछ, स्थानीय तहले पनि त्यति नै निकाल्नु पर्ने भएकाले कार्यान्वयनमा अप्ठ्यारो स्थिति छ । तर, समग्रमा स्वास्थ्य क्षेत्रमा यहाँ प्रगति छ । कुनैपनि टोलमा कुनै व्यक्ति नछुटुन् भनेर पहिले एउटा वडाबाट सुरु गरिएको स्वास्थ्य शिविर अहिले टोल टोलमा भैरहेको छ । स्वास्थ्य चौकीमा एकजना बसेर बाँकी सबै टोलटोलमा पुग्नेगरि हामीले दैनिक सुचि बनाएका छौँ । अशक्तहरुलाई टोलमा भेला गराएर जाँच गर्ने औषधि वितरण गर्ने काम भईरहेको छ ।

तपाई संयोजक रहनुभएको न्यायिक समितिले कस्ता समस्या समाधान गरिरहेको छ?
हिंसा सम्बन्धी थोरै समस्या छन् । लेनदेनका धेरै छन् । सीमा विवाद , खानेपानी विवाद लगायतका समस्या लिएर उजुरी आउँछन् । भरसक वार्ताको माध्ययमबाट समस्या हल गर्न खोजिन्छ । केही चैँ अदालत सम्म पनि पुगेका छन् ।

अन्त्यमा रोङबासीलाई के भन्नुहुन्छ?
निर्माणको क्रम जारी छ । हामी आएपछि १५, १६ सय जत्ति पक्की नालि संरचना निर्माण भएको छ । ग्राबेल नाली पेटी निर्माण निरन्तर छ । पाथिभरा मन्दिर पालिका मातहतमा ऐन कानुन बनाएर ल्याएपछि दुई करोड हाराहारीमा भेटी संकलन हुनु हाम्रो गाउँपालिकाको ठुलो उपलब्धि हो । हाम्रा थुप्रै कार्यक्रम लोकप्रिय छन् । यसलाई साथमा साथ मिलाएर सफल बनाउन लागिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्छु । अध्यक्षज्यू र म उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु फरक राजनीतिक दलबाट प्रतिनिधित्व गरेका भएपनि काम गर्ने सवालमा हामी एकमत छौँ । राङमा समृद्धि ल्याउने यात्रामा हाम्रो अभियानमा सहयोगी बनिदिन सबैलाई मेरो आग्रह छ ।
व्यस्तताका बावजुद समय दिनुभयो धेरैधेरै धन्यवाद । नमस्कार ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय