इलाम– तीन दिनयता बन्द मेची राजमार्गलगायतको यातायात खुलाउन इलामबासीले दबाब दिएका छन् । वार्ता र सहमतिका माध्यमबाट बन्द तुरुन्त नखुलाए प्रतिकारमा उत्रिनेसमेत यातायात व्यवसायीको चेतावनी छ ।
आन्दोलनकारीको माग पूरा गराउन सहयोगका लागि आफूहरूले तीन दिनसम्म सवारी साधन बन्द गर्दा पनि कुनै निष्कर्ष नआएको भन्दै सवारी मजदुरले अब बन्द फिर्ता नभए आफूहरूले सवारी साधन कुदाउने चेतावनी दिएका हुन् । उनीहरूले आज ९बिहीबार० इलाममा पत्रकार भेटघाट आयोजना गरी बन्दले श्रमिक, मजदुरको बिचल्ली हुनथालेको, सर्वसाधारणले धेरै दुःख पाएको र आफ्नो रोजीरोटीका लागि सवारी चलाउनुपर्ने अवस्था आएको जनाएका छन् ।
उनीहरूले जुनसुकै आन्दोलन गर्दा सुरुमा सवारी साधन बन्द नै गर्नेगरेको भन्दै अब जोसुकैले आन्दोलन गर्दा त्यसको मोडल परिवर्तन गर्न पनि अनुरोध गरेका छन् । मजदुर संगठनका करिब २० अगुवाले यातायात खुलाउन माग गर्दै संयुक्त विज्ञप्तिसमेत जारी गरेका छन् ।
इलाम उद्योग वाणिज्य संघले पनि बन्दका नाममा आन्दोलनको विकल्प खोज्न माग गरेको छ । संघले विज्ञप्ति जारी गरी वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान खोज्न आग्रह गरेको छ । आधारभूत सेवा अवरोधले कुनैपनि समस्याको दीर्घकालीन समाधान ननिस्किने जनाउँदै संघले व्यावसायिक तथा आर्थिक स्थायित्व जोगाउन, पर्यटन प्रवद्र्धन गर्न र स्थानीयको हीत सुनिश्चित गर्न संवादको माध्यम अपनाउन आग्रह गरेको छ । संघले यथाशीघ्र यातायात सहज बनाउन अनुरोध गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका इलाम, झापा, पाँचथर र ताप्लेजुङ समितिले पनि बन्द खुलाउन माग गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी बन्दका कारण सवारी साधनको किस्ता बुझाउनसमेत समस्या आइपरेको जनाएका छन् ।
नेपाल सरकारलाई मोटो भन्सार रकम तिरेर खरिद गरेका गाडी सडकमा निकाल्नै नपाउँदा व्यवसायी र श्रमिकलाई ज्यादै मर्का परिरहेको उनीहरूको गुनासो छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा ९मुकुम्लुङ० क्षेत्रमा निर्माणाधीन केबलकार बन्न नहुने माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच माघ १२ मा झडप भएको थियो । झडपमा गोली लागी दुई आन्दोलनकारी घाइते भएका थिए ।
केबलकारले आफ्नो सांस्कृतिक धरोहर नष्ट गर्ने भएकाले बनाउन नहुने, आन्दोलनका घाइतेको निःशुल्क उपचारलगायत माग गर्दै आन्दोलनकारीले माघ १५ यता मेची राजमार्ग, तमोर करिडोर र तेह«थुमबाट ताप्लेजुङ जाने सवारीका साधन ठप्प पारेका छन् । बन्दका कारण मेची क्षेत्रको जनजीवन प्रभावित छ । frompalikapage